कोरोना भाइरस रोक्न देउवाको सरकारलाई पाँच बुँदे सुझाव

Sher Bahadur Deuba
लोकपाटी न्यूज

काठमाडौं, १७ माघ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई कोरोनामा भाइरसको संक्रमण रोक्नका लागि पाँच बुँदे सुझाव दिएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोनामा भाइरसको संक्रमण रोक्नका लागि सरकारलाई पाँच बुँदे सुझाव दिएका हुन्।

उनले चीनमा रहेका नेपालीहरुको चाँडो भन्दा चाँडो उद्दार गर्न समेत आग्रह गरेका छन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले कोरोना भाइरसबारे नेपालले राख्नु पर्ने सतर्कता र सरकारले निर्वाह गर्नुपर्ने भूमिकाबारे पाँच बुदे अपिल सार्वजनिक गरेका छन्।

‘अन्तर्राष्ट्रिय रुपमा संक्रमण फैलिन शुरु गरेको आजको स्थितिमा विश्व स्वास्थ्य संगठनद्वारा घोषित संकटकाल र संक्रमण सामना गर्न अन्य राष्ट्रले शुरु गरेको सम्पुर्ण सतर्कतासँगै नेपालले राख्नु पर्ने सतर्कता र सरकारले युद्धस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्यबारे सजग गराउँदै म सार्वजनिक अपिल गर्न चाहान्छु,’विज्ञप्तिमा भनिएको छ ।

देउवाका पाँच बुँदे सुझाव

क.कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कताबारे सरकारले विविध माध्यमबाट नागरिक पंक्तिमा व्यापक सूचना संप्रेशण गर्न जरुरी छ ।

नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्व साथ महत्वपुर्ण भुमिका निर्वाह गर्न म नेपाली काँग्रेसका साथीहरुसँगै सबै राजनितिक दल, संघ संस्था र सबै संचार माध्यमहरुलाई विशेष आग्रह गर्दछु।

ख. नेपाल प्रवेशका सबै अन्तराष्ट्रिय नाकामा बिशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गर्न अपिल गर्दछु, ताकी कोरोना भाइरसको नेपाल प्रवेशलाई रोक्न सकियोस ।

ग. कयौं देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काईसकेको विवरण आएका छन्। तर त्यहाँ रहेका करिव एकसय नेपाली विद्यार्थीसंगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुस्खद र आपत्तिजनक छ। कोरोना भाईरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु ।

घ.वुहानबाट नेपालीहरुलाई उद्दार गरेर ल्याए पश्चात स्वास्थ्य परिक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रवन्ध गर्न सरकारले तत्काल कार्य सुरु गर्नुपर्ने आवश्यकता म औंल्याउन चाहन्छु ।

ङ. संक्रमण परिक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्नुपर्ने अनिवार्य आवश्यकता छ। यसलाई गम्भीरतापुर्वक लिएर गम्भीरताकासाथ कार्य गर्न म सरकारलाई सचेत गराउन चाहन्छु। कोरोना भाइरसको प्राणघातक संक्रमणप्रति संयमपुर्वक सतर्कताका लागि म नेपाली काँग्रेस पार्टीका तर्फबाट स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदिबहिनी दाजुभाइमा विशेष अपिल पनि गर्दछु ।