एमसीसी इण्डोप्यासिफिकको अंग होइन : प्रधानमन्त्री

oli prachanda
लाेकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई इण्डोप्यासिफिक रणनीतिसँग जोड्नु बेकार भएको बताएका छन्। सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एमसीसीबारे धेरै विवाद गर्न आवश्यक नभएको बताएका छन्।

यो कम्प्याक्ट एसियाका साथै अफ्रिका र दक्षिण अमेरिकाका गरी ४९ देशसँग भएको भन्दै उनले भने, ‘यसलाई इण्डो प्यासिफिकसँग जोड्नु बेकार छ।’ कसको हिडन इन्ट्रेस्ट के छ भनेर खोज्दै जाने हो भने नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध नै राख्न नसक्ने उनले बताए। यो सम्झौता छिटो संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो स्वार्वभौमसत्तालाई यस सहमतिले कुनै प्रतिकुल असर पार्दैन।’

सम्बोधनमा ओलीले सरकारका उपलब्धीको लामो सूची प्रस्तुत गरेका छन्। बुधबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकार गठन भएदेखि अन्तर्राष्ट्रिय सूचकांकहरुमा समेत सुधार भएको लामो सूची पेश गरे।

सरकारविरुद्ध प्रचार युद्ध चलाइएको र सरकारले त्यसको जवाफ कामबाट दिँदै गएको बताए। ओलीले आर्थिक बृद्धिदर नराम्रो नभएको दाबी गरेका छन्। उनले भने, ‘सरकार गठनपछि २ वर्षमा लगानी सम्भेलन गरेर लगानी पनि बढेको छ। लगानीकर्तालाई सहज सुविधा उपलब्ध गराएका छौं।’

ओलीले व्यापार घाटा अघिल्लो वर्षको तुलनामा घटेको र निर्यातमा बृद्धि भएको जानकारी दिए। उखु किसानलाई केही समस्या रहेको सुनिए पनि सरकारले किसानलाई अनुदान उपलब्ध गराइरहेको बताए। अनुदान प्राप्त हुँदा कृषिमा उत्पादन पनि बृद्धि भइरहेको दाबी गरे। ओलीले फलाम कम्पनी लिमिटेड स्थापना, दैलेखमा पेट्रोल अन्वेषणको कार्य सुरु भएकाले यी चिज अगाडि बढाउँदा नेपालको अर्थतन्त्रमा सकरात्मक असर पर्ने निश्चित भएको धारणा राखे।

पूर्वाधार निर्माण भएपनि प्रचार नभएको तर काम तीव्र गतिमा अगाडि बढेको दाबी गरे। उनले भने, ‘मान्छेले आफ्नै अगाडिको पुल मात्रै देख्छ, यहीँ एउटा पुल त हो नि ठान्छ। तर, त्यस्ता पुल देशैभरि बनिरहेका छन्, पहिले वर्ष १० किलोमिटर मात्रै सडक कालोपत्रे हुने दिन थिए, अहिले दिनमा ५–७ किलोमिटर सडक कालोपत्रे हुन्छ।