नेविसंघको दुई गुटबीच किन भयो झडप ?

Nebisang jhadap
लाेकपाटी न्यूज

काठमाडौं, १३ माघ। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुबीच पार्टी कार्यालय सानेपामा झडप भएको छ।  नेविसंघमा ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने माग गर्दै ४१ दिनयता रिले अनसनरत समूहलाई सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ताले आक्रमण गरेका हुन्।

पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै सोमबार अपराह्न पुनः नेबीसंघका नेताहरुबीच झडप भएको थियो। काँग्रेस केन्द्रीय समितिको बैठकका लागि सभापति शेरबहादुर देउवा पार्टी कार्यालय प्रवेश गर्नै लाग्दा अनसनरत समूहका कार्यकर्ताले देउवालाई घेर्न लागेपछि देउवा समर्थक कार्यकर्ताले प्रतिवाद गरेका थिए। सो क्रममा दुई पक्षबीच झडप हुँदा नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्ले घाइते भएका छन्।

पूर्वमहामन्त्री काफ्लेले भाषण गर्दै गर्दा संस्थापन पक्षका विद्यार्थीले गमला प्रहार गरेको काफ्ले समूहले जनाएको छ। अनसनरत समूहलाई समर्थन गर्दै आएका काफ्लेको मुखमा चोट लागेको छ।  लामो समयदेखि काफ्ले नेतृत्वको समूह पार्टी कार्यालयमा रिले अनसनमा बसेको छ। नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ। तर संस्थापन पक्ष र असन्तुष्ट पक्षले विधान विपरित बढी उमेरका नेतालाई अध्यक्ष बनाउन लागेपछि तनाव भएको हो।