तुलसीपुर, १५ माघ। नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुण्डीमा विद्यावारिधी पिएचडिको कक्षा सुरु भएको छ। विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधीको कक्षा सञ्चालन गरेको भएपनि केन्द्रीय विश्वविद्यालयमै त्यसको अध्यापन हुने गरेको थिएन।
विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गरेर बुधबारबाट विद्यावारिधीको कक्षा सुरुवात गरेको हो। अनुसन्धान केन्द्रका प्रमूख डा.काशिनाथ न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा उपकुलपति रमेश ढकालले दाङ्गमै विद्यावारिधी सुरु हुनु यस क्षेत्रका लागि गर्बको कुरा भएको बताएका थिए। कार्यक्रमका विशिष्ट अतिथि कुलसचिव माधव अधिकारीले विभिन्न आधा दर्जन विषयमा विद्यावारिधीको अध्यापन सुरु भएको जानकारी दिए।
कार्यक्रममा प्राध्यापक कृष्णचन्द्र शर्माले पिएचडिका बारेमा जानकारी गराएका थिए। दाङ्गमै विद्यावारिधीको कक्षा सुरु हुनुले यस क्षेत्रको प्राज्ञिक उन्नयनमा महत्वपूर्ण उपलब्धि हासिल भएको गणितका विद्यार्थी पर्शुराम चौधरीले बताए। उनले लामो समयदेखि विद्यावारिधी गर्ने आफ्नो सपना पूरा भएको समेत बताए। विश्वविद्यालयमा गणित,राजनीति शास्त्र, अङग्रेजी, नेपाली, अर्थशास्त्र,संस्कृतका विभिन्न विषय र योगचिकित्सामा विद्यावारिधीको अध्ययन हुनेछ।