विकासका लागि वैदेशिक स्रोत आवश्यक : अर्थमन्त्री डा. खतिवडा

pic
लोकपाटी न्यूज

काठमाडौं, १५ माघ। अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि नीजि, सार्वजनिक लगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताएका छन्। मंगलबार अर्थ मन्त्रालयमा Swiss Investment Fund For Emerging Markets का अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्याण्डका पूर्वराजदूत Mr Jorg Frieden को नेतृत्व टोलीसँग भएको भेटवार्तामा अर्थमन्त्री डा. खतिवडाले द्रुत विकासको लागि आन्तरिक स्रोत पर्याप्त नभएकोले वैदेशिक स्रोतको आवश्यकता भएको बताए।

भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराए। अर्थमन्त्री डा. खतिवडाले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, विभिन्न देशहरुसँग दोहोरो करमुक्ति सम्झौताको प्रकृया अगाडि बढाइएको, च्यालेञ्ज फण्डको शुरुवात गर्न लागिएको तथा लगानी आकर्षित गर्ने गरी कानूनहरु निर्माण गरिएको र विद्यमान कानूनको परिमार्जन गर्न लागिएको बताए।

अर्थमन्त्री डा. खतिवडाले पूर्वाधारको विकास गरी पर्यटन र उर्जा निर्यातबाट विदेशी मुद्रा आर्जन गरे मात्र उच्च आर्थिक बृद्धिसँगै बाह्य क्षेत्र सन्तुलन कायम गर्न सकिने बताए। उनले पूर्वाधार विकाससँगै सेवाको गुणस्तरयुक्त विकासको लागि नीजि क्षेत्रसँग सहकार्य गरेर अघि बढेको बताए। मुलुकको समग्र विकासका लागि नवप्रवर्तन अन्वेषण तथा युवा लक्षित सिप र प्रविधिक ज्ञानको सहयोगमार्फत् साना मझौला व्यवसायको प्रवद्र्धन र रोजगारी सिर्जना अहिलेको मुख्य आवश्यकता भएको स्पष्ट पारे।

उनले विकसित मुलुकले प्रयोग गरेको प्रविधि हासिल गर्न पनि बाह्य पुँजी परिचालनमार्फत् नेपालले सहकार्य गर्न चाहेको समेत स्पष्ट पारे।  rieden को नेतृत्व टोलीले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, नीजि क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालमा लगानीको अवसर भएकोमा खुशी व्यक्त गरे।

सो भेटमा नेपालका लागि स्वीस राजदूत Ms Elisabeth Von Capeller  तथा Swiss Investment Fund For Emerging Marketsका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। टोलीले विभिन्न सरकारी, नीजि तथा गैरसरकारी क्षेत्रसँग भेट गरी विकास प्राथमिकताका विषयमा छलफल गरेको थियो।