झापा सङ्घर्षको गौरवशाली इतिहास

Cp-mainali
फागुन २१ गते राति सुखानीको जङ्गलमा आततायीहरूले कायरतापूर्वक चलाएको अग्निवर्षालाई रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द्र राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठजस्ता झापा सङ्घर्षका योद्धाहरूले वीरतापूर्वक सामना गरी जनाधिकार र जनसत्ता स्थापनाको महान् उद्देश्यका निम्ति सहादत प्राप्त गरेका थिए।
लाेकपाटी न्यूज
  • सीपी मैनाली

यस वर्षको फागुन २१ गते विशिष्ट रह्यो। फागुन २१ सहादत दिवस। गोरखाका लखन थापा र उनका सहयोद्धाबाट सुरु भएको सिलसिला धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्द आदि जनाधिकारका प्रातःस्मरणीय योद्धाहरूबाट अघि बढेको हो। २०२९ साल फागुन २१ गते राति सुखानीको जङ्गलमा आततायीहरूले कायरतापूर्वक चलाएको अग्निवर्षालाई रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द्र राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठजस्ता झापा सङ्घर्षका योद्धाहरूले वीरतापूर्वक सामना गरी जनाधिकार र जनसत्ता स्थापनाको महान् उद्देश्यका निम्ति सहादत प्राप्त गरेका थिए।

२०२९ साललगायतका विभिन्न समयमा प्रतिबद्ध योद्धाहरूले प्राप्त गरेका सहादतलाई जनताले मनवचनले पूजा गरिरहेका भए तापनि नेपालको राज्यले ती महान्, सहिदहरूलाई सम्मान गर्न सकिरहेको थिएन, जसलाई केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ०७२ फागुन १९ गते सम्पन्न मन्त्रिपरिषद्को निर्णयबाट पूरा गरेको छ। भीमदत्त पन्तदेखि लिएर, सुखानी, झापा, नक्खु, ओखलढुङ्गा आदिका गरी २२ जना समर्पित कर्मीहरूलाई निरङ्कुशतन्त्रविरोधी सङ्घर्षका अटल योद्धाका रूपमा सहिदको सम्मान प्रदान गर्ने निर्णय एमालेले गरेको छ र यस्ता अन्य निरङ्कुशताविरोधी योद्धाहरूको सहादतको वैज्ञानिक निरूपण गर्ने उच्चस्तरीय समितिकोे गठनसमेत गरेको छ।

मन्त्रिपरिषद्को उक्त बैठकमा म पनि उपप्रधानमन्त्री एवं महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीको हैसियतमा सहभागी थिएँ र सगर्व उक्त निर्णयको एकजना कर्ता बन्न पुगें। राज्यको यस मान्यताबाट यसपटकको सुखानी सहादत दिवसलाई अर्थपूर्ण महत्ता प्राप्त भएको छ। यस घटनाले मलाई वर्तमान चेतनाबाट झापा सङ्घर्षको सर्सर्ती सिंहावलोेकन गर्न प्रेरित गरेको छु।

(१) जङ्गबहादुर राणाबाट स्थापित पारिवारिक निरङ्कुशतन्त्रका विरुद्ध जनसाधारणका हकहितको भावना र धार्मिक आदर्शमा आधारित विचारधारात्मक मार्गदर्शनद्वारा लखन थापा र उनका सहयोद्धाहरू प्रेरित रहेको पाइन्छ। शुक्रराज शास्त्री, धर्मभक्त आदि योद्धाहरू सामन्ती निरङ्कुशतन्त्रविरुद्ध नागरिक अधिकार, समाजसुधार र पूँजीवादी प्रजातान्त्रिक राजनीतिक सिद्धान्तबाट प्रेरित भई सङ्घर्षमा अटल रहन पुगेको देखिन्छ। ०२९ सालमा सुखानीका सहिदहरू सर्वहारा वर्गीय विचारधारा, अर्धसामन्ती तथा अर्धउपनिवेशी नेपाली समाजलाई नयाँ जनवादी जनसत्ता स्थापना गर्दै आमूल परिवर्तन गर्ने सैद्धान्तिक मान्यताहरूद्वारा प्रेरित र मार्गनिर्देशित थिए। १९९३ सालदेखि सङ्गठित रूपमा सुरु भएको प्रजातान्त्रिक आन्दोलनमा झापाली योद्धाहरूले अवलम्बन गरेको सैद्धान्तिक मान्यता समयसापेक्ष र उन्नत मान्यता हो। यस्तो सैद्धान्तिक मान्यतालाई आ–आफ्नो मुलुकका विशेषताहरू अनुकूल हुने गरी लागू गरेर मात्र सामाजिक विकासमा पछि परेका नेपालजस्ता विकासशील मुलुकका जनताको सामाजिक तथा राष्ट्रिय मुक्ति सम्भव हुन सक्छ।

(२) झापा सङ्घर्षले तत्कालै नयाँ जनवादी राज्यसत्ताको स्थापना र तदनुसारको समाज निर्माणको लक्ष्य लिएको थियो, जसका निम्ति दीर्घकालीन सशस्त्र सङ्घर्षको कठीन बाटो तय गर्नुपर्ने मान्यतालाई स्वीकार गरिनुपथ्र्यो। तैपनि, शोषित–पीडित जनताका अगुवा व्यक्तिहरू, विशेषगरी युवाजन क्रमिक रूपमा झापा–सङ्घर्षप्रति आकर्षित हु“दै आएका थिए। यसका विविध सैद्धान्तिक, राजनीतिक, घरेलु, अन्तर्राष्ट्रिय र आवेगात्मक कारणहरू थिए। सिद्धान्तमा जनसत्ता पक्षधर नयाँ जनवाद, राजाको निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्था विरोधी जनतन्त्रवादी राजनीति, सामन्ती तथा औपनिवेशिक शोषण–उत्पीडनबाट जर्जर बनेको पछौटे देशको अवस्था, त्यसबेला विश्वका कतिपय भागमा सशक्त रूपमा बढेका राष्ट्रिय मुक्ति–सङ्घर्ष र जनतान्त्रिक आन्दोलन, शोषित–पीडितजन र युवा मनहरूमा हुर्किने शोषण र उत्पीडनकारी स्थितिमा तत्काल परिवर्तन ल्याउने आवेगहरू आदिको सम्मिश्रण र संयोजनका कारण झापा सङ्घर्षप्रति जनाकर्षण बढ्नु स्वाभाविकै थियो।

लक्ष्य जतिसुकै सुदूरवर्ती, कठिन र बलिदानीपूर्ण भए पनि झापा सङ्घर्षकोे तात्कालिक र व्यवहारिक प्रहार समाजमा विद्यमान निरङ्कुश निर्दलीय सामन्ती व्यवस्थाविरुद्ध थियो। यसकारण, झापा सङ्घर्षले जनताको ध्यान खिच्न सकेको थियो, जसलाई झापा सङ्घर्षका नेताहरूले पनि समयक्रममा आफ्ना राजनीतिक नीतिहरूमा सामेल गर्दै आए र आम रूपमा सङ्घर्षलाई समसामयिक स्वरूप प्रदान गर्न सफल भए। यद्यपि, यस प्रक्रियामा धेरै राजनीतिक भूल र भड्काउहरूसमेत उत्पन्न भएका छन्।

(३) झापा सङ्घर्षको उठान ०२७ को सुरुदेखि भएको मान्न सकिन्छ। त्यहाँदेखि यताका ४५ वर्षमा देशभित्र र बाहिर सिद्धान्त, राजनीति, आर्थिक विकास, जनजीवन, आचरण आदि सबै पक्षमा ठूलो परिवर्तन आएको छ। सङ्घर्षका नेताहरूमा सैद्धान्तिक, राजनीतिक, नेतृत्व क्षमता आदिमा समेत परिपक्वता र परिवर्तनहरू बढेका छन्। मार्क्सवाद–लेनिनवादलाई बुझ्ने र त्यसलाई लागू गर्ने सिर्जनशीलतासमेत बढेको छ। आजको मार्क्सवादी सैद्धान्तिक चेतनाबाट हेर्दा पनि हामी झापा सङ्घर्षमा धेरै सकारात्मक पक्षहरू र केही गम्भीर नकारात्मक पक्षहरू पाउँछौं। झापा सङ्घर्षले त्यसबेला जुन निरङ्कुश राजनीतिक व्यवस्थालाई जति चोटिलो, हिंसात्मक माध्यमबाट समेत प्रहार गर्‍यो, त्यसबाट जनजागरण, सङ्घर्षशीलतामा वृद्धि, एकता, जनपरिचालन, सङ्गठन निर्माण र निरकुङ्शताविरुद्ध व्यापक प्रहार गर्ने जनस्तरीय तयारी आदि क्षेत्रमा धेरै सकारात्मक उपलब्धिहरू भएका छन्।

सङ्घर्षले नेतृत्वमा रहेको आवेगात्मक पक्ष, मनोगतवादी विश्लेषण र संश्लेषणलाई घटाउँदै–बढाउँदै लगेको पाइन्छ। झापा सङ्घर्षमा उपरोक्त सकारात्मक पक्षहरू भए पनि त्यसमा देशको भूराजनीति र नेपाली समाज तथा क्रान्तिका विशिष्टताहरूलाई बुझ्ने सम्बन्धमा गम्भीर कमजोरीहरू थिए। उक्त कमजोरीहरूलाई सच्याउने र मार्क्सवादी–लेनिनवादी सिद्धान्तलाई नेपालको विशेषतामा सिर्जनात्मक रूपले मिलाउने प्रयत्नहरू बढेका छन्। यस प्रयत्नमा विविध सकारात्मक र नकारात्मक प्रयोगसमेत देखिएका छन्, जसका बारेमा व्यापक बहस हुनु आवश्यक छ।

(४) मानिसहरू कहिलेकहिले मलाई प्रश्न गर्छन्– ‘झापा सङ्घर्षमा हेलिँदा कस्तो सपना देखिँदै थियो र आज कहाँ पुगेको जस्तो लाग्छ ? कहीँ बाटो बिराएको जस्तो लाग्दैन ?’ मानिसहरूले मलाई ‘तिमी गलत बाटो हिँड्न थालेका छौ’ भन्ने कोणबाट पनि प्रश्न गर्ने गरेका छन्। हो, त्यसबेला तत्कालै नयाँ जनवादी सत्ता अर्थात् जनसत्ता स्थापनाकै सपना देखिएको थियो। त्यो सपना हाम्रो मुलुकको आमूल परिवर्तनका निम्ति झूट र अनुचित सपना थिएन। अहिले पनि त्यस सपनालाई मैले सजाएर राखेको छु। लक्ष्य त्यही नै हो। तर त्यस लक्ष्यमा पुग्न त्यसबेला देखिएको बाटो र अहिले देखेको बाटोमा केही भिन्नता छन्। त्यसबेला म सोझो र सपाट बाटोको कल्पनामा थिएँ।

आज त्यो बाटो बढी मोड र घुम्तीहरू भएको बढी घुमाउरो र जटिल रहेको देखिरहेको छु। त्यसबेला मैले नेपालको भूराजनीतिलाई जति बुझेको थिएँ, त्यसले मलाई नेपाली क्रान्तिका विशेषताहरूलाई पहिल्याउने दृष्टि दिन सकेको रहेनछ। भूराजनीतिक संवेदनशीलताकै कारण नेपालले पटकपटक ठूला राजनीतिक परिवर्तनबाट गुज्रिँदै आमूल परिवर्तनको लक्ष्यमा पुग्नुुपर्ने रहेछ। यस्तो निष्कर्ष मैले र नेकपा (माले) ले ०६० सालमा तेस्रो राष्ट्रिय सम्मेलनमा आएर निकालेका र संस्थागत गरेका हौं। नेपालमा ००७ साल, ०४६ साल र ०६३ सालमा ठूला अग्रगामी राजनीतिक परिवर्तन÷क्रान्ति भएका छन्। तर समाजमा अहिले पनि जनवादी आमूल परिवर्तन हुन सकेको छैन। तर, मलाई यकिन छ, जनता र समाज त्यही लक्ष्यतर्फ बढिरहेका छन्। सर्वहारा वर्गीय राजनीतिक पार्टीहरूको सचेतना र सही नेतृत्वमा एक दिन नेपाली जनता त्यस लक्ष्यमा पुगी छाड्नेछन्। तर, यसका निम्ति देशमा वामपन्थी–वृत्तमा ठूलो सिर्जनात्मक राजनीतिक बहस छेडिनु आवश्यक छ।

(५) झापा सङ्घर्ष निरङ्कुशताको जङ्गलमा विस्फोटित एउटा झिल्को थियो, जुन झिल्कालाई त्यस सङ्घर्षका प्रतिबद्ध योद्धाहरूले सत्ताको जतिसुकै ठूलो बर्बर दमन भए पनि निभ्न दिएनन्। दर्जनभन्दा बढी योद्धाहरू सहिद बने, ५÷६ सय व्यक्तिहरू जेल परे र हजारौं व्यक्तिहरू घर, आफ्नो समाज र देशबाट समेत विस्थापित भए, तर दमनलाई झेल्दै जनतामा पसेर बच्नेहरूले झापा सङ्घर्षको सन्देशलाई अघि बढाउने बुद्धिमत्तापूर्ण, साहसिलो र बलिदानीपूर्ण प्रयत्नलाई जारी राखे । झापाली कमरेडहरूले यस्तै मान्यताका साथ मोरङमा सङ्गठित र क्रियाशील क्रान्तिकारी सङ्गठनका माधवकुमार नेपाललगायतका कमरेडहरूसँग मिली ०३१ को जेठमा सत्ताकब्जा गर्न क्रान्तिकारी सङ्घर्षलाई फैलाउँदै राष्ट्रिय क्रान्तिकारी पार्टी बनाउने अपिल गरे।

त्यही अपिललाई समर्थन गर्दै ०३२ जेठ २४ र २५ गते झापा, मोरङ, इलाम, सिरहा, बारा, काठमाडौं, सिन्धुपाल्चोकमा क्रियाशील कमरेडहरूले ‘अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन केन्द्र (मार्क्सवादी–लेनिनवादी)’ अर्थात् कोके (माले) को गठन गरे। यसरी झापा सङ्घर्षको सन्देश द्रुत गतिले फैलिन लाग्यो। मोरङ, सुनसरी, सिरहा, धनुषा आदि जिल्लाहरूमा वर्गसङ्घर्षका हिंसात्मक रूप विकसित हुन थाले। दमनका क्रममा ०३२ सालमा कोके (माले) का धेरै जिम्मेवार नेताहरू देशका विभिन्न जिल्लामा गिरफ्तार भए। तथापि, दमनलाई झेल्दै कोकेका नेताहरू सङ्घर्षलाई जीवित राख्न र फैलाउन लागे।

उपरोक्त सिलसिलामै नक्खु जेलमा बन्दी राखिनुभएका झापा सङ्घर्षको राजनीतिप्रति प्रतिबद्ध मलगायत १५ जना क्रान्तिकारीहरू १२ चैत २०३३ को राति डेढ महिना लगाएर जेलभित्रबाट खनिएको सवा सय फिट लामो सुरुङ्बाट जेल तोडी जनताको बीचमा गयौं। जेल तोड्ने क्रान्तिकारीहरूमध्ये केही पुनः गिरफ्तार भए पनि गिरफ्तारीबाट बचेर पार्टी र सङ्घर्षको विकासमा लाग्ने कमरेडहरूले झापा विद्रोहको सन्देश देशव्यापी पुर्‍याउने कार्यलाई उन्नत स्तरबाट अघि बढाए। विद्रोही ‘मुक्ति मोर्चा समूह’, दाङको ‘सन्देश समूह’, पूर्वको ‘रातो झण्डा समूह’, गण्डकीको ‘क्रान्तिकारी माले–दल’ र अन्य धेरै स्वतन्त्र क्रान्तिकारीहरू मिलेर ०३५ सालको पुस ११ गते नेकपा (माले) को पहिलो राष्ट्रिय सम्मेलन गरी पार्टीको स्थापना भयो, जसको नेतृत्वदायी महासचिव पदमा निर्वा्चित हुन मैले प्रतिनिधिहरूको विश्वास प्राप्त गरें। यसका निम्ति ‘प्रथम राष्ट्रिय सम्मेलन’का प्रतिनिधि कमरेडहरूप्रति म आभारी छु।

सङ्घर्ष र सङ्गठनको विस्तारसँगै क्रान्तिकारी पङ्क्तिमा रहेका मनोगतवादी सङ्कीर्ण र ‘वामपन्थी’ मान्यता र नीतिहरूमा परिमार्जन हुँदै गयो, जनसङ्गठन र जनसङ्घर्षको विकास हुँदै गयो, पार्टीका विभिन्न वर्ग र तहहरूसँगको सम्पर्क बढ्दै गयो। पार्टीको यस विकासलाई तत्कालीन नेतृत्वले बुझ्दै र सफलताका साथ नेतृत्व गर्दै गयो। २०३३ साल पुसदेखि नेपाली काङ्ग्रेसले भारत प्रवासबाट पार्टी हेडक्वार्टर हटाउँदै ‘मेलमिलाप’को नीतिसाथ स्वदेश प्रवेश गरेपछि देशको राजनीतिले क्रमशः नयाँ, राष्ट्रिय र जन–आधारित मोड लिन थाल्यो। ०३५/३६ को जनमतसङ्ग्रह र ०४६ को संयुक्त जनआन्दोलन त्यसका ज्वलन्त उदाहरण हुन्। अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिक परिस्थितिमा आएका राजनीतिक परिवर्तनले नेकपा (माले) लाई जनतन्त्रको सङ्घर्षलाई बढाउन र ०४६ सालको राजनीतिक परिवर्तनलाई सफल बनाउन ठूलो सहयोग गर्‍यो।

२०४६ सालको राष्ट्रिय संयुक्त जनआन्दोलनले निरङ्कुशतन्त्र र निर्दलीयतामाथि विजय हासिल गर्‍यो। ‘जनमतसङ्ग्रह’ कालको सङ्घर्षपश्चात् ०४६ सालको निरङ्कुशताविरोधी संयुक्त जनआन्दोलनको विजयले नेकपा (माले) लाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्‍यो। ०४६ सालको राजनीतिक परिवर्तनलाई सही ढङ्गले मूल्याङ्कन गरेर उपलब्धिहरूलाई रक्षा गर्दै राजनीतिक परिवर्तन अनुकूल सामाजिक–आर्थिक परिवर्तनको कार्यलाई सम्पादन गर्नुपर्ने अवधिमा देशको वामआन्दोलनमा उत्पन्न भएका विसर्जनवादी र उग्रवामपन्थी भड्काउहरूले ठूलो क्षति पुर्‍याएका छन्, जसको वस्तुवादी समीक्षा गर्दै आन्दोलनलाई प्रभावकारी ढङ्गले अघि बढाउने आवश्यकता देखिएको छ।

(६) निर्दलीय सामन्ती निरङ्कुशतन्त्र अर्थात् राजतन्त्रविरुद्ध सशक्त र हिंसात्मक प्रहार झापा विद्रोहको सारतत्व हो, जो निःसन्देश सही र सामयिक थियो। त्यस विद्रोहले तत्कालै नयाँ जनवादी सत्ता स्थापनाको कार्यनीति लिनुचाहिँ देशको भूराजनीतिक संवेदनशीलताको अनदेखा गर्ने क्रान्तिकारी आवेगजनित कमजोरी थियो, जसलाई आन्दोलनको विकास क्रममा झापा आन्दोलनमा पैदा भएका अलगअलग वैचारिक प्रवृत्तिहरूले आ–आफ्नै ढङ्गले सच्याउने प्रयत्न गरेका छन्। झापा विद्रोहले समयक्रममा नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ जनवादी क्रान्तिकारी धारलाई सशक्त बनाउने, आन्दोलनप्रति जनताको अभिरुचि र सहभागिता बढाउने, ०३५/३६ सालको जनमतसङ्ग्रहपश्चात् नयाँ जनवादी लक्ष्यलाई कायम राख्दै बहुदलीय पूँजीवादी प्रजातन्त्र (पार्टी स्वतन्त्रता) निम्तिको तात्कालिक सङ्घर्षमा जनतालाई सरिक बनाउने र २०४६ सालको निर्दलीयता विरोधी संयुक्त राष्ट्रिय जनआन्दोलनको सफलतापश्चात् वामपन्थी कम्युनिस्ट शक्तिलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नेजस्ता उपलब्धिहरू प्राप्त गरेको छ। यति भए पनि ०४६ सालको राजनीतिक परिवर्तनपश्चात् झापा विद्रोहबाट उठेको पार्टीले समयको माग र जनताको अपेक्षामुताबिक झापा विद्रोहको उद्देश्यलाई अघि बढाउन सकेन। पार्टी पूँजीवादी विकृति र विसङ्गतिहरूमा फस्दै गयो र कम्युनिस्ट आन्दोलनको प्रजातान्त्रीकरणको नाममा सैद्धान्तिक स्खलनतर्फ उन्मुख भयो। फलतः पार्टी्भित्र विवाद र गुटबन्दी बढ्यो र ०५४ सालमा पुगेर पार्टी नै विखण्डित भयो। त्यो विखण्डनको उपचार आजसम्म हुन सकेको छैन, जुन उपचारका निम्ति गम्भीर सैद्धान्तिक, वैचारिक र रणनीतिक औषधिहरूको खाँचो छ।

२०४६ सालको राजनीतिक परिवर्तनलाई सही दिशामा बढाउन नसकेको अवस्थामा ०५२ सालदेखि बहुदलीय संसदीय व्यवस्थाकै विरुद्धमा नेकपा (एमाओवादी) पार्टीको नेतृत्वमा अर्को सशस्त्र विद्रोह सुरु भयो। त्यसलाई झापा विद्रोेहकोे निरन्तरता भने पनि वास्तवमा त्यो झापा आन्दोलनले प्राप्त गरेका उपलब्धिहरू र शिक्षालाई कदर गर्न नसक्ने गम्भीर कमजोरीको अभिव्यक्ति थियो, जसलाई बाह्य शक्तिकेन्द्रहरूले आ–आफ्ना रणनीतिहरूमुताबिक प्रयोग गर्ने भरमग्दुर प्रयत्न गरे। क्रान्तिको आदर्श र नयाँ जनवादी सत्ताको लक्ष्य बोकेर सुरु भएको माओवादी सशस्त्र विद्रोह परिवर्तनका नाममा विदेशी रणनीतिको वाहक बन्ने अत्यन्त अनपेक्षित भीड–शक्तिमा परिणत हुने खतरातर्फ अघि बढ्न पुग्यो। त्यसबाट बच्ने प्रयत्नको सिलसिलामा उक्त आन्दोलन आज पाँच टुक्रामा खण्डित हुन पुगेको छ। तर, कुनै गुटसँग पनि आफ्नो आन्दोलनको वस्तुगत समीक्षा गर्ने र आफ्ना रणनीतिक भूल–त्रुटिहरूलाई सच्याउने क्षमता विकसित नभइसकेकाले त्यो आन्दोलनले आफूलाई कसरी बचाउन सक्ला भन्ने प्रश्न जनमानसमा जन्मिसकेको छ।

यस्तो अवस्थामा झापा सङ्घर्ष र माओवादी विद्रोहका सकारात्मक पक्षहरूलाई केलाउँदै रक्षा गर्ने र गल्ती–कमजोरीहरूलाई पहिचान गर्दै निर्ममताका साथ बढार्ने ठूलो समीक्षा र शुद्धीकरणको आवश्यकता छ। यो काम सम्पादन गर्न नेपालका विशेषताहरूलाई पहिचान गर्दै मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोग गर्ने कार्यलाई बुद्धिमानीपूर्वक अघि बढाउनुपर्छ। यही क्रममा म र हाम्रो पार्टी नेकपा (माले) नेपाललाई प्राथमिकता दिने चिन्तनलाई मार्क्सवाद–लेनिनवाद तथा माओत्सेतुङ विचारधारासँग सिर्जनात्मक ढङ्गले जोड्नुपर्ने निष्कर्षमा पुगिरहेका छौं। आजसम्म पनि नेपालको अस्तित्व र राज्यका रूपमा यसको स्वतन्त्रता र सार्वभौमसत्ता विनाशको डिलबाट गुज्रन बाध्य हुनुपर्ने अवस्था रहेकाले तिनलाई प्राथमिकता दिने विचार अर्थात् नेपाल चिन्तनयुक्त मार्क्सवाद–लेनिनवादले मात्र नेपाली क्रान्तिकारी सङ्घर्षलाई मार्गदर्शन गर्न सक्छ भन्ने निचोडमा क्रान्तिकारीहरू पुग्नु आवश्यक छ।

(७) झापा सङ्घर्ष र त्यसपछिका राजनीतिक घटनाक्रमहरूले हामीलाई मार्क्सवाद–लेनिनवादको नेपालीकरण गर्नुपर्ने ज्वलन्त आवश्यकताको अघि उभ्याएका छन्। विशेषगरी असोज ३ गते संविधानसभाबाट अग्रगामी लोकतान्त्रिक संविधान जारी भएपश्चात् दक्षिणी छिमेकीबाट त्यसलाई अस्वीकार गर्दै त्यसमा आफ्नो रणनीतिअनुसारको परिवर्तन ल्याउनका निम्ति गरिएको अमानवीय नाकाबन्दीले हामीलाई उक्त काम गर्न बाध्य पारेको छ।

अतः देशका सबै वामपन्थी चिन्तक र नेताहरूले मार्क्सवाद–लेनिनवाद तथा माओत्सेतुङ विचारधारालाई नेपालीकरण गर्न विगतको समीक्षा र आगामी कार्यभारहरूको निक्र्योल गर्न गम्भीर विचार–विमर्शमा सरिक हुनु आवश्यक छ। नेपालीकरण गरिएको मार्क्सवाद–लेनिनवाद नै नेपालका सबै क्रान्तिकारीहरूको एकताको मिलनबिन्दु हुन सक्छ भन्ने मेरो र नेकपा (माले) को निष्कर्ष रहेको छ।

(मैनाली झापा आन्दोलनका एक प्रमुख नेता, को–अर्डिनेसन केन्द्रका सचिव र तत्कालीन नेकपा (माले) का संस्थापक महासचिव तथा हाल नेकपा (माले) का महासचिव हुन्। यो लेख सामयिक ठानेर हामीले पुन प्रकाशित गरेका छौं।)
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्