अठार देशमा कोरोना : डब्ल्यूएचओको आपतकाल घोषणा

Korona_Virus
लोकपाटी न्यूज

काठमाडौं । कोरोना भाइरस विश्वको १८ देशमा फैलिसकेको छ । विश्वको १८ देशका ९८ जनालाई कोरोना भाइरसको संक्रमण भएको बताउदै विश्व स्वास्थ सङ्गठन डब्ल्यूएचओले विश्वव्यापी रुपमा स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओले विश्व स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको हो । चीनमा अहिलेसम्म २ सय १३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ चिन्ता व्यक्त गर्दै डब्ल्यूएचओले विश्व स्वास्थमा आपकाल घोषणा गरेको हो । विश्व आपतकालीन अवस्था घोषणा गर्नुलाई चीनमा फैलिएको संक्रमणभन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसको भनाई छ ।

वुहानमा पुष्टि भएका ४ हजार २ सय २५ जनामा गरिएको अध्ययनअनुसार सङ्क्रमण हुनेको औसत उमेर ५९ वर्ष रहेको छ भने ८९ प्रतिशत मानिस सङ्क्रमण भएको कम्तीमा पाँच दिनपछि मात्र अस्पताल गएका छन् ।

सङ्क्रमण हुनेमध्ये ५६ प्रतिशत पुरुष थिए । ५५ प्रतिशत सङ्क्रमण समुद्री खानाबाट आएको थियो । डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला सङ्क्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्