चितवन प्रिमियर लिगमा माडी टाइगर्स विजयी

game
लोकपाटी न्यूज

चितवन, १८ माघ। सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा माडी टाइगर्स विजयी भएको छ। माडीले सौराहा स्याण्ड्सलाई पराजित गरेको हो।

सौराहाले दिएको ७० रनको लक्ष्य माडीले ११.२ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो। माडीका लागि राष्ट्रिय खेलाडी कृष्ण कार्कीले म्यान अफ दि म्याच चितवन टाइगर्सबाट प्राप्त गरे। उनले ४ ओभरमा १० रन दिएर ३ विकेट लिएका थिए। माडी किशोर महत्तो र सौराहा सन्तोष न्यौपानेको कप्तानीमा मैदानमा उत्रिएको हो।

यस अघि शुक्रबार सम्पन्न उद्घाटन खेलमा राइट एण्ड एसोसिएट भरतपुर गुर्खाज जीत हात पारेको थियो। भरतपुरले इच्छाकामना वारीयर्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो। २५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स , राप्ती र्‍यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागी टिमले दुई जना राष्ट्रिय खेलाडी (अण्डर १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ। प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ।

यस्तै विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन्। यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। चितवन क्रिकेट संघ सह आयोजक रहेको यस किसिमको लिग चितवनमै पहिलो पटक आयोजना भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्