भरतपुर, १३ माघ। नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ। नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा ६ देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको हो।
नेपालस्थित ६ वटा देशका राजदूत, युरोपेली संघका प्रतिनिधि, विश्व बैंकका प्रमूखलगायत विशिष्ट व्यक्ति सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न लागेका हुन्। बाग्मती प्रदेश र भ्रमण वर्ष प्रदेशस्तरीय प्रवर्द्धन समितिले राजदूत र विशिष्ट अधिकारीलाई निकुञ्ज घुमाउन लागेका हुन्। श्रीलङ्का, मलेसिया, अष्ट्रेलिया, भारत, रुस र बेलायतका राजदूतलाई घुमाइने र पर्यटकीय गतिविधिका बारेमा अवगत गराइने प्रवर्द्धन समितिका सहसंयोजक अनिल लामाले जानकारी दिए।
लामाका अनुसार विशिष्ट पाहुनालाई निकुञ्जभित्र जङ्गल सफारीसँगै सौराहामा हात्तीको फुटबल, पोलोलगायत गतिविधि तथा रात्रिकालीन भोजसहितको सांस्कृतिक कार्यक्रममा सहभागी गराउन लागिएको हो। रत्ननगर नगरपालिकाका प्रमूख नारायण वनका अनुसार प्रदेश सरकारसँगै जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका, सौराहाका मध्यवर्ती सामुदायिक वन तथा होटल र रेष्टुराँको सहयोगमा कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रममा २१ देशका राजदूत सहभागी हुने योजना भए पनि प्राविधिक कारणले सबै देशका राजदूत उपस्थित गराउन नसकिएको प्रमूख वनले जानकारी दिए। भ्रमण वर्षमा विभिन्न देशका राजदूत र विशिष्ट पाहुनालाई भ्रमण गराउन सकेमा अन्तर्रा्ष्ट्रियस्तरमा प्रचारप्रसार हुने अपेक्षा लिइएको छ।