कम्युनिस्ट पार्टी कस्तो हुनुपर्छ ?

Premal khanal
महाधिवेशन नभएको बखत पार्टीको सर्वाेच्च अंग केन्द्रीय कमिटी हुने, केन्द्रीय कमिटीले तात्कालिक नीति बनाई लागू गर्ने, काम र जिम्मेवारी प्रदान गर्ने, कामको मूल्यांकनका आधारमा जिम्मेवारी हेरफेर गर्ने, पुरस्कृत गर्ने वा दण्डित गर्ने गर्दछ।
  • 387
    Shares
  • प्रेमलकुमार खनाल

वैज्ञानिक समाजवाद स्थापना गर्न पार्टी र सरकारको मोर्चाबाट अगुवाइ गर्दछ। कम्युनिष्ट पार्टीले पूँजीवादी जनवादी क्रान्तिको चरण सम्पन्न भएपछि समाजवादमा जान समाजवादी क्रान्तिको कार्यनीतिक कार्यदिशाका साथ क्रान्तिको निरन्तरताको अर्को चरण समाजवादी क्रान्तिको अगुवाइ गरी समाजवादी क्रान्तिलाई सडक, सदन र सरकारको मोर्चाबाट सफलताको शिखरमा पुर्‍याउँछ।

पार्टीभित्र विकास हुने वर्गसमन्वयवादी धारलाई निस्तेज बनाउँदै सडक, सदन र सरकार गरी तीनवटै मोर्चाबाट वर्ग संघर्षलाई तेज बनाउँछ। पार्टीभित्र उत्पपन्न हुने अवसरवादी सोंच, चिन्तन र प्रवृत्तिका विरुद्ध दृढतापूर्वक वैचारिक संघर्ष गर्दै आन्दोलन र क्रान्तिलाई अगाडि बढाउँछ।

पार्टी संगठनलाई जनवादी केन्द्रीयता, अनुशासन र स्वतन्त्रताको सन्तुलित अभ्यासका साथ लोकतान्त्रिक परिपाटीबाट अगाडि बढाउँछ। मानवीय गल्ती, भुल, कमजोरीलाई हटाउन आलोचना आत्म आलोचना नै अचुक औषधी हो भन्ने मान्यतालाई अगाडि बढाएको हुन्छ।

वैचारिक अभियान, नियमित वैठक र स्वअध्ययन पार्टी संगठनको गतिशीलता वैचारिक स्तर बृद्धिको मुख्य आधारको रुपमा अगाडि बढाइएको हुन्छ। सबै नेता,कार्यकर्ता तथा सदस्यहरु पार्टी कमिटी मातहत हुन्छन्। जुन सुकै निर्णय पनि सामूहिक निर्णय पद्धतिबाट हुन्छ। कोही व्यक्ति विशेषसँग विशेषाधिकार (पेरोगेटीभ राइट) नहुने मान्यता राख्दछ।

कामको वैज्ञानिक तवरले मूल्यांकन गर्ने परिपाटी स्थापित गरेर उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी र समान अवसर प्रदान गरी कम्युनिस्ट पार्टीले कसैलाई अन्याय हुन दिँदैन भन्ने मान्यतालाई सुनिश्चित हुनेछ। सबै निर्णयहरु संस्थागत भएपछि गरिएका निर्णयको सबैले अपनत्व र स्वामित्व लिएर त्यसको पक्षपोषण गर्नुपर्ने मान्यता राखेको हुन्छ।

पार्टीका निर्णय विना शर्त पालना गर्नु सबै नेता, कार्यकर्ताको कर्तव्य हुन्छ भन्ने मान्यता राखेको हुन्छ। निर्णय सर्वसम्मत वा बहुमतबाट हुन्छ। निर्णयमा चित्त नबुझेमा आफ्नो असहमतिको कारण माइन्युटमा दर्ज (नोट अफ डिसेन्ट) गर्न पाइने तर पार्टीले गरेको निर्णय पालना गरेर अगाडि बढ्नुपर्दछ भन्ने मान्यता राख्दछ।

महाधिवेशन नभएको बखत पार्टीको सर्वाेच्च अंग केन्द्रीय कमिटी हुने, केन्द्रीय कमिटीले तात्कालिक नीति बनाई लागू गर्ने, काम र जिम्मेवारी प्रदान गर्ने, कामको मूल्यांकनका आधारमा जिम्मेवारी हेरफेर गर्ने, पुरस्कृत गर्ने वा दण्डित गर्ने गर्दछ।

पार्टीको कार्यनीतिक लक्ष्य प्राप्त गर्न अल्प, मध्यमकालिन कार्ययोजना बनाउने, लागू गर्ने, कामको नियमित रिपोर्टिङ गर्ने, सबै कामको आवधिक समीक्षा गर्ने र समग्र कामको समीक्षात्मक प्रतिवेदन तयार गरी कमिटीमा छलफल गरी निष्कर्ष निकाल्ने काम गर्दछ। कम्युनिष्ट पार्टी जनआधारित भएको हुँदा जनताले भोगिरहेका जनसरोकारका मुद्दाको अगुवाइ गरेर पार्टी जनताबीचको सम्बन्धलाई जीवन्त बनाउने काम गर्दछ।

अन्धराष्ट्रवाद, जातीयता, क्षेत्रीयता, समूहवन्दी, नेतामुखी, सोंच चिन्तनलाई हटाउँदै विचार र बिधिबाट, नीति प्रधान हुन्छ भन्ने मान्यताबाट व्यबहार गर्न नेता कार्यकर्तालाई हरहमेशा निर्देशित हुन निर्देशित गरिरहेको हुन्छ।

नेतृत्वले सबैखाले अहंकार, घमण्ड, व्यक्तिवाद, ठालुपन, देवत्वकरण गर्ने गलत प्रबृत्तिको विरोध गर्दै सादा जीवन, उच्च विचार, सर्वहारावादी दृष्टिकोण, कार्यशैली र जीवनशैली, सदस्यहरुका विचमा कमरेडली व्यबहार, पक्षपात भेदभाव नहुने, नेतृत्वबाट सबै सदस्यहरु समान हुन भन्ने आदर्शबाट व्यबहार प्रदर्शित गरेर सौर्य उर्जाका साथ पार्टी र क्रान्तिमा लाग्न प्रेरित गरिरहेको हुन्छ।

दलाल पूँजीवाद, एकाधिकार पूँजीवाद, साम्राज्यवाद, प्रभुत्ववाद र विस्तारवादका विरुद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सञ्चालित आन्दोलनमा सहयोग, ऐक्यवद्धता प्रकट गर्दै सर्वहारा अन्तर्राष्ट्रिय भाइचाराका आधारमा विदेश सम्बन्ध कायम गरेर पूँजीवाद र साम्राज्यवादका गतिविधिलाई कमजोर बनाउँदै विश्व समाजवादी आन्दोलनलाई मजबुत बनाउन भूमिका निर्वाह गर्दछ।

अर्थतन्त्रलाई स्वाधीन, आत्मनिर्भर बनाउन स्वदेशी श्रोत साधनको अधिकतम विकास र परिचालन गरेर राष्ट्रिय पूँजीको विकास गरी लगानी गर्ने, राष्ट्रिय हित र सुरक्षामा आँच पुग्ने शर्तसहितका नवउपनिवेश बनाउने विदेशी ऋण सहयोगलाई अस्वीकार गर्दै राष्ट्रिय पूँजीको निर्माणमा सम्पूर्ण ध्यान केन्द्रीत गर्ने भूमिका निर्वाह गर्दछ।

(खनाल नेकपाका केन्द्रीय सदस्य हुन्।)

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्