नेकपाको व्यानरबाट कसले हटायो मार्क्स–लेनिनको फोटो ?

cpn_central_meeting
लाेकपाटी न्यूज

काठमाडौं। बुधबारबाट राष्ट्रिय सभागृहमा सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकको ब्यानरमा मार्क्स , एंगेल्स र लेनिनको फोटो हटाएको विषय नेकपामा चर्चाको विषय बनेको छ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखेका थिए। साढे २ घन्टा भन्दा लामो समय भाषण गरेको प्रधानमन्त्री ओलीले सरकारको काम कारवाहीको लामो सूची सुनाएका थिए। उनले एमसीसी, सीमा विवाद, गोकर्ण रिसोर्ट लिजमा दिँदा उत्पन्न विवादका बारेमा आफ्नो धारणा राखेका थिए। प्रधानमन्त्रीले राष्ट्रियताका विषयमा सरकार कसैसँग नझुक्नेसमेत बताएका थिए।

२० गतेसम्म चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठनिक एवं विधान संशोधनको प्रस्ताव पेश गरेका छन्। राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले २०७७ चैतमा नेकपाको राष्ट्रिय महाधिवेशन गर्न प्रस्ताव गरेका छन्। प्रचण्डले प्रतिवेदनमा इण्डोप्यासफिक रणनीतिमा नेपाल जान नसक्नेसमेत स्पष्ट पारेका छन्।

नेकपामा ४ सय ४५ जना केन्द्रीय सदस्य रहेका छन्। केन्द्रीय सदस्यहरुलाई १५ समूहमा विभाजन गरिएको छ, उनीहरु आजदेखि समूहगत छलफलमा जुटेका छन्। नेकपाले वर्णानुक्रमअनुसार १५ समूह बनाएको थियो। समूहगत छलफल सभागृह, धुम्बाराही र पेरिसडाँडामा हुनेछ। टोली प्रमूखले समूहले तयार पारेको रिपोर्ट बैठकमा प्रस्तुत गर्नेछन्।

जनताकाे जनवाद के हाे ?

एकताअघि तत्कालीन नेकपा एमालेले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र तत्कालीन नेकपा (माओवादी केन्द्र) ले एक्काइसौँ शताब्दीको जनवादको नीति अँगालेका थिए। पार्टी एकतापछि नेकपाको २०७५ जेठ ३ गते सम्पन्न प्रथम केन्द्रीय कमिटीको बैठकबाट पारित ‘अन्तरिम विधान, २०७५’ मा ‘पार्टीको रणनीतिक लक्ष्य अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद हो, न्यूनतम कार्यक्रम जनताको जनवाद हो र यो समाजवादोन्मुख छ’ भनिएको थियो।

तत्कालीन एमालेका महासचिव जननेता मदनकुमार भण्डारीले नेपाली भूराजनीतिक अवस्थालाई ध्यान दिँदै मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोगका रूपमा वि.सं. २०४९ मा सम्पन्न पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको ‘जबज’ कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरणका लागि पृथक र लोकप्रिय मानिन्छ।

यद्यपि मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा गइसकेपछि तत्कालीन एमालेभित्र जबजको परिमार्जनबारे बहस भएको थियो। तत्कालीन माओवादी केन्द्र र कतिपय कम्युनिष्ट घटकले ‘जबज’ संसदीय राजनीतिक प्रणालीकै पक्षमा रहेकाले यसबाट जनवादी क्रान्ति पूरा नहुने टिप्पणी गर्दै आएका थिए।

जबजका मुख्य विशेषता ‘संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यता’लाई भने नेकपाको विधानले समेटेको छ।

यता नेकपा (माओवादी केन्द्र) ले २१ औं शताब्दीको जनवादलाई समाजवादी क्रान्तिको रणनीतिका रुपमा अबलम्वन गर्ने निर्णय गरेको थियो। २१ औं शताब्दीको जनवादले जननियन्त्रित समाजवादको परिकल्पना गरेको थियो। माओवादी प्रस्तावमा कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले पार्टी र सरकारको जिम्मेवारी चक्रीय प्रणालीमा लिने र सेनामा समेत ब्यारेकीकरण र उत्पादनका निम्ति चक्रीय प्रणाली अपनाउने उल्लेख छ।

२१ औं शताब्दीको जनवादले कम्युनिष्ट पार्टीबाट राज्यसत्तामा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले गलत काम गरेमा प्रत्याबहनका लागि जनमतको निर्णय मान्ने निर्णयसमेत गरेको थियो। यद्यपि, एमाले र माओवादीबीच एकतापछि दुवै प्रस्तावका सकारात्मक कुराहरुलाई लिएर जनताको जनवादको कार्यदिशामा जाने निर्णय भएको थियो।

कसले हटायो मार्क्स–लेनिनको फोटो ?

कम्युनिस्ट पार्टी भन्ने वित्तिकै त्यसका आदर्श व्यक्तिहरुमा कार्ल मार्क्स, एंगेल्स, लेनिन लगायतका अग्रजहरुको योगदान र व्यक्तित्वलाई लिने गरिएको छ। मार्क्स र एंगल्सले लेखेको ‘कम्युनिस्टको घोषणा पत्र’ र लेनिनले गरेको त्यसको प्रयोग र संगठनात्मक स्वरुपलाई अवलम्बन गर्ने पार्टीहरुलाई कम्युनिस्ट पार्टी हुन्।

उनीहरुले पनि आफ्ना आदर्शको रुपमा ती नेताहरुलाई नै लिने गरेका छन्। नेपालमा रहेका कम्युनिस्ट पार्टीहरुले आयोजना गर्ने कार्यक्रममा माक्र्स, एंगेल्स लगायतको फोटो राख्ने गरिन्थ्यो। पार्टीको घोषित मार्गनिर्देशक सिद्धान्त नै मार्क्सवाद–लेनिनवाद भएका कारण उनीहरुको तस्वीर राख्नु कम्युनिष्ट पार्टीमा अनिवार्यजस्तै मानिन्छ।

नेपालका वामपन्थीहरुले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको तस्वीर कार्यक्रमहरुमा राख्ने गरेका छन् भने तत्कालिन नेकपा एमालेले पूर्व महासचिव मदन भण्डारीलाई जननेताको रुपमा लिँदै उनको तस्वीरलाई महत्वका साथ कार्यक्रमहरुमा प्रस्तुत गर्दै आएका छन्।

तत्कालीन माओवादी केन्द्रले भने मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको फोटो राख्दै आएको थियो। दुई पार्टीबीच एकता भएपछिका कार्यक्रमहरुमा पनि मार्क्स, एंगेल्स र लेनिनको फोटो राख्ने गरिएको थियो। तर, नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकको उद्घाटन स्थलमा राखिएको ठूलो व्यानरमा भने वामपन्थीका आदर्श व्यक्तिको तस्वीर देख्न पाइँदैन।

यसअघि हरेक जसो कार्यक्रममा राखिने गरिएका ती आदर्श व्यक्तिको तस्वीर हटाइएको विषयमा नेकपाको केन्द्रीय कमिटी बैठकमा उपस्थित नेताहरु ‘खुसामत’ गरिरहेका थिए। बैठकमा राखिएको व्यानरमा नेपाली वाम आन्दोलनका दुई हस्तीहरुको तस्वीर मात्र देख्न सकिन्छ। पुष्पलाल र मदन भण्डारी। पूर्वएमाले धाराका कतिपय नेताहरुले बैठकमा मनमोहन अधिकारीको तस्वीर खोई ? भनेका थिए।

केन्द्रीय समितिको बैठकमा मार्क्स–लेनिनको फोटो नराखिएको विषय भुलवश हो कि पार्टी निर्णय नै हो भन्नेबारे नेतृत्वले कुनै जवाफ दिएको छैन। तर, नेकपाका केन्द्रीय सदस्यहरुले यसबारे बैठकमा कुरा उठाउने भएका छन्। उनीहरुले मार्क्स–लेनिनको फोटो कसले हटायो भन्नेसमेत खोजीनीति गर्न थालेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्