राष्ट्र बैंककाे कडा निर्देशन : फेसबुक, युट्युव र गुगलमा विज्ञापन दिए मुद्दा

Nepal-Rastra-Bank
लोकपाटी न्यूज

काठमाडौं, १७ माघ। अब सामाजिक सञ्जालमा विज्ञापन गरे राष्ट्र बैंकले कारबाही गर्ने भएको छ। फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक सञ्जालमा गरिने विज्ञापन गैरकानूनी भएको भन्दै कसैले गरेमा राष्ट्र बैंकले कारबाही गर्ने भएको हो।

पछिल्लो समय कतिपय बैंक तथा वित्तीय संस्था, कर्पोरेट संस्था, होटल रेष्टुरेन्ट तथा अन्य व्यवसायिक संघ संस्थाहरुले सामाजिक सञ्जालमार्फत् विज्ञापन गर्दै आएका थिए। यसरी गरिने विज्ञापनका लागि राष्ट्र बैंकले विदेशी मुद्रा सटही गर्दैन। राष्ट्र बैंकले सटही सुविधा नदिइ विदेशी संस्थालाई भुक्तानी गर्नु गैरकानुनी हो। त्यसैले यस्तो विज्ञापन गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको हो।

इन्टरनेटमार्फत् गरिने विज्ञापन बापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने काम गैरकानूनी भएको राष्ट्र बैंकले प्रष्ट्याएको छ। ’यस्तो कारोबारबाट विदेशी मुद्रा अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय नियमित गर्ने ऐन र प्रचलित कानून बमोजिम कारवाही हुने छ’ राष्ट्र बैंकले भनेको छ।

कर्पोरेट संस्था, बैंक तथा वित्तीय संस्था र अन्य निकायले आँफैले बाहिरबाट वा नेपालमै रहेका विज्ञापन एजेन्सीमार्फत् सामाजिक सञ्चालमा महँगो शुल्क तिरेर विज्ञापन गर्दै आएका थिए। विज्ञापन एजेन्सीहरुले विज्ञापनदातासँग मूल्य अभिबृद्धि करसमेत जोडेर पैसा लिने र आफूले भने बाहिरबाट नेपाल आउने पैसा उतै रोकेर विज्ञापन गरिदिँदै आएका थिए।

चालु वर्षको मौद्रिक नीतिले यसरी विज्ञापन गर्न नपाइने व्यवस्थालाई कडाइ गरिने जनाए पनि केही पनि निर्णय गर्न सकेको थिएन। शुक्रबार भने सूचना जारी गर्दै राष्ट्र बैंकले यसरी विज्ञापन गरेमा मुद्रा अपचलन अभियोगमा कारवाही गर्ने निर्णय गरेको छ।

फेसबुक, ट्वीटर, युट्युव, इन्स्टाग्राममार्फत् विज्ञापन गर्दा नेपालको अर्बौ रुपैयाँ अबैधानिक रुपमा बाहिरिने गरेको थियो। यसरी विज्ञापन गर्न रोक्दा नेपाल भित्रिने विदेशी मुद्रा बढ्न जाने छ। पछिल्लो समय रेमिटेन्स घट्नुको एक कारणमध्येको अवैधानिक रुपमा गरिने विज्ञापन पनि थियो।

राष्ट्र बैंकबाट सटही सुविधा नपाइने हुँदा यहाँका एजेन्सीहरुले बाहिर काम गर्ने नेपालीले पठाउने पैसा उतै रोकेर आँफै राख्थे। त्यस बराबरको पैसा उनीहरुले नेपाली रुपैयाँमा परिवारलाई भुक्तानी गरिदिन्थे। यसो हुँदा नेपाल आउने विदेशी मुद्रा रोकिन्थ्यो।

’यसबाट गैरकानूनी भुक्तानी रोकिने छ’ राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले भने, ’कसैले विद्युतीय माध्यमबाट प्रकाशित वा प्रसारित सामाग्रीका कारण आम्दानी गर्छ भने त्यो पनि बैंकिङ च्यानलबाट ल्याउनु पर्छ।’ उनले त्यसरी नल्याएको पाइएमा कारवाही गरिने जानकारी दिए।

suchana