इतिहास : ‘खस र आर्य एउटै जाति होइनन्’

Dharma khas aarya
खसहरु बलि प्रथाका समर्थक हुन्। तर आर्यहरु होइनन्। आर्यहरु पूर्वजन्म तथा पुनर्जन्ममा विश्वास राख्दछन्। तर, खसहरु यस कुरालाई विश्वास गर्दैनन्। खसहरु अवैदिक हुन्। खसहरुलाई आफ्नो कुलपूजा गर्दा पुरोहितको आवश्यकता पर्दैन। खसहरु पितृपूजक, प्रकृतिपूजक, मस्टोपूजक र धामी संस्कृतिका पक्षपाती हुन्। त्यसैले खसक्षत्रीहरुलाई र आर्यहरुलाई एउटै ’खस–आर्य’को टोकरीमा राख्न मिल्दैन।
  • 471
    Shares
लाेकपाटी न्यूज

– कृष्ण बहादुर थापा

पौराणिक कालदेखि उत्पीडनमा परेको एकमात्र जाति खस हो। खसहरुलाई बाल्हिक देशमा बसेको हुनाले महाभारत ग्रन्थमा ‘अपवित्र’ भनि निन्दा गरिएको छ भने मनुस्मृतिमा “व्रात्य”, जसको अर्थ अयोग्य तथा भ्रष्ट हुन्छ भनिएको छ, त्यसको साथसाथै “वृषल” जसको अर्थ जातिच्युत हुन्छ पनि भनिएको छ।

महाभारत ग्रन्थमा लेखिएको श्लोक निम्नानुसार छ – “बहिष्कृता हिमवता गङ्गया च बहिष्कृता। सरस्वत्या यमुनया कुरूक्षेत्रेण चापि ये।। पंचाना सिन्धु पष्टानां नदीनां येअन्तराश्रिताः।।। तान् धर्मवाह्यान् शुचीन् वाहीकांनपि वर्जयेत्।।।।’’ (हिमालय, गङ्गा, सरस्वती, यमुना र कुरुक्षेत्रको सीमा भन्दा बाहिर तथा सतलज, व्यास, रावी, चिनाव, झेलम समेत पाँच र छैटौं सिन्धु नदीको बिचमा अवस्थित बाल्हिक प्रदेशहरु धर्मबाह्य र अपवित्र छन्। यिनीहरुलाई पनि त्याग गर्नुपर्छ।) – महाभारत (८ : ४४ : ६ र ७।)”

प्रसङ्गहरुले खसहरु एउटा पृथक जाति भएको पुष्टि गर्छ। प्राचिन धार्मिक ग्रन्थहरु रामायण, महाभारत तथा पुराणहरुले खसहरुलाई बेग्लै जातिको रुपमा उल्लेख गरेका छन्। प्राचिन धार्मिक ग्रन्थहरु रामायण, महाभारत तथा पुराणहरुलाई विश्वका सम्पूर्ण हिन्दूहरुले सत्य तथ्य घटनामा आधारित भएको मान्दछन्। मनुस्मृतिमा लेखिएको श्लोकहरु निम्नअनुसार छः– “झल्लो मल्लश्च राजन्याद् व्रात्यान्निच्छिविरेबच। नटश्च करणश्चैव खसो द्रविड एव च।।’’

(झल्ल, मल्ल, नट, करण, खस र द्रविड हरुलाई व्रात्य (भ्रष्ट) भनिएको छ। मनुस्मृति (१० : २२)” – “शनकैस्तु क्रिया लोपादिमा स् क्षत्रीय जातयः। वृषलत्वां गता लोके ब्रह्मण दर्शनेनच।। पौण्डृकाश्चौडृ द्रविडा : काम्बोजा यवना : शका।।। पारदा पल्हवाश्चीना : किराता दरदा : खशा।।।।’ (ब्राह्मण दर्शन नमानेकाले पौण्डृक, द्रविड, यवन, शक, पारद, पल्हव, चीन, किरात, दरद, खश आदि क्षत्रिय जाति विस्तारै वृषल (जातिच्युत) भए। मनुस्मृति (१० : ४३ र ४४।)”

यसै सन्दर्भमा इतिहासकार सूर्यमणि अधिकारीले निम्नअनुसार टिप्पणी गर्नुभएको छ – “खसहरुले जाति व्यवस्था अपनाएका थिएनन्, त्यसैले उनीहरुलाई वृषल (जातिच्युत) भन्न मिल्दैन। अरुलाई तिरस्कार गर्ने वैदिक (आर्य अहंकारको यो उदाहरण हो (अधिकारी, सूर्यमणि : वि.स. २०६१ : पृ. २९)।” यसै कुरालाई अधिकारी, विपिनले पुष्टि गर्दै निम्नानुसार लेख्नुभएको छः– “खस जाति गएको दुई हजार वर्षको अधिकांश कालखण्ड जनजातिको रुपमा रहेको थियो। उनीहरुमा कुनै प्रकारको जातिगत कट्टरता भएको इतिहासले देखाउँदैन। (अधिकारी, बिपिन : वि.स. २०६८ : पृ. ८।)”

खसको उल्लेख प्राचीन धार्मिक ग्रन्थहरुमा, पुराणहरुमा, साहित्य तथा इतिहासमा आर्यसँग नजोडिएको पढ्न पाइन्छ। प्रायजसो प्राचीन धार्मिक ग्रन्थहरुमा तथा पुराणहरुमा खसहरुलाई असभ्य, पापी तथा जातिच्युत भन्दै अपमानित गरेर लेखिएका धेरै प्रसङ्गहरु पढ्न पाइन्छ, जसका केही उदाहरणहरु निम्नानुसार छन् – “ब्रह्मपुराणमा खसहरुलाई प्राचिन जनपदहरुको सूचीमा राख्दै खस राज्यको नाम समेत वर्णन गरिएको छ। त्यो खस राज्य एउटा पर्वतीय राज्य भएको र तत्कालिन समयमा ‘भुवनकोष’ मानिने भूखण्डको एउटा हिस्सा मानिएको छ। “अतोदेशान, प्रवक्ष्यामि पर्वतश्रयिनाश्च्ये। निहारा हंसभार्गाश्च कुरभे तुंगनः खशः।।’’ (ब्रह्मपुराण (२७ : ६२ र ६३।)

“मत्स्यपुराणमा सीता नदी खसहरुको भूमिबाट बगेको वर्णन छ। सो नदीको उद्गम पश्चिम चीनको सिन्जियाङ प्रान्तबाट सुरु भएको छ र यसलाई यारकण्ड नदी भनिन्छ (अधिकारी, बिपिन : वि.स. २०६८ : पृ. ४१।)” मार्ककण्डेय पुराणमा खसहरुलाई उदिच्य वा उत्तर क्षेत्रको जातिहरुमध्ये एक हो भनि उल्लेख गरिएको छ। त्यस्तै किसिमले श्रीमद्भागवत महापुराणमा खस जातिलाई किराँत, हुण, यवन र आर्य संस्कृति नमान्ने पापीहरुको सूचीमा राखिएको छ (क्षत्री, डी.बि. : वि.स. २०७० : पृ. २३)।

एकन्दपुराणमा अन्ध, हुण, किराँत, पुलिन्दास, पुक्काश, आभिर, यवन, कन्क आदिका साथ खसहरुलाई उल्लेख गर्दै यी जातिहरुलाई पापी गर्भाशयबाट जन्मेका हुन् भन्दै इश्वरको शरणमा परी आफूलाई चोख्याउन सक्छन् भनि बाटो सुझाइएको पनि देखिन्छ। (ऐजन : वि.स. २०७० : पृ. २४।) वायुपुराणमा कलियुगको अन्त्यमा खसहरु, शक, यवन, गान्धार, कात, पुलिन्दान, पारद, लम्पक आदि जाति हरुलाई सिध्याइने घोषणा गरिएको छ। त्यस्तै बृहदसंहिता (ई.पु. ५०० वर्षअघि लेखिएको) मा खसहरुलाई अभिसार, दरद, दर्व, किराँतहरुसंग जोडेर लेखिएको छ (ऐजन : वि.स. २०७० : पृ. २४।)

उपरोक्त लेखिएका प्रसङ्गहरुले खसहरु एउटा पृथक जाति भएको पुष्टि गर्छ। प्राचीन धार्मिक ग्रन्थहरु रामायण, महाभारत तथा पुराणहरुले खसहरुलाई बेग्लै जातिको रुपमा उल्लेख गरेका छन्। प्राचीन धार्मिक ग्रन्थहरु रामायण, महाभारत तथा पुराणहरुलाई विश्वका सम्पूर्ण हिन्दूहरुले सत्य तथ्य घटनामा आधारित भएको मान्दछन्। कि त उनीहरुले धार्मिक ग्रन्थहरु रामायण, महाभारत तथा पुराणहरुलाई असत्य, मिथ्या र काल्पनिक हो भन्न सक्नुपर्‍यो अन्यथा खस एउटा छुट्टै अस्तित्व बोकेको प्राचीन जातिको रुपमा स्वीकार गर्नुपर्‍यो। (थापा, के.बि. : सन् २०१७ : पृ. १५६।) वायुपुराणमा कलियुगको अन्त्यमा खसहरु, शक, यवन, गान्धार, कात, पुलिन्दान, पारद, लम्पक आदि जातिहरुलाई सिध्याइने घोषणा गरिएको छ।

उपरोक्त प्रसङ्गहरुलाई शाक्य, केशवमानले पनि आफ्नो कार्यपत्रमा निम्नानुसार पुष्टि गर्नुभएको छ – “ईशापूर्व दोस्रो शताब्दीतिर रचिएको मनुस्मृतिमा झल्ल, मल्ल, नट, करण, खस र द्रविडहरुलाई व्रात्य क्षत्रीय भनिएबाट यिनीहरुलाई तल्लो दर्जाको क्षेत्रीको मान्यता दिइएको बुझिएको छ। ब्रतबन्ध संस्कारका लागि अयोग्य तथा गायत्री जप नगर्ने भ्रष्ट क्षत्रियहरुलाई ब्रात्य भनिन्छ भनेर मनुस्मृतिमा परिभाषित गरिएको छ। मनुस्मृतिमा खसहरुलाई कहीं वृषल (शुद्र) भएका क्षत्रीय पनि भनेका छन्। (शाक्य, के. : वि.स. २०६६ : पृ. ३ र ४।)”

इतिहासकारहरुले पनि आफ्ना पुस्तकहरुमा खस पृथक जाति भएको वर्णन गरेका छन्। इतिहासकार रामनिवास पाण्डेले आफ्नो पुस्तकमा निम्नानुसार लेख्नुभएको छ – “सिन्धु घाटी सभ्यताबाट विस्थापित भएका आर्यहरु, किराँतहरु, खसहरु, तिब्बत–मंगोलियन मूलका जातिहरु तथा राजपूतहरु हिमालय भेगतिर पाइन्छ। (पाण्डे, आर.एन. : सन् १९९७ : पृ. २३।)”

अर्का नामी इतिहासकार हेमिल्टनले पनि निम्नानुसार वर्णन गर्नुभएको छ – “पश्चिम हिमालय भेगका वास्तविक बासिन्दाहरु हिमाली क्षेत्रमा नै बस्ने जातिहरु थिए र खस भन्ने शब्द हिमालय भूभागतिर बस्ने जनजातिबाट आएको हो, जसलाई मैदानी इलाकाबाट आएका आक्रमणकारीहरुले संहार गरे। (हेमिल्टन, एफ.बि. : सन् १८१९ : पृ. २५।)” अर्का प्रसिद्ध इतिहासकार इमानसिंह चेम्जोंगले “कश्मीरदेखि त्रिशुली नदीसम्मको भूभाग ‘खस भूमि’ थियो र त्यहाँका बासिन्दाहरु खस थिए। (चेम्जोंग, इ. : सन् १९४८ : पृ. २३९।)”

प्रसिद्ध इतिहासकार एटकिन्सनले आफ्नो पुस्तकमा निम्नानुसार वर्णन गर्नुभएको छ – “उत्तरी हिमालयमा दरद, कस्मिरा, काम्बोजा, गान्धरा, चीना, शक, यवन, हुण तथा खसहरु बसोबास गर्दथे। नागा, किराँत तथा खसहरु उत्तरी हिमालयमा त्यही बाटोबाट प्रवेश गरे, जहाँबाट आर्यहरु आएका थिए भन्ने प्रशस्त आधारहरु छन्। किराँतहरु पहिला आए, त्यसपछि नागाहरु अनि त्यसपछि खसहरु आए। एटकिन्सनले स्पष्ट रुपमा खस र आर्य दुइवटा बेग्लै नश्लका हुन् भनि लेख्नुभएको छ। (एटकिन्सन, इ.टि. : सन् १९९० : पृ. ३६३।)”

प्रख्यात इतिहासकार प्रा.डा. सुरेन्द्र के.सी.ले आफ्नो लेख ‘नेपालको जातीय प्रश्न र अहिलेका चुनौती’मा स्पष्ट रुपले “खस–आर्य समानान्तर हुन् कि पृथक ? भन्ने शीर्षकअन्तर्गत निम्न सत्य तथ्य कुराहरुको वर्णन गर्नुभएको छ – आर्यहरु हिन्दू पूजाविधि र संस्कार–संस्कृतिका उपासक थिए भने खसहरु प्रकृति र मष्टोपूजक धामी परम्पराका उपासक थिए। जसको आफ्नै भाषा, भेग, मस्टो धर्म, धामी संस्कार र इतिहास छ र महत्वपूर्ण कुरा तिनीहरु मद पनि ग्रहण गर्ने भई मतवाली खस क्षत्री पनि कहलिन्थे।

“देशको समग्र इतिहास हेर्दा आर्य र खस समानार्थी होइनन्, बेग्लाबेग्लै हुन्। यसरी नै तिनको नेपाल आगमन प्रक्रिया पनि बेग्लाबेग्लै कालावधि र प्रक्रियाबाट सम्पन्न भएको देखिन्छ। आर्य (वस्तुतः क्षत्री–ब्राह्मण) कम्तिमा इश्वीको आरम्भिक शताब्दीमा काठमाडौँ उपत्यका छिरे भने खसहरु पाँचौं/छैटौं शताब्दीतिर मात्र कर्णाली उपत्यकामा प्रवेश गरे। समयक्रममा अघिल्लोले उपत्यकामा लिच्छवी वंशको आर्य सभ्यता निर्माण गरे भने खसहरुले सुदूरपश्चिममा बिशाल खस साम्राज्यको जग बसाले। आर्यहरु हिन्दू पूजाविधि र संस्कार/संस्कृतिका उपासक थिए भने खसहरु प्रकृति र मष्टोपूजक धामी परम्पराका उपासक थिए। जसको आफ्नै भाषा, भेग, मस्टो धर्म, धामी संस्कार र इतिहास छ र महत्वपूर्ण कुरा तिनीहरु मद पनि ग्रहण गर्ने भई मतवाली खस क्षत्री पनि कहलिन्थे।

समय क्रममा विशाल खस साम्राज्य बाइसे र चौबीसे राज्यमा विखण्डित भयो भने यस हिमाली भूभागमा हिन्दूकरणको प्रक्रिया तीव्र बन्यो। यही कुरा भाषा र धर्मको हकमा पनि तीव्र बन्यो। कालान्तरमा यी दुई समूहबीचको लक्ष्मणरेखा नै मेटिन जाँदा आजको स्थिति उत्पन्न भएको हो। प्राचीनताको दृष्टिले निश्चय नै क्षत्री–ब्राह्मण (आर्य) सर्वप्राचीन अर्थात् किरातपछिको समूह देखिन्छ। तर, यसको तात्पर्य आर्य र खस एउटै वा समानान्तर समूह हुन् भन्ने चाहिँ सत्य नजिक देखिन्न। यस्तोमा राज्यमा सहभागिताको सन्दर्भमा यिनलाई एउटै ’खस–आर्य’को टोकरीमा नराखी पृथक खस क्षत्री र ब्राह्मणको श्रेणीमा राखेर समावेशीताको पृथक मापदण्ड अपनाउनुपर्ने देखिन्छ। व्यवहारिकतामा जाँदा खस र क्षत्रीलाई एकै ठाउँमा राखे पनि खस–आर्यलाई चाहिँ कदापि एउटै टोकरीमा राख्नु उचित हुने छैन। यसको तात्पर्य सेवाका सम्पूर्ण तहमा खस–क्षत्री १६.५९ प्रतिशत अनि ब्राह्मण १२.१७ प्रतिशत, टन्टै साफ। (के.सी. सुरेन्द्र : वि.स. २०७४ : पृष्ठ १२ र १३।)”

खस र आर्य समानार्थी होइनन्, बेग्लाबेग्लै हुन् भन्ने कुरालाई पुष्टि गर्दै लेखक दिगमबहादुर बस्नेतले आफ्नो लेख “खास नै खस“ शीर्षकअन्तर्गत निम्नानुसार वर्णन गर्नुभएको छ – “नेपालका जनजातिहरुमा खस बहादुर जनजाति थिए भन्ने कुरामा कुनै शंका गर्ने ठाउँ छैन। खस जाति पनि अरु जनजातिजस्तै एक जनजाति हुन् किनकि यस जातिको आफ्नो भाषा, मस्टो धर्म, धामी संस्कृति र छुट्टै भौगोलिक भूभाग छ। दक्षिणतर्फबाट विस्थापित भई आएका हिन्दूहरु पहिले खस जातिको शरणमा आए भन्ने इतिहासकारहरुको भनाई छ। दक्षिणतर्फबाट विस्थापित भई आएका बाहुन र अन्य जातका मानिसहरुले साथमा दक्षिणमा प्रचलित धर्म र संस्कृति पनि लिई आएका थिए।

यिनले त्यसबेला खस जातिमा भएको बहादुरी, बुद्धि र विवेकलाई हेरी यो जातिलाई हात नलिई खसान प्रदेशमा आफ्नो बसाइँ सुरक्षित नहुने बुझे। यसैले खस जातिका अगुवाहरुलाई जनै दिई क्षत्री बनाए। यसप्रकार खस जाति पनि दुई भागमा विभाजित भयो। तागाधारी र मतवाली, अब तागाधारी खसले मतवाली खससँग वैवाहिक सम्बन्ध नराख्ने भयो र तागाधारी मतवालीले बनाएको खाना नखाने र मतवालीलाई शुद्रको रुपमा स्वीकार गर्ने परिपाटी भयो। त्यसबेला देखि खसान प्रदेशमा पनि जाति प्रथाको विजारोपण भयो। यो राष्ट्रिय एकताका निम्ति ठूलो बाधक बन्यो। यसरी सदियौंदेखि हिमालको शुद्ध हावा चलेको पहाडी प्रदेशमा जातिपातिको विभाजन पस्यो।

नेपालमा दसौं शताब्दीपछि मात्र खस र आर्य हिन्दूहरुमा सम्मिश्रण भएको हो र वैदिक आर्यसँगको मिश्रणपश्चात् खस जातिका प्रायजसो मानिसहरुले हिन्दू धर्म अपनाउन बाध्य भए। खस र वैदिक आर्यबीच लामो संघर्ष भएको कुरा रामायण, महाभारत तथा पुराणहरु आदिमा उल्लेखित छ। त्यसैले खसलाई आर्य भन्नु इतिहासलाई बिर्सनु र बंग्याउनु हो। दसौं शताब्दीपछिको समयमा नेपालमा संस्कृतिकरण (हिन्दूकरण) गर्ने प्रक्रिया शासकहरुबाट लादियो, जुन कुराको उल्लेख डोर बहादुर बिष्ट लगायतका विद्वानहरुले लेख्दै आएका छन्। यसै संस्कृतिकरण (हिन्दूकरण) गर्ने प्रक्रियाबाट खसहरुले हिन्दुधर्म अपनाउनु बाध्य भए र हिन्दूकरण हुँदै गए, जुन सत्य हो। तर यसको अर्थ उनीहरु आर्य हुन् भनि सोच्नु भ्रामिक हो।

नेपालमा सुरुवातका दिनहरुमा शासन गर्ने गोपालवंश, महिषपालवंश तथा लिच्छविवंशहरुको अस्तित्व नै लोप भइसकेको छ। यसका साथै तिरुहुते कर्नाटकवंशहरुको समेत अस्तित्व लोप हुन् लागेको परिस्थितिमा खसक्षत्रीहरुको पनि आफ्नो अस्तित्व संकटमा परेको छ। त्यसैले सबै खसक्षत्रीहरु एकताबद्ध भई आफ्नो पहिचानलाइ जोगाउन संघर्षरत रहनुपर्ने बेला आएको छ। नेपालमा खस साम्राज्य स्थापना भएको करीब एकसय वर्षपछि वैदिक आर्यहरुको नेपाल प्रवेश भएको इतिहास हुँदाहुँदै पनि खस जातिलाइ आर्यको छाप लगाउने प्रक्रिया भएको छ। खस साम्राज्य स्थापना भएको करीब एकसय वर्षपछि वैदिक आर्यहरुको नेपाल प्रवेश भएपश्चात् आर्यहरुको मंगोल मूलका जाति एवं खस जातिसँग सम्मिश्रण भई घूलित हुनेलाई खसेको भन्ने परम्परा आर्यबाट सुरु भएपछि धेरै भ्रम पैदा भएको हो (बस्नेत, दि. : वि.स. २०७४ : पृष्ठ ३३ र ३४।)”

आर्य र खस समानार्थी होइनन्, बेग्लाबेग्लै हुन् किनकि खसहरु बलि प्रथाका समर्थक हुन्। तर आर्यहरु होइनन्। आर्यहरु पूर्वजन्म तथा पुनर्जन्ममा विश्वास राख्दछन्। तर, खसहरु यस कुरालाई विश्वास गर्दैनन्। खसहरु अवैदिक हुन्। खसहरुलाई आफ्नो कुलपूजा गर्दा पुरोहितको आवश्यकता पर्दैन। खसहरु पितृपूजक, प्रकृतिपूजक, मस्टो पूजक र धामी संस्कृतिका पक्षपाती हुन्। त्यसैले खसक्षत्रीहरुलाई र आर्यहरुलाई एउटै ’खस–आर्य’को टोकरीमा राख्नु उचित देखिँदैन। विश्वव्यापी मान्यता पाएको समावेशिताको प्रणालीलाई मध्यनजर गर्दा राज्यमा सहभागिता, पढाई, जागिर तथा पदोन्नति आदि कुरामा खसक्षत्रीहरुको आफ्नो जनसंख्याअनुसारको भाग पाउनु उनीहरुको अधिकार हो। बिगतमा उनीहरुको भाग (अधिकार) माथि जति चलखेल गरिए तापनि अब उप्रान्त गरिनु हुँदैन। कुनै जाति विशेषलाई अन्याय गर्नु तथा उत्पीडनमा पार्नु जस्तो कूकार्य गरेर राष्ट्रिय एकतालाई बिथोल्ने काम हितकर हुँदैन।

(लेखक : कृष्ण बहादुर थापा विद्यावारिधि अध्ययनरत हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्