घोराही, १३ माघ । अनेरास्ववियूका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले शैक्षिक दलालविरुद्ध भण्डाफोर अभियान सुरु गरिने बताएका छन्। अनेरास्ववियू दाङले जागरण तथा संगठन विस्तार अभियान अन्तर्गत आइतबार राप्ती इञ्जिनियरिङ कलेजमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोख्रेलले पार्टी भित्र तथा पार्टी बाहिर रहेका शैक्षिक दलालविरुद्ध संघर्ष गरिने बताए।
पोखरेलले सर्वसुलभ शिक्षाका लागि आफ्नो संगठनको आन्दोलन निरन्तर जारी रहने बताए। अनेरास्ववियू दाङका संयोजक जंग रोकाले वैज्ञानिक शिक्षा नीतिका लागि आफूहरुको आन्दोलन भएको बताए। उनले जिल्लामा संगठन सुदृढिकरण अभियानलाई तीव्र पारिने समेत बताए। संगठनका सहसंयोजक सर्जन परियारले अनेरास्ववियूमा लाग्ने विद्यार्थीहरु पढाईमा पनि तेज हुन् आवश्यक रहेको बताए।
दुइ विद्यार्थी संगठनबीच एकता भएसँगै अनेरास्ववियू दाङले जिल्लामा विद्यार्थी जागरण तथा संगठन विस्तार अभियान सुरु गरेको हो।सोही क्रममा आइतबार राप्ती इञ्जिनियरिङ कलेज घोराहीमा २५ सदस्यीय मूल इकाइ गठन गरिएको छ। गोविन्द मल्लको अध्यक्षतामा गठित समितिमा उपाध्यक्षहरु सुभम गौतम, सन्देश रिजाल र सुरज बिक, सचिव बसन्त भण्डारी, सहसचिव लोकेन्द्र डाँगी र कोषाध्यक्ष सिर्जना पुन मगर रहेका छन्।
विद्यार्थी डण्डवीर ओलीको अध्यक्षता र केन्द्रीय सदस्य सन्तोष पोख्रेलको प्रमूख आतिथ्यतामा भएको भेलामा विशिष्ट अतिथि जिल्ला संयोजक जंग रोका र सहसंयोजक सर्जन परियार, नेताहरु विराट डिसी, प्रेस संगठनका जिल्ला सदस्य पाण्डव शर्मालगायतले बोलेका थिए। बसन्त भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सन्देश रिजालले सञ्चालन गरेका थिए।