गायिका आस्था राउतलाई आजै छाडिदिने तयारी

astha_raut
लाेकपाटी न्यूज

काठमाडौं। गायिका आस्था राउतसँग मिलापत्र गरेर आजै छाडिदिने तयारी प्रहरीले गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मीनलमा प्रहरी जवानमाथि चेकजाँचका क्रममा दुर्व्यवहार गरेको आरोपमा आस्थाविरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर भएको थियो।

५ माघमा उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी जारी भएको थियो। भारतमा सांगीतिक कार्यक्रमका लागि गएकी आस्था पक्राउ पुर्जी जारी भएपछि सोमबार (आज) आफैँ प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी थिइन्। आस्थाविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेपछि पक्ष र विपक्षमा चर्चा जारी छ।

परिसर काठमाडौंका डीएसपी होविन्द्र वोगटीले आस्थाविरुद्ध कानूनी प्रक्रिया सुरु गरिएको बताए। उनले भने, ‘प्रहरीको अनुसन्धान पूरा भएको छ। आजै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गर्छौं।’

बिहान परिवारका सदस्यसँगै प्रहरी कार्यालयमा पुगेकी आस्थाको स्वास्थ्य परिक्षण वीर अस्पतालमा गरिएको थियो। प्रहरी स्रोतका अनुसार आस्थालाई आजै छाड्ने सम्भावना छ। प्रहरी स्रोतले भन्यो,‘हामी व्यक्तिका विरोधी होइनौं। गलत प्रवृत्तिका विरोधी हौं। अब यो विवाद बढाउन चाहँदैनौं। सम्भवतः आजै मिलापत्र गरेर टुङ्गाउँछौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्