काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक राष्ट्रिय सभा गृहमा शुरू भएको छ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली अहिले बोलिरहेका छन्। एकतापछि दोस्रो पूर्ण बैठक बसेको हो। ‘सरकार वा प्रधानमन्त्रीले समय दिन नसकेर बैठक बिलम्ब भयो भन्ने होइन। विविध कारणले हो,’ अध्यक्ष ओलीले भने, ‘भविष्यमा यस्तो बिलम्ब नहुने कुरा स्पष्ट पार्न चाहन्छु।’
उनले सरकार र पार्टीविरूद्ध प्रचार युद्ध छेडिएको समेत बताए। ओलीले भने, ‘हाम्राविरूद्ध प्रचारयुद्ध अझै भनौं आक्रमण छेडिएको छ।’ उनले त्यो प्रचार आक्रमण के हो भन्ने प्रष्ट खुलाएनन्। प्रचार गर्नेहरूलाई कामबाट जवाफ दिने पनि उनले बताए। ‘हामी वादविवादबाट होइन, नतिजा र कामबाट जवाफ दिन्छौं,’ प्रधानमन्त्री ओलीले भने। उनले लोकतन्त्रप्रति निष्ठाका सवालमा प्रश्न उठाउने गरिएको पनि उल्लेख गरे। वैचारिक पूर्वाग्रहका कुराभन्दा माथि उठेर हेर्न पनि उनले आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले सडकबाट मानिसलाई उद्धार गरिएको पनि बताए। कसैलाई भोको मर्न नदिने उनको भनाइ छ। बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दैछन्। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणबाट गठित नेकपाको केन्द्रीय समिति बैठक २१ महीनापछि बसेको छ।
नेकपा केन्द्रीय समिति बैठकबारे युवा नेताले के भने ?
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० केन्द्रीय समिति बैठक आज देखि काठमाडौंमा सुरु भएको छ। पूर्व–एमाले र माओवादीबीच एकता भएको २१ महिनापछि पहिलो पटक नेकपा केन्द्रीय समिति बैठक बस्न लागेको हो।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् भने महासचिवले संगठन तथा विधान संशोधन प्रस्ताव पेश गर्नेछन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य राख्ने कार्यक्रम तय भएको छ। केन्द्रीय समिति बैठकमा ४४७ सदस्य सहभागी हुनेछन्। सहभागी केन्द्रीय सदस्यहरुको १५ समूहमा विभाजन गरी छलफल गर्नेत तयारी नेकपाले गरेको छ।
लामो समयपछि पार्टीले केन्द्रीय समिति बैठक डाकेकाले उत्सुकता छाएको नेताहरुले प्रतिक्रिया दिएका छन्। उनीहरुले बैठकमा अहिलेको समसामहिक विषयमा समेत छफल हुने बताएका छन्। पछिल्लो समय एमसीसीबारे नेपालमा ठूलो बहस भइरहेको छ। एमसीसी अनुमोदन गर्ने वा नगर्ने विषयमा नेकपा भित्र विवाद छ।
आज देखि सुरु भएको केन्द्रीय समिति बैठमा विषयले प्राथमिकता पाउने नेताहरुले बताएका छन्। नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले आजदेखि सुरु भएको बैठकमा एमसीसीको विषय महत्वका साथ उठ्ने प्रतिक्रिया दिए। उनले भने, एमसीसी भनेको अन्तराष्ट्रिय सम्झौता हो। अन्तराष्ट्रिय सिद्धान्त, कानूनहरु यसमा लागू हुनेछ भनेर त्यसमा लेखिएको छ। एमसीसीले राष्ट्रको हित गर्छ कि गर्दैन त्यो के–के हो केन्द्रीय कमिटीलाई प्रष्ट पारेर मात्रै संसदमा लैजानुपर्छ भन्ने मेरो माग हो।
उनले पार्टी विधि पद्धति अनुसार चलेन् अनि सरकारलाई पार्टीले चलाउन सकेन भन्ने विवाद अहिले तीब्र भएकोले यी विषयहरुमा पनि छलफल गरिनु पर्ने बताए। उनले बैठकमा प्रत्येक केन्द्रीय सदस्यहरुले व्यापक बहस र छलफलमा सहभागि हुनपाउने गरी व्यवस्था गरिनुपर्ने धारणा समेत राखे।
नेकपा केन्द्रीय सदस्य दिलु पन्तले बैठकमा राष्ट्रिय चर्चाको विषयमा आवाज उठाउन आवश्यक रहेको प्रतिक्रिया दिए। उनले भने, राष्ट्रिय चर्चाको विषयमा हामी जत्तिका मान्छे बोल्न आवश्यक छ। एमसीसी भनेको अन्तराष्ट्रिय सम्झौता हो। पछिल्लो समय यस विषयमा वहस भइरहेको छ। पार्टीले हामीलाई यस सम्बन्धमा जानकारी गराएको छैन। त्यसैले केन्द्रीय कमिटीको बैठकमा विषय बन्नुपर्छ भनेर माग गर्छु।
नेकपा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बैठकमा मुख्यःत एमसीसीकै विषय उठाउने तयारी भइ भइरहेको बताए। एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा उनले दीर्घकालीन दृष्टिकोण राख्नु पर्ने बताए। उनले भने, आज अलिकति पैसा आउँछ भन्दैमा भावी पुस्तालाई दुःख नदिउँ भन्ने मेरो कुरा हो। नेताहरुको जीवन उत्तरार्धमा छ उनीहरुले भोग्नु पर्दैन। तर भावी पुस्ताको बारेमा सोच्नुपर्छ।