काठमाडौं, १८ माघ। नेकपा सम्वद्ध शिक्षकहरुले राजनीतिक आन्दोलनमा शिक्षकहरुलाई उपयोग गरेकोमा आपत्ति जनाएका छन्। शनिबार काठमाडौंमा बनभोज कार्यक्रममा बोल्दै एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले उक्त प्रश्न उठाएका हुन्।
बनभोज कार्यक्रममा अध्यक्ष अधिकारीले भने, ‘जनयुद्धका क्रममा शिक्षकहरुले ठूलो बलिदानी गरे। लाखौं शिक्षकहरु आन्दोलनमा होमिए। त्यसैगरि विभिन्न आन्दोलनमा शिक्षकले ठूलो त्याग गरेका छन्। नेपालको राजनीतिक आन्दाेलनमा शिक्षकहरुको निर्णायक भूमिका छ। तर, गणतन्त्र आइसकेपछि हामीलाई पार्टीको सदस्य हुन बञ्चित गरिँदैछ। आन्दोलनका बेला शिक्षक नै चाहिने तर राजनीतिक परिवर्तनपछि हामी नचाहिने, के हामी पार्टीका उपयोगका साधन मात्र हौं।’
अधिकारीले शिक्षा मन्त्रालयले ल्याउन लागेको संघीय शिक्षा ऐन शिक्षकविरोधी भएको बताए। उनले भने, ‘सरकारले संघीय शिक्षा ऐन ल्याउँदैछ। शिक्षकहरु राजनीतिक प्राणी हुन्। उनीहरु झन् राजनीतिक जागरणका अगुवा हुन्। उनीहरुलाई राजनीतिक संगठनमा आवद्ध हुन रोक्नु भनेको पूँजीवादी चिन्तन हो। संघीय ऐनले लाखौं शिक्षकहरुलाई बेरोजगार बनाउँदैछ। शिक्षकहरुले भविष्य नै धरापमा पारिदिएको छ। यो हामी मान्न सक्दैनौं।’
शिक्षकका नेताहरुले आफूहरु राजनीतिक दलबाट अलग हुन नसक्ने बताए। उनीहरुले पार्टीले शिक्षकहरुलाई राजनीतिक हतियार मात्र बनाएकोमा आपत्ति जनाएका हुन्।