काठमाडौं। समाजवादी पार्टीका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनप्रतिनिधि सभामूखको मयार्दाक्रम तल पारिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले जन प्रतिनिधिको सभाको नेतृत्वलाई मर्यादा क्रममा प्रधानमन्त्री भन्दा माथि राख्नु पर्ने मत राखेका हुन्।
‘लोकतन्त्रमा जनप्रतिनिधि सभा सबैभन्दा शक्तिशाली र महत्वपूर्ण अंग हो’ भट्टराईले भने, ‘मेरो निजी विचारमा राज्यको प्रमुख राष्ट्रिपति, उपराष्ट्रपतिको त मर्यादामा माथि हुनै पर्यो त्यसपछिको मर्यादामा आउनु पर्ने जनप्रतिनिधि सभाको सभामुख हो।’ सबै नीतिको उदगम थलो प्रतिनिभिसभा भन्दा कार्यकारिणीलाई माथि राख्नु उचित नहुने मत भट्टराईले बताए।
‘अरुको सिको गरेर होला हामीले कार्यकारिणीलाई माथि राख्यौं कार्यकारिणी व्यवस्थापिकाबाट जन्मने भएपछि जन्माउने आमा ठूलो कि छोरा ठूलो’ भट्टराईले प्रश्न गरे। व्यवस्थापिकाले बनाउने कानूनको व्याख्या गर्ने न्यायपालिका प्रमूखलाई व्यवस्थापिका प्रमुखभन्दा माथि राखी लोकतन्त्रको गरिमालाई अवमूल्यन गरिएको उनले बताए।
उनले नव निर्वाचित सभामूख अग्नि सापकोटालाई आफ्नो कार्यकालमा यसबारे विचार गर्न आग्रह गरे। अहिले मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश पछि प्रतिनिधि सभाका सभामूख ५औं मा रहने व्यवस्था छ।