काठमाडौं। भारतले न्युजिल्यान्डलाई दुई दिनको अन्तरमा दोस्रोपटक सुपर ओभरमा हराएको छ। पाँच खेलको टी–२० क्रिकेट सिरिजमा भारतले ४–० को अग्रता लिएको छ। पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा आठ विकेट गुमाएर १६५ रन बनाएको थियो। प्रत्युत्तरमा न्युजिल्यान्डले २० ओभरमा सात विकेटको क्षतिमा १६५ नै रन जोड्यो।
सुपर ओभरमा पनि भारतले नै पहिलो ब्याटिङ गर्यो। भारतले एक विकेट गुमाएर १६ रन बनायो। न्युजिल्यान्डले सुपर ओभरमा एक विकेटको क्षतिमा १३ रन मात्र बनाउँदा भारतले तीन रनको रोमाञ्चक जित निकाल्यो। अब भारतको नजर न्युजिल्यान्डमाथि ५–० को ह्वाइटवास गर्नेतर्फ छ।
यसअघि २० ओभरको निर्धारित खेलमा भारतका लागि मनीष पाण्डेले सर्वाधिक ५० रन योगदान दिएका थिए। उनले ३६ बलमा तीन चौका प्रहार गरेका थिए। भारतका ओपनर लोकेश राहुलले २६ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३९ रन बनाएका थिए। यसैगरी, न्युजिल्यान्डको बलिङमा इस सोधीले घातक बलिङ गरे। उनले २६ रन खर्चेर भारतका चार ब्याट्सम्यानलाई आउट पारे।
न्युजिल्यान्डका लागि कोलिन मुन्रो र टिम सेफेर्टले उत्कृष्ट ब्याटिङ गरेका थिए। दुवै ब्याट्सम्यानले दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई जितको आशा दिलाए। भारतीय कप्तान विराट कोहलीले मुन्रोलाई सीधा थ्रोमा रनआउट पारे।
सेफेर्ट इनिङ्सको १९.३ ओभरमा राहुलबाट रनआउट हुँदा पनि न्युजिल्यान्डले लक्ष्य पार गर्न नसकेको हो। मुन्रोले ४७ बलमा ६ चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ६४ रन जोडे। यसैगरी, सेफेर्टले चार चौका र तीन छक्काको सहयोगमा ५७ रन योगदान दिए।