डा. भीमलाल गौतम, त्रिवि
संसारमा लगभग सात हजारभन्दा बढी भाषाहरु बोलिन्छन् भन्ने कुरा युनेस्को र इथ्नोलगले जनाएका छन्। मानव सभ्यताको शुरुदेखि नै भाषा मानिसको विचार, भावना र तर्क प्रस्तुत गर्ने माध्यमको रुपमा प्रयोग हुँदै आएको छ। भाषाको यही अदितिय विशेषताले गर्दा मानिसले धर्म, साहित्य, संस्कार, दर्शन र वैज्ञानिक अन्वेषणहरुलाई सहज र प्रयोग पूर्ण बनाउन सकेको छ। कथ्य भाषाको प्रयोगको साथै लेखन प्रणालीको विकासले भाषाहरुमा लुकेका विविध विशेषताहरुलाई अध्ययन गर्ने परम्पराको विकास भएको देखिन्छ।
पाँच हजार वर्ष अघि मध्यपूर्वमा विकसित भएको भाषाको लेखन प्रणालीलाई दक्षिण एशियाको हिन्दू र वौद्द धर्मको विकाससँगै वेद, उपनिषद, पूराण तथा विविध वौद्ध ग्रन्थहरुमा पनि लेखन प्रणाली र लिपीहरुको चर्चा भएको पाइन्छ। आधुनिक समाजमा भाषालाई बुझ्ने दुई महत्वपूर्ण धारहरु सक्रिय देखिन्छन्। एउटा भाषा परिवर्तन हुनु हुँदैन, यसलाई पुरानै परम्पराबाट चल्न दिनुपर्छ र यसको प्राचीन विशेषतालाई जोगाउनु पर्छ भन्ने चिन्तन छ भने अर्को भाषा हरेक जीवित प्राणी जस्तै परिवर्तनशील छ। समय र परिस्थिति अनुरुप यो परिवर्तित र परिमार्जित हुँदै जान्छ भन्ने सोच छ।
यी दुवै धारहरु प्राचीन ग्रीक, रोमन तथा अन्य सभ्यताहरुमा पनि सक्रिय भएको ऐतिहासिक तथ्यहरु भेटिन्छन्। आधुनिक समाजमा प्रविधि र विश्व व्यापीकरणको प्रभावले भाषाहरु एक अर्कोमा समाहित हुने, हराउने र नयाँ भाषाका नयाँ रुपहरु देखिने क्रम बढ्दो छ। भाषिक सम्पर्कको कारणले भाषिक अपशरण, भाषिक लोप र भाषिक परिवर्तनहरू देखिन थालेका छन्। हिजोको युगमा मानिसहरु एउटा छुट्टै परम्परा र समुदायमा एक्लै बसेर रमाउने गर्थे। जसले गर्दा उनीहरुले बोल्ने भाषा, परम्परा र संस्कृतिको स्थायित्त र प्रयोग कम परिवर्तन र सम्पर्क नभए पनि हुन्थ्यो।
आजभोलि संसार एउटै परिवार जस्तो भएको छ। जसले गर्दा मान्छे बहुभाषी हुन पुगेको छ। आफ्ना चाहना र आवश्यकताले गर्दा मान्छे आफ्नो मातृभाषा बाहेक सम्पर्क भाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषाहरु बोल्ने र सोही अनुसार आफूलाई परिवर्तन गर्न थालेको देखिन्छ। यो प्रक्रिया निरन्तर बढ्दो छ जसले गर्दा भाषाहरुमा आउने परिर्वतन र यसको प्रयोगका क्षेत्रहरु पनि देश, काल र परिस्थिति अनुसार फरक फरक हुने गरेका छन्। भर्खरै नेपालमा ८५ वर्षे ज्ञानी मैयाँ कुसुण्डाको मृत्यु भयो र यो खबर प्राय सबै मिडिया र पत्र पत्रिकाहरुले लेखे। आज भन्दा लगभग ५० वर्ष पहिले राइनर्हाट, चुडामणि बन्धु लगायतले जंगलमै भेटेर अध्ययन गरेको यो भाषा नेपालका अन्य १२२ भन्दा बढी भाषाहरु मध्ये पृथक छ।
नेपालमा बोलिने भाषाहरु खास गरी भारोपेली, भोट–बर्मेली, अष्ट्रो एसियाटिक र मूण्डा परिवार अन्तर्गत भएपनि कुसुण्डा कुनै पारिवारिक विशेषताभित्र छैन। छिमेकी राष्ट्र भारतमा बुरुशास्की र निहाली जस्ता भाषाहरु परिवार विहिन भाषाको रुपमा बोलिन्छन्। कुसुण्डा भाषलाई नेपाली मिडिया मात्र नभएर अन्तराष्ट्रिय मिडियाहरु जस्तै बिबिसीले पनि निकै महत्व दिएको देखिन्छ। केही समय पहिले कान्तिपुरले नेपालको एकमात्र जीवित कुसुण्डा राजामामा भनेर निरन्तर समाचार प्रकाशित गरेपछि नेपाल सरकारले राजामामालाई तनहुँमा घरवास र विहेको पनि व्यवस्था गर्यो। अहिले राजामामा बितिसकेका छन् र ज्ञानी मैयाँको नयाँ संस्करण देखिएको छ।
एउटा भाषिक समुदाय लोप हुनु भनेको निश्चय नै संवेदनशील कुरो हो। तर हामीले बेला बेलामा बनाउने यस्ता समाचारहरुले सम्बन्धित निकाय, सरकार र सरोकारवालाहरुलाई कति आकर्षित गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। सन् २००६ मा त्रिभुवन विश्वविद्यालयको भाषा विज्ञान केन्द्रीय विभागले ३ जना जीवित कुसुण्डाहरुलाई काठ्माडौंमा ल्याएर कोठा, खाना र सबै कुराको बन्दोवस्त मिलाएर यो भाषाको तथ्याङ्क संकलन गर्यो। स्वर्गीय प्राध्यापक डेभिड वाटर (अमेरिका) प्राध्यापक माधव पोखरेल र प्राध्यापक योगेन्द्र यादव (तत्कालीन विभागीय प्रमूख) को विशेष पहलमा कुसुण्डा भाषाको एउटा व्याकरण तयार गरियो। ‘अ नोट्स अन कुसुण्डा’ नामको त्यो व्याकरण आजसम्म गरिएका कुसुण्डाका बारेमा भएका अनुसन्धानहरु मध्ये सबैभन्दा व्यवस्थित र विश्वासिलो सामग्री हो। कुुसुण्डाहरुलाई दाङबाट लिएर आएपछि एक हप्ताभित्र दिएको पैसा सबै रक्सीमा सिध्याएर भागेको अनि फेरि फकाएर काठमाडौं ल्याएको रमाइलो अनुभव तत्कालीन अवस्थामा भाषा विज्ञान केन्द्रीय विभागमा अध्यापन गर्ने हामी सबैलाई थाहा छ।
अहिले परिस्थिति फेरिएको छ। नयाँ संविधान आयो, भाषा आयोग बन्यो। पुराना काम र कुराहरु बिर्सिए। नबिर्सिए पनि तिनको लेखा जोखा हुन छोड्यो। पछि कुसुण्डा भाषाको बारेमा धेरै अध्ययनहरु भए। भोजराज गौतम र मार्क डोनोह (अष्ट्रेलिया) ले यसमा धेरै काम गरे। पाटनका उप–प्राध्यापक तथा मेरा मित्र डा. गोकर्ण ज्ञवालीले कुसुण्डामै विद्यावारिधि गरे। उनका अनुसार अझै पनि धेरै कुसुण्डाहरु नेपालको मध्य पश्चिमी क्षेत्रमा र केही भारतमा जिविकोपार्जन गर्ने काममा छन्। कुसुण्डाको बारेमा भएका अध्ययन अनुसन्धानहरुलाई मूल्याङ्कन नगरी लहडको भरमा फेरि कुसुण्डा भाषा कक्षा सञ्चालन गरेको खबर बेलाबेलामा भाषा आयोगले दिने गर्छ। तर भाषा कसरी जोगिन्छ भन्ने बारेमा उसलाई सोच्ने फुर्सद छैन।
कुसुण्डा त एउटा उदाहरण हो। नेपालका धेरै आदिवासी जनजातिले बोल्ने भाषाहरुमा वास्तविक अध्ययन अनुसन्धान नै हुन नपाइ तथ्याङ्क (मिथ्याङ्क) को भरमा र अन्यावश्यक मिडियावाजीले गर्दा भाषाहरु दिनदिनै लोप भइरहेका छन्। अर्को उदाहरणको रुपमा लम्जुङको दुरा भाषालाई लिन सकिन्छ। यो भाषा धेरै पहिले लोप भइसकेको हो। तर पनि मुक्तिनाथ अधिकारी (जो आफैँ दुरा होइनन्) लाई लिएर दुरा भाषा जीवित बनाउने प्रयासमा भाषा आयोग र स्वयम् दुरा समाज अगाडि बढेका छन्। यो प्रयास सफल होस् मेरो शुभकामना।
अहिले नेपालमा मात्र नभएर संसारभर सीमित वक्ताहरु जीवित भएको तथ्य देखाएर भाषा संरक्षण गर्ने अभियान चलेको देखिन्छ। यो कति व्यवहारिक छ त्यस बारेमा हामी सबैले ध्यान दिनु जरुरी छ। मेरो मुख्य आशय भनेको भाषाहरुको वास्तविक भाषिक सर्वेक्षण, तथ्याङ्क र उपलब्ध श्रोतहरुको अध्ययनविना लहडको भरमा भाषा संरक्षण गर्ने नारा दिएर हामी कतै उक्त भाषिक समुदायको अवमूल्यन त गरेका छैनौं ? खासगरी भाषाविद् र सम्बन्धित सरोकारवाला व्यक्तिहरुले ध्यान दिएर सोच्नुपर्ने बेला आएको छ।
ज्ञानी मैयाँ कुसुण्डाको यो अवसानले नेपालमा कुसुण्डा जस्तै लोपोन्मूख भाषाहरुको बारेमा ध्यान दिन सकिएन भने हामीले हरेक वर्ष मातृभाषा दिवस मनाउंछौं,सभा-सम्मेलन र गोष्ठीहरु पनि गर्छौ। तर यी भाषाहरु किन लोप हुँदैछन् र कसरी जोगाउने भन्ने वास्तविक तथ्यलाई वास्तविक रुपमा कार्यान्वयन गर्न सक्दैनौ। मिडियाहरुले पनि तथ्य र प्रमाणको आधारमा भाषा र भाषिक समुदायको समाचारहरु प्रकाशित गरुन्। आशा गरौं नेपाली मिडियामा ज्ञानी मैयाँ जस्तै अन्य भाषा भाषीहरुका कथाहरु पढ्न पाइयोस् र सरकार तथा सम्बन्धित निकायले पनि आवश्यक कदम चालोस्।