आज शहीद दिवस ! अर्थात् देशका लागि वलिदान दिनेहरुको सम्झना गरिने दिन । सम्पूर्ण नेपालीले वर्षको एक दिन भए पनि शहीदहरुको सम्झना गर्ने गर्दछन् । हामीले आजको गणतन्त्र प्राप्तिसम्म आइपूग्दा देशको लागि ज्यानको आहुति दिने ज्ञात अज्ञात सम्पूर्ण सहीदहरुलाई सम्झने दिन हो आज ।
हँुदैन विहान मिर्मिरमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपूत मरेर नगए भूपी शेरचनको कविताको अंशले भनेजस्तै देशले परिवर्तनका हरेक कालखण्डमा अमर सन्तान जन्माएको छ । आज हामीले उपभोग गर्दै आएको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता र स्वाभिमान तिनै शहीदका उपहार हुन् ।
लोकतन्त्र र अग्रगामी परिवर्तनका लागिनेपाली जनताले पटकपटक गर्दै आएका ऐतिहाासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र वलिदानको गौरवपूर्ण इतिहासको बलिया खम्बा यीनै शहिदहरुको आवाजका कारण आज हामी यहाँसम्म आईपुगेका छौं । वि.सं.२००७ सालको प्रजातन्त्र ल्याउन, वि.सं. २०४६ सालको प्रजातन्त्रको पूनः स्थापनाका लागि तथा वि.सं.२०६३ सालमा गणतन्त्र ल्याउनको लागि जीवन अर्पण गर्ने ज्ञात अज्ञात शहिदहरुप्रति श्रद्धा सुमन !
प्रजातन्त्रदेखि गणतन्त्रसम्मको जग बसाउने श्रेय उनै महान शहीदहरुलाई जान्छ । नेपालमा माघ १६ गतेलाई शहीद दिवसको रुपमा मनाइन्छ । राणा शासन विरुद्ध धावा बोलेकै कारण ज्यान गुमाउन गएका सहिदहरुको सम्झनामा विशेषतः माग १६ गतेलाई शहिद दिवसको रुपमा मनाइदै आइएको हो । राणा शासन विरुद्ध लडेका सहिदहरुको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो ।
विं सं. १९९७ माघ महिनामा धर्मझक्त माथेमा, दशरथ चन्द, गङ्गालालश्रेष्ठ र शुक्रराज शास्त्री लगायतको सम्झनामा शहिद दिवश मनाउन थालिएको हो । नेपालमा माघ १० गते देखि १६ गतेसम्म सहिद सप्ताहा मनाउने गरिन्छ । नागरिक स्वतन्त्रताको माग गर्दा वि. सं. १९९७ साल माघ १० गते काठमाडौंको टेकु स्थित पचलीमा धर्मभक्त माथेमा, १३ गते सिफलमा शुक्रराज शास्त्री तथा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकहरुले मृत्युदण्ड दिएका थिए ।
शब्दकोषले शहीद भन्नाले आफ्नो देश,संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका लागि वलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ भनेको छ । राणा शासकले वि.सं. १९३३ साल फागुनमा गोरखामो मनकामना नजिकैको रुखमा झुण्ड्यार मारिएका शहिद लखन थापालाई पहिलो शहीद मानिन्छ । देश र जनताको अधिकारका निम्ति कुनै पनि प्रलोभनमा नपरी हाँसीहाँसी फासी चढेर देखाएको त्यो त्याग नेपालको इतिहासमा सदैव सुनौलो अक्षरमा रहनेछ । नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक खुला आकाश शहीदको वलिदानको प्रतिफल हो ।
शहीदहरुको महानताको हामी कसरी वर्णन गर्ने सामथ्र्य हामी राख्न सक्दैनौं । सायद त्यतिबेला सगरमाथाले सिर झुकाएको थियो । सबैलाई उज्यालोमा रमाएको हेर्न चाहानेहरुको हाँस्ने मात्रै होइन बाँच्ने अवशर खोसिएको इतिहासको यथार्थ पानाहरुले शहीदप्रति हाम्रो सम्मान सधै बढाउने गर्छ । जनतालाई माया गर्नेहरु आफूलाई प्यारो ठान्दिैनन भन्ने उदाहरण हुन् शहीद । जसको योगदान वलिदानका कारण आज छ ।
शहीदहरुको आवाज राजनीतिको नाममा केही पूजीपति र शक्तिशाली व्यक्तिहरुले राज्यको स्रोत साधनमाथि गरिरहेको दोहनको विरुद्ध हो । जनतालाई तल्लो तहसम्म विकास महशुस गराउन हो । जनताको पहुच विस्तारको लागि हो । जवर्जस्ती नीति लादेर जनतामाथि अन्याय अत्यायाचार गर्ने शासकको विरुद्धमा हो । हाम्रो कतव्य शहीदको सपना साकार पार्नु हो ।
प्रजातन्त्रका हिमायतीहरुको सम्मानको खातिर व्यक्तिले स्वतन्त्रता वहनसँगै जवाफदेहिता र उत्तरदायित्वलाई पनि निर्वाह गर्नुपर्छ । शहीदले जीवनको आहुति दिएर हामीलाई उपलब्ध गराएको अधिकारको संरक्षण गर्नु हाम्रो कर्तव्य हो । शहीदप्रतिको सम्मान हो ।
पछिल्लो समय जथाभावी शहीद घोषण गर्ने परिपाटीले शहिद शब्दको मूल्य घटेको छ । शहीद शब्दको स्वच्छता र पवित्रतालाई धमिल्याएको पाइन्छ। निश्चित सेवासुविधाको लागि पहुँचको भरमा पाटीका कार्यकर्तालाई जथाभावी शहीद घोषणा गरेको भन्दै शहीदलाई सम्मान गर्ने एउटा तप्का सरकारदेखि रुष्ट हुदै आएको पनि पाइन्छ ।