काठमाडौं, १३ माघ। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुबीच पार्टी कार्यालय सानेपामा झडप भएको छ। पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै सोमबार अपराह्न पुनः नेबीसंघका नेताहरुबीच झडप भएको हो।
यसअघि यही विषयलाई लिएर दिँउसो समेत झडप भएको थियो। विरोध प्रदर्शन गरिरहेको कुन्दनराज काफ्ले समूहमाथि हातपात र आक्रमण भएको उक्त समूहले दाबी गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले अवरोध सिर्जन गरेपछि दिउँसो संस्थापन समूहसँग हात हालाहाल भएको थियो।
पूर्वमहामन्त्री काफ्लेले भाषण गर्दै गर्दा संस्थापन पक्षका विद्यार्थीले गमला प्रहार गरेको काफ्ले समूहले आरोप लगाएको छ। गमलाले लागेर केही विद्यार्थी समेत घाइते भएका छन् । तर संस्थापन पक्षले भने सामान्य विवाद भएको दाबी गरेको छ।
लामो समयदेखि काफ्ले नेतृत्वको समूह पार्टी कार्यालयमा रिले अनसनमा बसेको छ। नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ। तर संस्थापन पक्ष र असन्तुष्ट पक्षले विधान विपरित बढी उमेरका नेतालाई अध्यक्ष बनाउन लागेपछि तनाव भएको हो।