कर धेरै भयाे, घटाउने तयारीमा छौं

Ishwor_Pokhrel
लोकपाटी न्यूज

काठमाडौं, १६ माघ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले करको दर धेरै भयो भनेर देशभरबाट गुनासो आएकोले घटाउन लागिएको बताएका छन्। देउराली जनता फर्मास्युटिकल्सको २९औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन्।

तीन तहकै सरकारले कर उठाउन थालेका कारण करको दर धेरै भएको उनको भनाइ छ। ‘हामीलाई जनताले चुनाव जिताएर पठाएका हुन, हामीले जनतालाई खुसी बनाएर नै जनताको मन जित्ने हो, कर धेरै भयो भनेर व्यापक गुनासो आएको छ, गुनासो सम्बोधन गर्न कर घटाउने गृहकार्यमा छौं,’ मन्त्री पोखरेलले भने।

कसरी करको दर कम गर्ने र कहिलेदेखि कार्यान्वयन गर्ने भन्ने विषयमा मन्त्री पोखरेलले केही प्रष्ट्याएनन्। र, कुन कर कम गर्ने भन्ने विषयमा पनि उनले केही व्याख्या गरेनन्। कर्पाेरेट करको दर धेरै भयो भनेर उद्योगी व्यवसायीले गुनासो गर्दै आएका छन्। यस्तै आयकरका विषयमा पनि जनस्तरबाट गुनासो व्यक्त हुदै आएको छ। उपभोक्ताले तिर्ने १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) को दरका विषयमा पनि बेलाबेलामा प्रश्न उठ्ने गरेको छ।