किन घटे नेपालमा चिनियाँ पर्यटक ?

लाेकपाटी न्यूज

कास्की, १५ माघ। पोखरामा पर्यटकको आवागमन घट्न थालेको छ। चीनबाट फैलिएको कोरोना भाइरसको आतंक बढेसँगै पोखरामा पर्यटकको आवागमन घट्न थालेको हो। चिनियाँसहित विभिन्न देशका पर्यटकले धमाधम भ्रमण रद्द गर्न थालेपछि व्यवसायी निराश भएका छन्।

चिनियाँ पर्यटकले भरिभराउजस्तै देखिने पोखराको पर्यटकीय क्षेत्र लेकसाइड अहिले सुनसानजस्तै देखिन्छ। नेपालमा बढी पर्यटक आउने मुलुकको दोस्रो स्थानमा रहेको चीनमा कोरोना भाइरसको महामारी फैलिएसँगै पर्यटकको चहलपहल घट्न थालेको हो। चिनियाँ पर्यटकको विशेष चहलपहल हुने प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जी जम्प, जीप फ्लायरलगायतका क्षेत्र बढी सुनसान देखिएका छन्।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा चीनमा देखिएको कोरोना भाइरससँगै अन्नपूर्ण क्षेत्रमा देखिएको हिमपहिरोले पनि पर्यटकको आगमनमा प्रभावित पारेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान०, पोखराका अध्यक्ष हरि भुजेलले बताए। भ्रमण वर्षको एक महिना नपुग्दै पर्यटन क्षेत्रले विभिन्न बाधाहरु झेल्नुपरेको व्यवसायीको गुनासो रहेको छ।

नेपालले भ्रमण वर्ष २०२० मनाइरहँदा चीनबाट धेरै पर्यटक भित्रिने आशा व्यवसायीको रहेको थियो तर भाइरसका कारण पर्यटक दर घट्दै गएको छ। यता, अन्नपूर्ण पदयात्राका लागि दैनिक १ हजार १ सय विदेशी पर्यटक जाने गरेकामा हिमपहिरो गएपछि शून्यप्राय छ। यसैबीच, नेपाल घुम्न आउने पर्यटकका लागि सरकारले आवश्यक स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिन नसकेको व्यवसायीको गुनासो छ।

यदि पोखरामा पनि संक्रमण देखिए कहाँ जाने, कसरी उपचार गर्ने भन्नेबारे राज्यले यकिन स्थान तय गर्नुपर्ने उनीहरुको माग रहेको छ। नेपाल घुम्ने राम्रो सिजन भनेको अक्टोबरदेखि नोभेम्बर राम्रो सिजन हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्