आर्थिक उन्नतीका लागि पूर्वाधारमा लगानी आवश्यक : मल्ल

r malla
लोकपाटी न्यूज

गल्याङ, १९ माघ। नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपालमा आर्थिक उन्नतीका लागि कृषि, पर्यटन र जलविद्युत पूर्वाधारमा लगानी आवश्यक रहेको बताउँदै स्याङजा जिल्ला कृषिको लागि उपयुक्त स्थान भएको हुँदा सिंचाईको उचित प्रबन्ध गर्नु आवश्यक रहेको बताएका छन्। गल्याङ चेम्बर अफ कमर्सद्वारा आयोजित कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार महोत्सव २०७६ का प्रमूखअतिथि राजेन्द्र मल्लले कार्यक्रमको समुद्घाटन गर्दै यस्तो बताएका हुन्।

दुई तिहाई जनसंख्या कृषिमा आधारित रहेको हुदाँ देशलाई आवश्यक पर्ने करिव चालिस लाख टन चामलमा ३० लाख टनमात्र उत्पादन भइरहेकोमा यसमा आत्मनिर्भर हुने गरी कार्य गर्नु पर्ने आवश्यकता रहेको औंल्याए। मल्लले स्याङजामा कृषिको लागि आवश्यक माटो परिक्षण, कृषि विशेषज्ञको सेवा, कृषि कलेजको स्थापना, सहुलियतपूर्ण पाँच प्रतिशत दरमा कृषि ऋणको सहज उपलब्धता तथा उत्पादनमूखि कानूनी सुधारमा तत्काल जोड दिनु पर्ने बताए।

उक्त अवसरमा गल्याङ नगरपालिकाका उपमेयर तथा कार्यक्रमका विशेष अतिथि देवीसरा थापाले गल्याङमा चेम्बरको स्थापनाले नगरको विकास कार्यमा सहयोगि भूमिका निर्वाह हुने विश्वास व्यक्त गरिन्। गल्याङ चेम्बर अफकमर्सका अध्यक्ष तथा कार्यक्रमका सभापति गंगा प्रसाद श्रेष्ठले चेम्बरले गरेका कार्यक्रमहरु र भावी कार्यक्रमबारे जानकारी दिँदै यस महोत्सवले स्थानीय स्तरका उद्यमीले उत्पादन गरेका मालवस्तुको बजारीकरणको अवसर प्राप्त हुने र यसबाट उद्यमीहरुमा थप प्रेरणा र उत्साह आउने बताए। करिव एक लाख पचास हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको सो महोत्सवमा कृषि, पर्यटन, संस्कृती, व्यापारीक गरी करिव एक सय पचास स्टल रहेको छ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका सदस्यद्वय यदुनाथ अधिकारी, भाइचन्द्र श्रेष्ठ र छिमेकी जिल्ला चेम्बरहरुका अध्यक्ष, पदाधिकारी प्रतिनिधिहरु, नेपाल सरकारका स्थानीय निकायका प्रतिनिधिहरु, उद्यमी व्यावसायी एवं उपभोक्ताहरुले मनतव्य राखेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्