काठमाडौं, १४ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक भोली (बुधबार) बाट काठमाडौंमा बस्ने भएको छ। नेकपाको विधानमा केन्द्रीय कमिटीको बैठक ६/६ महिनामा बस्ने व्यवस्था गरिएको छ।
तर, बैठक भने नयाँ पार्टी निर्माण भए यता पहिलो पटक बस्न लागेको हो। लगभग २१ महिनापछि बस्न लागेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक प्रतिवेदन पासदेखि विधान संशोधनसम्म गर्नेछ। भोलिबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा २ जना अध्यक्षले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। भने महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्।
तत्कालीन एमाले र माओवादीबीच ३ जेठ २०७५ मा एकता भएको थियो। त्यसयता नेकपाको केन्द्रीय कमिटीको बैठक बसेको छैन। केन्द्रीय कमिटीको यो बैठक नेकपा बनेपछिको गणनामा दोस्रो भए पनि बहस र छलफलको हिसाबले भने पहिलो हो ।