पूँजीवादले महिलालाई स्वतन्त्र मानव होइन, वस्तु ठान्छ

aahuti
सामन्तवादी समाजको सुरुमा वेश्यावृत्ति भन्ने थिएन। व्यभिचार धेरथोर जुनैसुकै युगमा रहँदै आएको पाइन्छ । व्यभिचार भनेको प्रचलित मान्यता छलेर गरिने यौन व्यवहार हो। तर, वेश्यावृत्ति जनस्तरमा थिएन। जबदेखि राज्यले नियमित सेना ब्यारेकमा राख्ने प्रचलन सुरु गर्‍यो, त्यही बिन्दुबाट परिवारबाट वर्षौं अलग रहन बाध्य पुरुष सैनिकको आवश्यकता पूर्ति गर्न वेश्यावृत्तिमा महिलालाई धकेलियो।
  • 905
    Shares
  • आहुति

सन् १८५७ मा अमेरिकाका गार्मेन्ट महिला मजदुरहरूले हडताल गरे। त्यहाँ केही बलिदान पनि भयो। महिला मजदुरले लिएको त्यो पहलकदमी त्यतिवेला निकै नै महत्वपूर्ण थियो। त्यसको सम्झनामा सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनले क्लारा जेट्किनलगायतका महिलाको प्रस्तावमा सोही दिनलाई ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’का रूपमा मनाउने प्रस्ताव पारित गर्‍यो। त्यसैवेलादेखि ८ मार्च मनाउन सुरु भयो, तर यो दिवस विश्वव्यापी भएको थिएन।

सन् १९१७ मा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएपछि सोभियत कम्युनिस्ट पार्टीले सरकारी मान्यता नै दिएर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउने घोषणा गर्‍यो। सन् १९२० मा लेनिनले त्यसको आवश्यकताबारे एउटा लेख पनि लेखे। त्यसपछि संसारभरका कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थाले।

बिस्तारै कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएपछि कम्युनिस्टले ल्याएका थुप्रै राम्रा नीतिहरू पुँजीवादीहरूले खोस्न थाले। पञ्चवर्षीय योजनालाई खोसेर पुँजीपतिले आफ्नो बनाए, जुन कम्युनिस्टहरूले रुसबाट सुरु गरेका थिए। कम्युनिस्टहरूले निर्माण गरेका नयाँ चिजहरूलाई आफ्नो बनाउने क्रममा सन् १९७५ मा संयुक्त राष्ट्रसंघले श्रमिक शब्द हटाएर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ नामाकरण गरी शोषक वर्गका महिलाको पनि दिवसका रूपमा यसलाई प्रचार गर्‍यो। त्यही सिलसिलामा नेपालमा पञ्चायतले पनि यसलाई मनाउन सुरु गर्‍यो।

संसारको सबैभन्दा ठूलो हिंसा

संसारको अहिलेको सबैभन्दा ठूलो हिंसा के हो ? त्यो महिलामाथिको हिंसा हो। तथ्यांकले भन्छ– एक अर्ब महिलामाथि हरेक दिन हिंसा हुन्छ। त्यति हिंसा विश्वयुद्धमा पनि भएको थिएन। हरेक दिन एक अर्ब महिलामाथि हिंसा हुनु भनेको आठ हजार वर्षदेखि चल्दै आएको वर्गसंघर्षको इतिहासमै सबैभन्दा ठूलो हिंसा हो। यो हिंसा इतिहासकार र समाजशास्त्रीले नलेखेको विश्वयुद्ध हो।

८ हजार वर्षदेखि महिलाहरू उत्पीडनमा छन्। जब निजी सम्पत्तिको उत्पत्तिसँगै वर्गीय समाजको उत्पत्ति भयो, त्यो निजी सम्पत्ति आफ्नै सन्तानलाई हस्तान्तरण गर्न पुरुषलाई निजी श्रीमती चाहियो। निजी श्रीमती भएन भने बच्चा मेरै हो भन्ने जानकारी पाउने भएन। त्यसैले आफ्नो भनी चिनिने बच्चालाई आफ्नो सम्पत्ति हस्तान्तरण गर्न जबरजस्ती निजी श्रीमती बनाउने चलन सुरु भयो। महिलाको निम्ति निजी पुरुष भन्ने भएन। उसको हैसियत दासीसरह भयो। पुरुषको निम्ति निजी श्रीमती प्रथाको रूपमा सुरु भयो। यसरी जबर्जस्ती महिलामाथि लादिएको प्रथा नै कालान्तरमा आजको विवाह प्रथामा विकसित हुन पुग्यो।

समाजबाट दास युगको अन्त्य भयो। तर, दास युगभित्रको महिला सामन्तवादी युगमा पनि उत्पीडित भए। मोही किसानहरू सामन्तवादबाट मुक्त भएर पुँजीवादी स्वतन्त्रताको युगमा आए, तर महिलाहरू पुनः पुँजीवादी शोषण उत्पीडनको चक्रमा पिसिइरहेछन्। यसरी महिला उत्पीडितको पनि महाउत्पीडित समुदाय बन्न पुग्यो। प्रत्येक परिवारभित्र महिला उत्पीडित भए। हरेक वर्गभित्र महिला उत्पीडित भए। बितेको ८ हजार वर्षमा महिलाहरू कुनै पनि व्यवस्थामा कहिल्यै मुक्त भएनन्। अहिलेको भूमण्डलीकृत पुँजीवाद झनै डरलाग्दो ढंगले महिलाको शोषण गर्न उत्रियो। आजको पुँजीवादले महिलाको श्रम शोषण गर्ने मात्र होइन, बरु स्वयं महिलालाई ‘माल’मा परिणत गरिदिएको छ।

सामन्तवादी समाजको सुरुमा वेश्यावृत्ति भन्ने थिएन। व्यभिचार धेरथोर जुनैसुकै युगमा रहँदै आएको पाइन्छ । व्यभिचार भनेको प्रचलित मान्यता छलेर गरिने यौन व्यवहार हो। तर, वेश्यावृत्ति जनस्तरमा थिएन। जबदेखि राज्यले नियमित सेना ब्यारेकमा राख्ने प्रचलन सुरु गर्‍यो, त्यही बिन्दुबाट परिवारबाट वर्षौं अलग रहन बाध्य पुरुष सैनिकको आवश्यकता पूर्ति गर्न वेश्यावृत्तिमा महिलालाई धकेलियो।

अहिले संसारका विकसित र मानव अधिकारको ग्यारेन्टी भएको भनिएकोे अमेरिका, नर्बेजस्ता पुँजीवादी मुलुकहरूमा पनि महिलाहरू वेश्यावृत्तिमा धकेलिन बाध्य छन्। त्यसमध्येका कतिपय स्थानमा वेश्यावृत्ति मात्र हुने होइन, प्रत्यक्ष वेश्यावृत्ति भएको हेर्न टिकटसमेत काटिन्छ। जसले आफूलाई संसारकै मानवतावादी, महारथी भनेर दाबी गर्छन्, तिनीहरूले हाकाहाकी लाखौँलाख महिलालाई संसारभर बेचिरहेका छन्, बेच्न बाध्य पारिरहेका छन्।

महिला मुक्तिका बारेमा सबैभन्दा स्पष्ट र वैज्ञानिक अवधारणा मार्क्सवादले अघि सार्‍यो । निजी सम्पत्तिका कारण महिलाहरू उत्पीडित भएकाले महिला मुक्तिको प्रश्नलाई निजी सम्पत्ति उन्मूलनको दिशामा अघि बढ्न वर्गसंघर्षसँग जोड्नुपर्छ भन्ने सिद्धान्त अगाडि ल्यायो । विगतका समाजवादी क्रान्ति भएका मुलुकहरूमा महिलाहरूलाई विगतको तुलनामा असाधारण अधिकार पनि दिइयो ।

महिलालाई भोट हाल्ने अधिकार कम्युनिस्ट पहलमा नै व्यापक भएको हो। महिलालाई राजनीतिमा सबैभन्दा धेरै अधिकार कम्युनिस्टहरूले नै उपलब्ध गराउन सुरु गरेको हो। तर, कम्युनिस्ट पार्टीभित्रै रहेको पितृसत्ताको प्रश्न गम्भीर समस्याको विषय थियो। महिलालाई सुविधा दिने, राजनीतिक रूपमा अगाडि बढाउने, पदमा लानेलगायतका काम त भए, तर पितृसत्ताविरुद्धको वैचारिक अभियान कम्युनिस्टहरूले जुन मात्रा र महत्वका साथ चलाउनु आवश्यक थियोे, त्यसो भने हुन सकेन।

महिला समस्याको प्रकृति

महिला समस्या लिंगीय उत्पीडनको समस्या मात्रै होइन, यो त वर्गीयस्तरकै समस्या हो। महिला वर्ग होइन, तर महिलाको समस्या वर्गकै स्तरको उत्पीडनको घनत्व भएको समस्या हो। महिला उत्पीडनको समस्या नितान्त वर्गीय समस्या होइन, तर वर्गीय समस्याभन्दा कम पनि होइन। त्यसैले महिला समस्याबारेको बुझाइलाई सैद्धान्तिक रूपमै उठाउनुपर्छ।

पुँजीवादी राजनीतिमा पार्टी वा संगठन बनाउँदा मजदुरलाई पनि संलग्न गर्नुपर्छ भनिन्थ्यो। तर मार्क्सवादले भन्यो– सबैभन्दा क्रान्तिकारी वर्ग मजदुर हो, अर्थात् मजदुर वर्गले नेतृत्व नगरी क्रान्ति नै हुँदैन। ठीक यसरी नै अब सैद्धान्तिक रूपमा संश्लेषण गरिनु जरुरी छ कि महिला पनि मजदुर र श्रमिक वर्गसरह नै हो। महिला समस्या छेउ–किनाराको समस्या होइन, यो आधारभूत क्रान्तिकै समस्या हो। समाजवादी क्रान्ति गर्न आवश्यक सबैभन्दा आधारभूत समुदायमध्येको एक हो, महिला। यो विचारधाराकै स्तरबाट प्रस्ट हुनुपर्छ, त्यसपछि मात्र महिला आन्दोलनको नयाँ युगको नयाँ जग सुरु हुन सम्भव हुन सक्छ।

नेपाललगायत संसारैभरि नारीवादबारे चर्चा हुने गरेको छ। हरेक विचारको एउटा राजनीति हुन्छ। राजनीतिक व्यवस्थाको परिकल्पना हुन्छ। त्यो विचारलाई अगाडि बढाउने एउटा दर्शनशास्त्र हुन्छ। यी कुरामा प्रस्ट नभई अँध्यारोमा ढुंगा मात्र हानेर सही यात्रा कसरी सम्भव हुन्छ ?

पुँजीवाद र महिला मुक्ति

पुँजीवाद सुरु भएको करिब पाँच सय वर्षमा उसले के राम्रो काम गर्‍यो भने सामन्तवादले घरमा थुनेर राखेको महिलालाई समानता, स्वतन्त्रता, भातृत्वको नारा दिएर कारखाना र स्कुलमा ल्यायो। पुँजीवादले बाहिर त ल्यायो, तर श्रम शोषण गर्‍यो, यौनशोषण गर्‍यो, जुन अहिलेसम्म जारी छ। विकसित भनिएको देशदेखि राज्य नियन्त्रित पुँजीवादी देश चीनमा पनि महिलाको अवस्था दयनीय छ। महिलाहरू बेचिन बाध्य छन्। त्यसैले महिला मुक्तिका निम्ति पुँजीवादी व्यवस्थाको विकल्प खोज्नुबाहेक अर्को उपाय छैन ।

त्यो विकल्पको व्यवस्था वैज्ञानिक समाजवाद नै हुन सक्दछ किनभने त्यस व्यवस्थाले मात्र महिला उत्पीडनको जरो कारण निजी सम्पत्ति उन्मूलनको वकालत गर्दछ। त्यस्तो समाज व्यवस्थामा पुग्न मार्क्सवादमा आधारित कम्युनिस्ट आन्दोलनबाहेक अरू विकल्प छैन। तर, अहिले कम्युनिस्ट आन्दोलनबारे कुरा गर्दा थुप्रैले नाक खुम्च्याउने अवस्थासमेत बनेको छ। त्यस्तो अवस्था एकातिर स्थापित कम्युनिस्ट सत्ताहरू ढले र अर्कोतिर बनेका कम्युनिस्ट पार्टीहरू पुँजीवादीहरूभन्दा निकृष्ट देखिएका कारण उत्पन्न भएको हो। यस्तो अवस्था आज मात्र आएको होइन, सन् १९०० तिर योभन्दा खराब अवस्था थियो।

त्यतिवेला माक्र्सवादका प्रवर्तकहरू मार्क्स र एंगेल्सको मृत्युु भइसकेको थियो, कम्युनिस्टहरूले कतै राजनीतिक क्रान्ति सम्पन्न गर्न सकेका थिएनन् र तत्कालीन मार्क्सवादीहरूको ठूलो जमात मार्क्सवाद मर्‍यो भन्दै भागाभाग चलेको थियो। त्यस्तो विकट अवस्थामा लेनिनहरू अगाडि आएर मार्क्सवादको सच्चाइ पुनः प्रमाणित गर्न दार्शनिक, सैद्धान्तिक र राजनीतिक क्षेत्रमा अथाह मिहिनेत र दुनियाँ हल्लाउने संघर्षको कष्टसाध्य आँधी सिर्जना गरेपछि मात्र मार्क्सवाद पुनः मानव मुक्तिको केन्द्रीय बाटो बनेको हो। आज फेरि मार्क्सवादी विज्ञानलाई नयाँ युगमुताविक विकसित सम्पूर्ण ज्ञानविज्ञानका निष्कर्षसहित समृद्ध गर्नुपर्ने आवश्यकता जन्मिएको हो। त्यो समृद्धिको क्रम सानदार ढंगले सुरु भइसकेको छ, त्यसलाई व्यापक छलफल र संघर्षको व्यवहारबद्ध गर्ने काम पनि थालनी भएको छ। त्यसैले यो अवस्था मार्क्सवादीहरूका निम्ति चुनौती र अवसर दुवै हो, तर मार्क्सवादको असफलता होइन।

बितेको आठ हजार वर्षमा महिला कुनै पनि व्यवस्थामा कहिल्यै मुक्त भएनन्। अहिलेको भूमण्डलीकृत पुँजीवाद झनै डरलाग्दो ढंगले महिलाको शोषण गर्न उत्रियो। आजको पुँजीवादले महिलाको श्रम शोषण गर्ने मात्र होइन, बरु स्वयं महिलालाई ‘माल’मा परिणत गरिदियो।

अब नेपालको महिला आन्दोलनले आफूलाई मार्क्सवादी महिला आन्दोलनमा रूपान्तरण गर्नुपर्छ। त्यसका लागि पुरानो कम्युनिस्ट आन्दोलनले हुँदैन, नयाँ कम्युनिस्ट आन्दोलनको आवश्यकता छ । पुरानो कम्युनिस्ट आन्दोलनले लड्न चाहिने वेला महिला बोलायो। लडे। मरे। त्यसपछि पुनः पार्टी वा समाजमा पितृसत्ता कायम ! यो दुर्भाग्य नियतभन्दा पनि पुरानो कम्युनिस्ट आन्दोलनको वैचारिक सीमाले निम्तिएको समस्या हो। त्यस समस्याको समाधान अब पनि व्यक्ति कोही सही भएर हल हुँदैन बरु नयाँ कम्युनिस्ट आन्दोलन र नयाँ महिला आन्दोलनले विचार, संगठनात्मक प्रणाली र प्रतिनिधित्वको नयाँ अवधारणा नै तयार पार्न सक्नुपर्दछ। त्यसको एउटा आधारभूत सिद्धान्त यहाँ सारमा उल्लेख गर्न सकिन्छ, व्याख्या गर्न भ्याइन्न । त्यो के भने प्रतिनिधित्व केवल विचारको मात्र हुन सक्दछ, स्वार्थ र सरोकारको हुन सक्दैन। यस नयाँ सिद्धान्तका आधारमा अब उप्रान्त महिलाको स्वार्थ र सरोकारको विषयमा महिलाले मात्र निर्णय गर्न पाउने संगठन, पार्टी र आन्दोलनको ढाँचा निर्माण गर्नुपर्दछ।

महिलाविरोधी अवधारणाहरू

अबको महिला आन्दोलनले पितृसत्ता र पुँजीवादले निर्माण गरेका सबै महिलाविरोधी अवधारणामाथि प्रहार सुरु गर्नुपर्छ। महिला सुन्दर अनि पुरुष बलवान् प्रजाति, महिला कोमल र पुरुष कठोर मनको, महिला पारिवारिक र पुरुष अराजक, महिला सहनशील र पुरुष असहिष्णु, महिला कामुक र पुरुष कम कामुक, आमाहरू महान्, छोरीहरू जिम्मेवार …आदि अवधारणाभित्र लुकेका पितृसत्तात्मक स्वार्थहरूको भण्डाफोर गरिनुपर्छ। पार्टीहरूभित्र महिलाहरू पुरुषजस्तै गरी अगाडि बढ्न पर्‍यो भनिन्छ जुन बिल्कुल गलत छ। पितृसत्ताले आफू जस्तो–जस्तो हो, त्यस्तै–त्यस्तै चाहन्छ।

संगठनको बैठक कतिवेला राखिदिने भन्दा बच्चालाई स्कुल पठाउने वेला राखिदिने। बच्चालाई स्कुल पठाउने वेला बैठक राखिदिएपछि त्यो महिला कसरी आउँछ ? राज्य सत्ता, पार्टी सबैतिर यस्तैखालको संरचना र संस्कृति बनेको छ। समग्र क्षेत्रमा संरचना र कामको शैली महिलाविरोधी छ। अवधारणा महिलामैत्री छैन। त्यसलाई महिला आन्दोलन अगाडि बढ्दैन।

पितृसत्ता भनेर जेलाई भनिन्छ, त्यो तीनवटा कुरा हो। पहिलो, महिला भनेको जन्मिँदै पुरुषभन्दा बुुद्धि र शरीर दुवै कमजोर हुन्छ। यो पितृसत्ताको मूल मान्यता हो। दोस्रो, महिला भनेको भोग्या हुन्। पुरुषले भोग्नका लागि जन्मिएको हो। तेस्रो, महिला भनेको सुन्दर प्रजाति हो। अहिले पनि धेरै शिक्षित महिलाहरूलाई समेत बौद्धिक रूपमा त महिला बराबरी नै हुन्छन्, तर शारीरिक रूपमा पुरुषभन्दा कमजोर नै हुन्छ भन्ने परेको छ।

महिला र पुरुषको शरीर फरक हो। जसरी लालीगुराँस र चमेली फूलमा कुन बलियो भन्ने प्रश्न हास्यास्पद हो। लालीगुराँसको ठाउँमा लालीगुराँस र चमेलीको ठाउँमा चमेली नै राम्रो हुन्छ । त्यसलाई दाँज्न मिल्दैन। त्यसैगरी महिलाको शरीर भनेको प्रजजनसहित बच्चा हुर्काउने आवधिक जिम्मेवारी पूरा गर्नका लागि बनेको शरीर हो। पुरुष त्यसका निम्ति बनेको शरीर होइन।

फरक–फरक कार्याभारको निम्ति बनेका शरीरहरूबीच दाँज्न थालेपछि त विकृत निष्कर्ष मात्र निस्कन्छ। यस्तो सोच्ने तरिका लागू गरेर मातृसत्तात्मक शासनको कल्पना गर्दा कस्तो चित्र देखिन्छ त ? त्यहाँ महिलाले पुरुषलाई अपमानित गर्दै भन्नेछ। बच्चा जन्माउन नसक्ने पुरुष तल बस्, हामी माथि बस्छौँ। यस्तो तर्कलाई बेठिक कसरी मान्न सकिन्छ त्यस्तो भएमा ? यदि महिलालाई जबर्जस्ती कम दर्जाको मान्ने पितृसत्तात्मक परिभाषालाई सही मान्ने हो भने त मातृसत्तामा पुरुषविरुद्धमा निर्माण गरिने तर्कलाई पनि सही मान्नुपर्ने हुन्छ नै। तर न त पुरुषविरुद्ध त्यसरी निर्माण गरिने तर्क सही हुनेछन्, न त आज महिलालाई कमजोर र नालायक देखाउन रचिएका पितृसत्तात्मक दलील नै सही हुन्।

यसप्रकार महिला समुदायका विरुद्धका तमाम गलत अवधारणाको खण्डनसहित वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा समेत नवीन महिला आन्दोलन अबको अनिवार्य आवश्यकता हो। हिजोको समयमा यस्तै कठिन आवश्यकता पूरा गर्ने क्रममा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस जन्मिएको थियो, त्यसको क्रान्तिकारी परम्परागतलाई आज पुँजीवादी र श्रमिक वर्गको गफ गर्ने अवसरवादी शासकहरूले धुमिल्याउन लगातार लागिपरेका छन्। तर महिला, श्रमिक वर्ग र तमाम न्यायप्रेमी जनसमुदायले ‘आठ मार्च’को वास्तविक मुक्तिको आगोलाई जाज्वल्यमान बनाउन पुनः लागिपर्नु जरुरी छ।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्