नेकपा बैठक, समूहगत धारणा राख्ने क्रम सकियो

NCP_Nekapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय समितिको बैठकमा १५ वटै समूहका टोली नेताको धारणा, प्रतिकृया र सुझावहरु राख्ने क्रम शनिबार सकिएको छ। अहिले पार्टीका केन्द्रीय आगोगका पदाधिकारीले धारणा राख्ने क्रम जारी छ।

बैठकमा समूहगत रुपमा छलफल गरि आएका सुझावमा आइतबार नेकपाका दुवै अध्यक्षले धारणा राख्ने कार्यक्रम छ। शनिबार (आज)को बैठकमा अमेरिकी सहयोग एमसीसी, नेपाल-भारत सीमा विवाद, जनप्रतिनिधि तथा शीर्ष नेताको सम्पत्ति छानविन, पार्टीमा महिला सहभागिता, सरकारको कामकारबाही जनमूखी नभएको लगायत विषय एजेन्डा थियो।

बुधबार उद्घाटन भएको केन्द्रीय समितिमा बिहीबार १५ समूहमा केन्द्रीय सदस्यले छलफल गरेका थिए। बैठकमा अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन र महासचिवको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावबारे समूहगत छलफल सकिएपछि समूहका टोली नेताले समूहको तर्फबाट धारणा राखेका थिए।

सदस्यहरूले उठाएका यी विषयमाथि पार्टीका दुवै अध्यक्ष र शीर्ष नेताहरुले निष्कर्ष निकाल्ने छन्। १५ माघबाट सुरू भएको बैठक भोलि (आइतबार) सम्म जारी रहने छ।