वीरगञ्ज, १४ माघ। वडा अध्यक्ष राम अयोध्या मण्डलको निधन भएको छ। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राम अयोध्या मण्डलको सोमबार साँझ बरेवा घुसुकपुर टोलस्थित आफ्नै निवासमा निधन भएको हो।
तत्कालिन नेकपा एमालेबाट उनी वडा अध्यक्षमा निर्वा्चित भएका थिए। उनी लामो समयदेखि लिभर क्यान्सर रोगबाट ग्रसित थिए। नगरपालिकाले उनको उपचारका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोगसमेत गरेको थियो। उनको १ छोरा र ५ जना छोरी छन्।
यसैबीच वडा अध्यक्ष मण्डलको निधनको शोकमा कलैया उपमहानगरपालिकामा भोलि बुधबार बिदा दिने निर्णय भएको छ। वडा अध्यक्षको निधनपछि आकस्मिक रुपमा बसेको बैठकले किरिया खर्च समेत नगरपालिकाले नै उपलब्ध गराउने निर्णय गरेको वडा नं १० का अध्यक्ष डा अख्तर आलम अन्सारीले जानकारी दिए ।