पैसाको लोभमा देश बेच्न मिल्दैन : लिलामणि पोख्रेल

लोकपाटी न्यूज

काठमाडौं, १८ माघ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य लिलामणि पोखरेलले हरेक नागरिक राजनीतिक प्राणी भएकाले शिक्षकहरु राजनीतिक दलबाट अलग हुन नसक्ने बताएका छन्।

शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै नेता पोखरेलले भने, ‘हरेक मानिस आफैमा राजनीतिक प्राणी हो। शिक्षकहरु पनि राजनीतिबाट अलग हुन सक्दैनन्। त्यसरी सोचियो भने त्यो पञ्चायती सोच हुन्छ। हामीले शिक्षकहरु लगायत सबै बौद्धिक समुदायलाई समाजवादी चिन्तनमा डोर्‍याउनु पर्दछ।’

नेता पोखरेलले शिक्षा, स्वास्थ्य र रोजगारी समाजवादका मुल आधार भएको बताए। उनले भने, ‘समाजवादको तयारीका लागि हाम्रो राज्यको चरित्रमा फेरबदल आउनुपर्दछ। अहिले राज्यको सरकारमा कम्युनिस्ट पार्टी छ। तर, राज्यसत्ताको चरित्र बदलिएको छैन। सेनामा समाजवादी चिन्तन छैन, प्रहरीमा समाजवादी चिन्तन र संस्कृति छैन। कानूनमा पनि समाजवादी चरित्र देखिएको छैन। न्यायालय पूरानै ढर्रामा छ। यसलाई नबदलेसम्म समाजवादको आधार तयार पार्न सकिँदैन।’

नेता पोखरेलले एमसीसीलाई सामान्य अर्थमा बुझ्न नहुने बताए। उनले भने, ‘एमसीसी सामान्य कुरा होइन। विदेशीले दिएको अनुदान सबै एकै किसिमका हुँदैनन्। यो अलि फरक छ। एमसीसी इण्डोप्यासफिककै अंग हो। यो पास भयो भने हामी अमेरिकी छातामुनि जान्छ। यसले हाम्राे पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिलाई प्रभावित गर्दछ।’

एमसीसी स्वीकार गर्नु भनेको नेपालमाथिको बलात्कार हो’ नेता पोखरेलले भने, ‘कतिपय साथीहरु विदेशीलाई दिएको पैसा किन नलिने भन्दैछन्। यो राष्ट्रिय हित र स्वाधीनताका विरुद्ध छ। यसलाई स्वीकार गर्नु नेपाललाई बलात्कार गर्न दिनु हुनेछ।’

बनभोजमा नेकपाका केन्द्रीय सदस्य केशव नेपालले शिक्षकहरु राजनीतिक दलमा आवद्ध हुने प्रणालीका पक्षमा आफू रहेको बताए। उनले नेपालको राजनीतिक आन्दोलन शिक्षक आन्दोलनकै विकसित रुप भएको बताए।