काठमाडौं। नेकपा सचिवालय बैठकको निर्णय सच्याउन पार्टी केन्द्रीय समितिको बैठकमा माग उठेको छ। पार्टीको विधानविपरित नेता रघुवीर महासेठलाई स्थायी कमिटी सदस्य मनोनित गरिएको भन्दै उक्त निर्णय सच्याउन माग गरिएको हो।
केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य श्रीप्रसाद साहले महासेठलाई स्थायी कमिटी सदस्यमा मनोनयन गर्दा विधानको पालना नभएको दावी गर्दै जारी केन्द्रीय समिति बैठकमा उजुरी दिएका हुन्। विधान विपरीत महासेठलाई स्थायी समिति सदस्यमा मनोनयन गरिएपछि प्रदेश २ मा नेता–कार्यकर्ताले पार्टी शिर्ष नेतृत्व समक्ष मौखिक उजुरी दिएको स्मरण गर्दै नेता साहले अवैधानिक निर्णयलाई नसच्याएर अपमानित गरेको समेत बताएका छन्।
केन्द्रीय समिति बैठकमा दर्ज गरेको उजुरीमा उनले भनेका छन्, ‘पार्टी विधानको धारा ३४ (ख)मा केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्य हुन कम्तिमा एक कार्यकाल पोलिटब्यूरो सदस्य हुनुपर्ने छ भन्ने स्पष्ट व्यवस्था रहेको छ। त्यस विपरित महासेठलाई स्थायी कमिटीमा राखिएको छ।’
साहले लिखित निवेदनमा भनेका छन्, ‘रघुवीर महासेठ आफ्नो राजनीतिक जीवनमा एक पटकमात्र आठौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो भने, दुई पटक मनोनितसम्म हुनु भएको हो, कहीँ कुनै कम्युनिस्ट घटकमा अहिलेसम्म उहाँ पोलिटब्यूरो सदस्यको जिम्मेवारी प्राप्त गर्नुभएको छैन।’
उनले हाल चलिरहेको पार्टी केन्द्रीय समितिको बैठकबाट अवैधानिक निर्णयको अनुमोदन रोक्का गरी निर्णय सच्याउँदै अन्तरिम विधान २०७५ को रक्षा एवं पूर्ण कार्यान्वयनका लागि माग गरेका छन्।