गुल्मी जिल्ला प्रदेश नं.–५ को शैक्षिक एवं पर्यटकीय दृष्टिले अग्रणी जिल्ला हो। प्राकृतिक सौन्दर्य र संस्कृतिले धनी मानिने गुल्मी जिल्ला शैक्षिक र सामाजिक दृष्टिले समेत त्यत्तिकै अग्रणी छ। यस जिल्लाको सदरमुकाम तम्घास रहेको छ।
(१) जिल्लाको भूगोल र इतिहास
संस्कृत भाषामा सैनिक वा पल्टन भएको ठाउँलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छिवकाल र मध्यकालमा सैनिक छाउनी रहने भएकोले यसलाई गुल्मी भनी नामाकरण गरिएको हो भन्ने भनाइ रहेको छ। लिच्छवि कालमा यो ठाउँ गढी गुल्म गण्डकी नदीको छेउको छाउनी भनिन्थ्यो। यहाँ गुल्मी चारपाला भन्ने ठाउँ पनि छ। जसलाई गुल्मीकोट पनि भनिन्थ्यो। यसैका आधारमा यस जिल्लाको नाम गुल्मी रहेको भन्ने भनाइ पनि पाइन्छ। गुल्मी जिल्ला ११४९ वर्ग किलोमिटरमा फैलिएको छ।
प्राचीन कालदेखि नै प्रसिद्ध नेपालको चार धाममध्ये एकधाम रुरु क्षेत्र, पौराणिक, ऐतिहासिक गाथा बोकी जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र, यसैगरि धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगिश्वर मन्दिर, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरू गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईश्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह, थाप्ले, कङ्के देउराली, सत्यवती, शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा, अचमेश्वर गुफा आदि ऐतिहासिक, धार्मिक एवं प्राकृतिक सम्पदा गुल्मी जिल्लामा रहेका छन्।
यी स्थानहरू धार्मिक महत्वले मात्र नभई जैविक विविधता, पर्यटकीय स्थल, जलश्रोतको मुहान, तीर्थस्थलको रूपमा परिचित छन्। सदरमुकामको शिरमा रहेको रेसुङ्गा क्षेत्र पौराणिक कालका ऋषि ऋष्य श्रिङ्गा तपोभूमि हो। यस क्षेत्रमा हालैको एक संस्थाको अध्ययनबाट लोपोन्मुख २ जातिको गिद्ध पाइएको छ। यस जैविक विविधताले सम्पन्न रेसुङ्गा पहाडमा प्रकृतिमा आधारित पर्यटन अन्तर्गत साहसिक पर्यटनको विकास गर्न सकिन्छ। बिभिन्न जात जातिहरूको समिश्रण रहेको यस जिल्लामा जनजातिहरूको आफ्नै कला, संस्कृति, भेषभुषा रहेका छन्।
गुल्मी जिल्ला स्याङ्जा, पर्वत, प्यूठान, वाग्लुङ, पाल्पा र अर्घाखाँचीको बीचमा अवस्थित छ। धार्मिक एवं ऐतिहासिक दृष्टिले समेत यो जिल्ला निकै प्रसिद्ध जिल्ला हो। रुरु क्षेत्र पूर्वीय सभ्यताको एउटा महत्वपूर्ण केन्द्र हो, त्यसैगरि पर्यटकीय दृष्टिले समेत गुल्मी जिल्ला अनुपम मानिन्छ। व्यवसायिक दृष्टिले गुल्मी कफी खेतीको जिल्लाका रुपमा परिचित छ।
राजनीतिक विभाजनको आधारमा गुल्मीलाई संघीय संसदको २ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ। त्यसैगरी प्रदेशका ४ निर्वाचन क्षेत्र रहेका छन्। गुल्मी जिल्लामा १२ स्थानीय तह रहेका छन्। ती हुन्, रेसुङ्गा नगरपालिका, मुसीकोट नगरपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, ईश्मा गाउँपालिका, गुल्मी दरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका, कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका, रुरु गाउँपालिका।
(२) भूगोल र हावापानी
भौगोलिक विभाजनका दृष्टिले गुल्मी जिल्लालाई ३ भागमा बाँड्न सकिन्छ। मूख्यत पहाडी जिल्लाका रुपमा परिचित गुल्मीमा नदी किनारामा ठूला फाँटहरु रहेका छन्। त्यसैगरी उच्च पहाडी क्षेत्रमा ठूलठूला घाँसेमैदानहरु रहेका छन्, जुन मैदानहरु पशुपालनका दृष्टिले अत्यन्त उपयोगी मानिन्छन्। ती तीन क्षेत्र हुन्।
(क) उच्च भूमि – ७००० फिटदेखि ९००० फिटसम्मको उचाइ भएको पूर्व पश्चिम भई फैलिएको महाभारत श्रृंखला यस क्षेत्रमा पर्दछ। रेसुङ्गा लेक, थाप्लेको लेक, धार दिने गुफा यस क्षेत्रका प्रसिद्ध ठाउँरू हुन्। यस क्षेत्रमा मूख्यत पशुपालन र निर्वाहमूखी कृषि नै स्थानीय जनताको मूख्य पेशा हो।
(ख) मध्य पहाडी भूमि – ३००० फिटदेखि ७००० फिटसम्म उचाइ भएको भूभाग यस क्षेत्रमा पर्दछ। तम्घास, इस्मा, धुर्कोट, चारपाला, बलेटक्सार पुर्कोट दह यस क्षेत्रका प्रमुख स्थानहरू हुन्। पर्यटकीय दृष्टिले मध्य पहाडी भूमि निकै आकर्षक मानिन्छ। यस क्षेत्रमा पनि निर्वाहमूखी खेती प्रणाली विद्यमान छ।
(ग) होचो समथर भू–भाग – १५२५ फिटदेखि ३००० फिटसम्म उचाइ भएको भूभाग यस क्षेत्रमा पर्दछ। चौरासी, मजुवा, जुहाङ, वामिटक्सार, पूर्तिघाट यस क्षेत्रका प्रमुख स्थानहरू हुन्। यी क्षेत्रहरु जिल्लाका व्यापारिक केन्द्रहरु पनि हुन्। साथै समथर भूभाग हुनुका कारण यस क्षेत्र उब्जनीयुक्त क्षेत्रमा मानिन्छ।
गुल्मी जिल्ला पनि नेपालको पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढिरहेको छ। यहाँ प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरू जस्तै रिडी, रेसुङ्गा, अर्जुन, दिब्रुङ, रुद्रवेणी, श्रृङ्गा, पूर्तिघाट, धुर्कोट विचित्र गुफा, दरवार देवीस्थान, ईश्मा रजस्थल, धुर्कोट रजस्थल, मुसीकोट छन्। यहाँ प्रसिद्ध नदीहरू कालीगण्डकी, रिडी लगायत बडीघाट, छल्दी, पनाह, निस्ती खोलाहरू पनि रहेका छन्।
धरातलीय स्वरुपमा विविधता भएको पहाडी जिल्ला गुल्मीमा विशेष गरेर तीन किसिमका हावापानी पाइन्छ। (क) उष्ण मनसुन जलवायु – १५२५ फिटदेखि ३००० फिटसम्मको उचाइ भएको क्षेत्रमा यस किसिमको हावापानी पाइन्छ। यस किसिमको हावापानी हुने क्षेत्रमा गर्मीमा अत्याधिक गर्मी (३५ं से.सम्म) हुन्छ। (ख) अर्धोष्ण मौसमी जलवायु – ३००० फिटदेखि ७००० फिटसम्मको उचाइ भएको क्षेत्रमा यस किसिमको हावापानी पाइन्छ। यस क्षेत्रमा जाडो याममा जाडो हुने र गर्मी याममा गर्मी हुने हुँदा अत्याधिक जाडो वा गर्मी भने हुँदैन। (ग) शीतोष्ण मौसमी जलवायु – ७००० फिटभन्दा माथिका अग्ला पहाडहरुमा यस किसिमको हावापानी पाइन्छ। यस क्षेत्रमा हिउँदमा हिउँसमेत पर्ने हुँदा अत्यधिक चिसो हुन्छ।
गुल्मीमा अग्ला, होचा, बेंसी, खोँच र फाँटहरु रहेका छन्। खेती गरिएको जमिनमध्ये १७ प्रतिशत जमिनको भिरालोपन ३० प्रतिशत भन्दा बढी रहेको छ। यस हिसाबबाट यो जिल्ला नेपालकै सबैभन्दा बढी भिरालो जग्गामा खेती गर्ने जिल्ला देखिन्छ।
(३) पूर्वाधार विकासको अवस्था
गुल्मी जिल्लामा रिडीदेखि तम्घाससम्मको ४२ किमि सडक कालोपत्रे भइसकेको छ। जिल्लाको मेरुदण्डका रूपमा रहेका तम्घास–चौरासी–पुर्कोटदह मोटरबाटो र रिडी–रुद्रवेणी–वामी मोटरवाटो कालोपत्रे गर्नको लागि निर्माण कार्य भएको छ। जिल्लाका सबै वडाहरुमा कच्ची मोटरबाटो पुगेको छ। पूर्वाधार विकासका दृष्टिले गुल्मी विकासको रफ्तारमै रहेको जिल्ला मानिन्छ।
गुल्मीको साक्षरता दर ७५ प्रतिशत छ, जसमा पुरुष ८३ प्रतिशत र महिला ६८ प्रतिशत रहेको छ। जिल्लामा ४५७ वाल शिक्षा, ६१४ प्रावि (संस्थागत समेत), १९७ निमावि, १३३ मावि, ५१ उच्च मावि, १० क्याम्पस, १ प्राविधिक शिक्षालय, ५ अनौपचारिक विद्यालय, १८ सामुदायिक अध्ययन केन्द्र, १ मदरसा र निजी विद्यालय ६४ रहेका छन्। निजामती प्रशासन र शैक्षिक दृष्टिले गुल्मी देशकै अग्रणी जिल्लाभित्र पर्दछ।
नेपालमा पहिलोपटक कफी खेतीको शुरुवात गर्ने गौरवमय इतिहास बोकेको गुल्मी जिल्ला विदेशमा सबैभन्दा बढी अर्गानिक कफी निर्यात गर्ने जिल्ला पनि हो। जापान र कोरियामा गुल्मीको कफी निर्यात हुने गर्दछ। जिल्लाका विभिन्न भागमा तरकारी खेती, अदुवा खेती, सुन्तला खेती, उखु खेती, च्याउ खेतीका लागि उपयुक्त जलवायु रहेको छ। बलेटक्सार सिन्दुरेको भण्डारी डाँडामा नेपालमै पहिलो कफी अनुसन्धान केन्द्रको स्थापना भएको छ।
गुल्मी जैविक विविधताले भरिपूर्ण पहाडी क्षेत्र भएकाले मौरीपालन व्यवसायको विस्तार गर्न सम्भव रहेको छ। नेपालको दोस्रो ठूलो व्यापारिक केन्द्र बुटवलबाट ११५ किमि मात्र टाढा रहेको गुल्मी जिल्लामा उत्पादित वस्तुहरू निर्यात गर्न कुनै समस्या छैन। हाल यस जिल्लाबाट बाहिर विक्री वितरण भएका प्रमुख कृषि उत्पादनमा कफि, टमाटर, खुर्सानी, अदुवा, उखु खुदो, मकै विउ आदि छन् र पशुपालन अन्तर्गत उत्पादित दुध पोखरा निकासी हुँदै आएको छ।
गुल्मीका प्रमुख नदीनालाहरुमा, कालीगण्डकी, बडीगार्ड, निस्ती, छल्दीपनाहा, हुग्दीखोला, अल्छी खोला, नादी खोला, उल्ली खोला, सहदे खोला, भार्से खोला, दहरे खोला, टौदी खोला, चेघा खोला, लुम्दी खोला, राव खोला, जलुकी खोला लगायत रहेका छन्।
(स्रोत : जिल्ला समन्वय समिति गुल्मी र विकिपीडिया।)