काठमाडौं, १४ माघ। मिस युरोप नेपाल २०२० को उपाधि फिनल्यान्डकी निरुषा खत्रीले जितेकी छन्। युरोपका विभिन्न देशमा रहेका १२ जना नेपाली प्रतिस्पर्धीलाई जितेर खत्रीले मिस युरोप नेपाल २०२० उपाधि हात पारेकी हुन्। मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले खत्रीलाई मिस युरोप नेपालको ताज पर्हियाएकी थिइन्।
बेल्जियमको लुभेन शहरमा मिस युरोप नेपाल २०२० प्रतियोगिता आयोजना गरिएको थियो। मिस युरोप नेपालकी उपाधि विजेता खत्रीले नेपालमा आयोजना हुने मिस नेपालको फाइनल राउण्डमा सोझै प्रवेश पाउने आयोजक ड्रिम्स नेपालले जनाएको छ। ड्रिम्स नेपालकी संस्थापक योगिता थापा र हिडेन ट्रेजररका अध्यक्ष दिवाकर राजकर्णिकारबीच मिस युरोप नेपालकी उपाधि विजेतालाई सिधै मिस नेपालको फाइनलमा प्रवेश गराउने सहमति भएको छ।
‘फस्ट रनर अप’ उपाधि आयरल्याण्डकी संगिता थापा र ‘सेकेण्ड रनर अपको उपाधि बेल्जियमकी ज्योति भट्टले हात पारिन्। पहिलो पटक आयोजना गरिएको मिस युरोप नेपाल भव्य रुपमा सम्पन्न हुँदा अत्यन्त खुसी लागेको ड्रिम्स नेपाल बेल्जियमकी अध्यक्ष योगिता थापाले बताइन्।
गैरआवासीय नेपाली संघको महिला विभागसँगको सहकार्यमा युरोपका विभिन्न देशमा अडिसन आयोजना गरी सहभागी छानिएको थियो, जसअनुसार फिनल्याण्डबाट निरुशा खत्री, फ्रान्सबाट अस्मिता ढकाल, श्रेया भण्डारी र सुस्मिता न्यौपाने, नर्वेबाट श्रद्धा थापा, अस्ट्रियाबाट स्नेहा मल्ल, सुशीला बोहरा, जर्मनीबाट समा पराजुली र आश्मा घिमिरे, बेल्जियमबाट ज्योति भट्ट, लुना श्रेष्ठ, सविना नेपाली, स्वीजरल्याण्डबाट रोजमेरी भाटिया र आयरल्याण्डबाट संगीता थापा छानिएका थिए।
फाइनल प्रतिस्पर्धाको निर्णायकमा मिस नेपाल २००५ सुगारिका केसी, गायिका नलिना चित्रकार र अफिसियल ड्रेस डिजाइनर युवी थापा रहेका थिए। हिडेन ट्रेजररका अध्यक्ष दिवाकर राजकर्णिकार अतिथिका रूपमा सहभागी भएका थिए। युरोपमा बस्दै आएका नेपाली चेलीहरूको प्रतिभा उजागर गरी उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सक्षम बनाउन मिस युरोप नेपाल आयोजना गरिएको ड्रिम्स नेपालकी अध्यक्ष योगिता थापाले जानकारी दिइन्।