काठमाडौं । सांसदहरुले गोकर्ण फरेस्ट रिसोर्टसँगको सम्झौता सकिन साढे पाँच वर्ष बाँकी छँदै २५ वर्षका लागि नयाँ सम्झौता गर्नुपर्ने कारण मागेको छन् । बिहिबार भएको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले प्रधानमन्त्री कार्यालय र नेपाल ट्रस्टसँग छलफल मा अगावै सम्झौता गर्नुपर्ने कारण माग गरेका हुन् ।
उक्त बैठकमा प्रधानमन्त्री कार्यालयबाट सचिव नारायणप्रसाद बिडारी र ट्रस्टका निमित्त सचिव राजेश्वर ज्ञवाली उपस्थित थिए । सांसदहरू विरोध खतिवडा, राजन केसी, मीनेन्द्र रिजाल, तेजुलाल चौधरीलगायतले म्याद नसकिँदै सम्झौता गर्नुपर्ने कारणबारे प्रधानमन्त्री कार्यालय र ट्रस्टसँग स्पष्टीकरण मागेका हुन् ।
सांसद तेजुलाल चौधरीले भने, नेपाल ट्रस्टको जग्गा जुन किसिमबाट लिजमा दिइएको छ, त्यो गलत हो । टेबलमुनिबाट काम भइरहेको छ । यसमा लेखा समितिले ध्यान दिनुपर्छ ।’राजाको पालाको सम्पत्ति लुट्ने काम भइरहेको छ भन्दै चौधरीले ट्रस्टको सम्पत्ति कब्जा होला भन्नेमा चिन्ता भएको बताए ।