विज्ञानलाई नचिन्ने देशले कहिल्यै प्रगति गर्दैन

Aabiskar subedi
उद्देश्य नराख्ने त्यो युरोनियमबाट आणविक ऊर्जामार्फत् विश्वकै शक्तिशाली राष्ट्र बन्न सक्छ नेपाल भनेर ? के नेपाली आविस्कारकारकहरुलाई मार्करबाट माथि उठेर मिसाइलसम्मको यात्रा तय गर्ने ईच्छाशक्ति नबढाउने ? यी र यस्ता बारम्बार बलात्कृत सवालहरुको खँदिलो उत्तर नपाएर भनौं या भविष्य नदेखेर नै आज विज्ञान प्रविधिप्रति रुचि राख्ने कैयौँ युवाहरु विदेशिन बाध्य छन्।
लाेकपाटी न्यूज

आविस्कार सुवेदी

नेपालको शैक्षिक क्षेत्रमा २०६० सम्मको ग्राफलाई हेर्दा एउटा छुट्टै ट्रेण्ड थियो। अलिकति राम्रो पढ्न सक्ने वा भनौं एसएलसीमा फस्ट डीभिजन ल्याएर विज्ञान पढेन भने समाजले उप्रति थोरै नै भए पनि असक्षमताको ट्याग लगाई दिइहाल्थ्यो। त्यो ट्रेण्डमा ७० को दशकसम्म आउँदा ठूलो छलाङ्ग देखियो, अथवा विज्ञानमा विद्यार्थीको फलो क्रमशः घट्यो।

अहिले पनि स्नातकसम्म स्थिति ठिकठिकै भए पनि स्नातकपछि विद्यार्थीले विज्ञानको विकल्प खोजेर डाइभर्जेन्स रेटलाई यसरी बढाइदिए कि नेपाललाई विज्ञान प्रविधिको क्षेत्रमा अर्को पचास वर्ष पछाडि पार्ने निश्चितप्रायः छ। नेपालको सन्दर्भमा विज्ञानप्रति आकर्षण घट्नु स्वभाविक रुपमा प्रष्ट छ कि विज्ञान पढेका आम अग्रजहरुको जीवन अन्योलग्रस्त छ। यही कटु सत्य बुझेर होला, पछिल्लो समय अस्ट्रेलिया, जापान लगायतका देशमा अधिकांश भाँडा माझ्नेहरु नेपालीहरुमा ‘प्लस–टु’वाला विज्ञानधारी विद्यार्थी छन्।

विश्वविद्यालयका चरम राजनीति, भागभण्डाका विरुद्ध न कोहीले दृढ आवाज उठाउन सके, न कसैले रोक्ने आँट नै गरे। रोक्छौँ भनेर बनेका सङ्गठन नै रोकियो भने हाम्रो अस्तित्व सकिन्छ भन्ने त्रासमा दलाल बन्न बाध्य भए। राजनीतिक आडमा छिरेका कैयौँ प्राध्यापकहरु निशर्त स्थायी हुनपर्ने माग राख्दै वर्षौसम्म झोलामा काला टाला र ताला बोकेर हिड्छन्, उता विदेशका नामुक युनिभर्सिटीबाट विद्यावारिधि गरेर आएकाहरु पार्टटाइम पनि नपाएर कि उतै फर्किन्छन्, या त भैंसीपालन र मौरीपालनसम्म रम्न विवश छन्।

यस्तो विकराल अवस्थामा दुई तिहाइको सरकार समस्या समाधानको सट्टा पाठ्यक्रममा छलाङ्ग मार्ने कोशिस गर्छ, त्यो पनि बिना बहस। के यस्तो संवेदनशील क्षेत्रमा राष्ट्रिय बहस आवश्यक छैन ? शिक्षा क्षेत्र देशको मेरुदण्ड हो, अझ विज्ञान त यो सबै चलाउने मस्तिष्क। सुन्दैछौँ परिमार्जित पाठ्यक्रमअनुसार सामाजिक शिक्षा, जनसङ्ख्या तथा वातावरणलाई अनिवार्य बनाउँदै छ, ठीकै छ नेपाली भएर जन्मेपछि नेपालको बारेमा जान्नैपर्छ र घोकाउनै पर्छ।

नेपाल सम्भावना बोकेको राष्ट्र हो। तर, यहाँ पाठ्यक्रमको डिजाइन यसरी गरियो कि ऐच्छिकभित्र हुनपर्ने अनिवार्यलाई समेत ऐच्छिक बनाइदिए। उदाहरणका लागि विज्ञानभित्रको बेसिक म्याथ शहिद बन्यो। आखिर कतिञ्जेलसम्म घोकाउने ती कलिला मस्तिष्कलाई मुस्ताङमा युरोनियम छ, उही ८३००० मेघावाट जलविद्युतको क्षमता र बहुभाषिक, बहुधार्मिक नेपाल भनेर ?

के अझै पनि उद्देश्य नराख्ने त्यो युरोनियमबाट आणविक ऊर्जामार्फत् विश्वकै शक्तिशाली राष्ट्र बन्न सक्छ नेपाल भनेर ? के नेपाली आविस्कारकारकहरुलाई मार्करबाट माथि उठेर मिसाइलसम्मको यात्रा तय गर्ने ईच्छाशक्ति नबढाउने ? यी र यस्ता बारम्बार बलात्कृत सवालहरुको खँदिलो उत्तर नपाएर भनौं या भविष्य नदेखेर नै आज विज्ञान प्रविधिप्रति रुचि राख्ने कैयौँ युवाहरु विदेशिन बाध्य छन्।

नेपाली समाजको यही ‘स्लो मोसन’को रुपान्तरणले परिवर्तन सम्भव छैन। तसर्थ सबै तह तप्काबाट एउटा क्वान्टम छलाङको लागी तयारी हुनु नै हामीले हाम्रा उत्तराधिकारीलाई दिने एउटा उत्कृष्ट उपहार हुन सक्ला। विज्ञानप्रति राष्ट्रहरु जति बफादार बने, त्यति नै छिटो छलाङ्ग मारे भने जति बेमतलवी बने, उति नै अधोगति लागे भन्ने कुरा बुझाउन कुनै अन्तर्राष्ट्रिय सम्मेलन गरिराख्नु पर्दैन।

प्रत्येक दिन आउने न्युजका हेडलाइन पढ्दा पर्याप्त हुन्छ । तसर्थ विज्ञानलाई सम्बन्धित निकाय सबैले सम्मान गरोस्, बिनाशर्त विज्ञान र त्यसका विज्ञलाई फिल्डमा उत्रने उचित ऊर्जा मिलाउने हो भने मात्र अहिले बजारमा घन्किएको समृद्धको नाराले सार्थकता पाउन सक्ला कि ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्