डियर कमरेडको आकर्षण

Achyutshali Ghimire
लोकपाटी न्यूज

काठमाडौं। विजय देवकोण्डा र रश्मिका मन्दन्नद्वारा अभिनित दक्षिण भारतीय फिल्मको हिन्दी डब डियर कमरेड अहिले नेपालमा निकै नै चर्चामा छ। भारत कम्माद्वारा निर्देशित यस फिल्म नेपाल ट्रेन्डिङको नम्बर १ मा अझै परिराख्नुले पनि यसको चर्चाले सामाजिक सञ्जाल तातिएको छ।

अर्जुन रेड्डीुमा समेत अभिनय गरेका अभिनेता विजय देवकोन्डाको नेपालमा अत्यधिक फ्यान रहेको कुराले मात्र होइन फिल्मको कथा वस्तु र कलाकृतीले नै दर्शकलाई तानिरहेको कुरालाई नकार्न सकिँदैन। दक्षिण भारतीय फिल्महरु मनोरञ्जनका लागि मात्र हुन्छन् ,सन्देश प्रदायक हुन्न भन्नेहरुका लागि गतिलो पाठसहितको मिश्रण बनेर यो फिल्म आएको छ।

विजय अर्थात् बब्बी आफ्नो क्याम्पसको विद्यार्थी युनियनको नेताका रुपमा देखिएका छन् भने रश्मिका अर्थात लिली क्रिकेट खेलाडीका रुपमा देखिएकी छिन्। क्याम्पसमा हुने गरेका विद्यार्थी माथिको शोषण र ज्यादतीविरुद्ध आवाज उठाउने पात्रका रुपमा सुरुवाती चरणमा देखा पर्छन् बब्बी।

जसलाई प्रेरणाका स्रोत कमरेडका रुपमा खडा गरेका छन् निर्देशकले। तर बब्बी निकै आक्रामक र रिसाहा देखिन्छन्। जसका कारण नै बब्बी र लिलीको प्रेम फक्रन नपाउदै ओइलाउछ। सायद जता पनि झगडा गर्न उत्तिकै अग्रसर हुने र सुध्रिने आँट नगर्ने बब्बीको प्रेमबाट विछोडिनु लिलीका लागि सजिलो कुरा भने थिएन।

विछोडका क्षणहरुबाट मुक्त हुन बब्बीले अनुकरण गरेका प्राकृतिक उपायहरु साच्चै नै मार्गदर्शक छन्। तर जब एक दिन अस्पतालमा लिलीसँग बब्बीको अचानक भेट हुन्छ, लिलीले क्रिकेट खेल्न छाडेको कुरा बब्बीले थाहा पाएपछि फिल्मले अर्को मोड लिन्छ। दुर्घटनाको बाहानामा लिलीको परिवारले लिलीमाथि भएको यौन दुव्र्यवहारलाई ढाकछोप गरेता पनि बब्बी यसको कारण पत्ता लगाउन सफल नै हुन्छन्।

मानसिक समस्याबाट ग्रसित रहेकी लिलीलाई बब्बीले गरेको प्राकृतिक विचरण र लिलीमाथि भएको यौन दुव्र्यवहारविरुद्ध आवाज उठाउन गरेको प्रेरणायुक्त संवादहरु निकै नै उत्साहवर्धक छन्। क्षमतावान हुँदा हुँदै पनि राष्ट्रिय टिममा पर्न नसक्नु लिलीका लागि दुःखद थियो नै त्यसमाथि भए गरेका घटनालाई उकास्दा झनै बदनाम हुने भयले गुपचप बसेको अवस्थामा साच्चै नै बब्बीको उपस्थिति असली कमरेडको रुपमा भएको छ।

कसरी सुखद सन्देश दिएर अन्तिममा फिल्मले रोचक मोड लिन्छ भन्ने जान्नलाई एकचोटी अवश्य फिल्म चाही हेर्नै पर्छ। भारत र नेपालमा यौनजन्य दुर्व्यवहारबाट युवतीहरु पीडित रहेको दृष्टान्त नयाँ होइन। शक्तिको आडमा नारीको सौन्दर्यलाई भोगको निमित्त सम्झने नीचापनको सूचक हो।

जब नारीजातिको सतीत्वको कदर हुँदैन तब दुनियाँ अँध्यारो भूमरीमा फस्छ। धाक, रवाफ र पैसाको डरलाग्दो नियममा फसाएर नारीलाई अत्याचारको शिकार बनाउन लागि परेका बलिया साँढाहरुलाई गतिलो जवाफ लिएर आएको छ। फिल्म डियर कमरेड। कमरेड, एउटा राजनीतिक पृष्ठभूमिसँग जोडिएको उपनाम हुन् सक्छ। तर समाजमा अन्याय अत्याचार बढ्दा नविन प्राप्तिका लागि जो कसैले गरको यावत संघर्षलाई समेटेर उसलाई कमरेडको नामले चिन्न सकिने कुरालाई फिल्मले प्रष्ट्याएको छ।

बब्बी यस्तो समाजको पात्र हो जसको चमत्कार होस्युक्त मानव चैतन्य जागृत गर्ने कार्यमा तैनाथ देखिन्छ।यो पात्र भूमिका विहिन र निष्कर्ष विहिन छ, जसको नाम कर्मद्वारा झल्किन्छ। बहादुरीको आत्मप्रदर्शन र दिव्य प्रेमको ज्वलन्त उदाहरण बनेर कमरेड पर्दामा त झल्किएका छन् तर के साच्चै यथार्थ दुनियाँमा समर्पणको भावमा धर्म र सत्यको पथमा अघि बढ्ने कमरेडहरु होलान् त ? सामाजिक घटनाक्रमसँगै प्रेम, विछोड, एक्सनसहितका मसलाहरुले फिल्म भरिएको छ। प्रेम भावना र आकर्षणको खेल मात्र होइन प्रेमलाई प्रेरणायुक्त क्रियाहरु जन्माउने मीठो संयोगका रुपमासमेत आजको नवसमाजले बुझ्नुपर्ने यथार्थलाई फिल्मले जोड दिएको छ।

भावनासँग विचार र विचारसँग मनोवैज्ञानिक बहस जोडिएको हुन्छ जसले समाजलाई नै उज्यालोको बाटोमा दोहोर्‍याउन सक्छ। जस्तै बब्बीले लिली मानसिक रुपमा अस्वस्थ हुँदा दिएको पर्यावरणीय उपचार र यौन दुव्र्यवहारविरुद्ध आवाज उठाउन दिएको प्रेरणालाई प्रेमका अनेकौं हांगाका रुपमा चित्रण गर्न सकिन्छ।

अहंकार युक्त बब्बीको रुप र भावनात्मक लिलीको कथनले समाजमा अझै पनि चेलीबेटी चाँडै रसाउछन्, आफ्नो कुराहरु राख्न सक्दैनन्, मलिन हुन्छन् भन्ने विषयवस्तुलाई टेवा पर्‍याएको छ। तर यो सहानुभूतिलाई फिल्मको अन्तिम समयमा आएर बब्बीले व्यक्त गरेको घृणामार्फत लिलीमा जागृत भएको नारी शक्तिले भने अलि कति चिर्ने प्रयास गरेको छ। छोरीलाई निडर र प्रभावहरुमा ध्वनित बनाउन परिवारको सहयोग अति नै आवश्यक पर्ने कुरालाई भने फिल्ममा त्यति व्यक्त गरिएको छैन।

अन्त्यमा, संसारका भाषाहरु सिमित छन्। प्रेम त्यस्तो एक अव्यक्त भाषा हो जसले आवश्यकता अनुसारसँगै हाँस्ने साथी, लडेको बेला उठ्न सघाउने मार्गदर्शक, हतोत्साहित हुँदा प्रेरणा दिने प्रेरक व्यक्तित्व र विछोड हुँदा पनि प्रेमको नियमलाई मान्ने वीरहरुलाई समेट्छ। हामी भन्न सक्छौं, यही प्रेमको अनुपम भाषा बोल्न सक्दो सफल भएका छन् बब्बी नामक पात्र डियर कमरेड फिल्ममार्फत्। र अर्को पक्ष फिल्मले कलाकारको कलालाई न्याय गर्नुका साथै दर्शकको धैर्यतालाई पुरै समय भरी कायम राख्नसमेत सफल भएको छ। त्यसैले त आकर्षणको केन्द्रबिन्दुमा छ डियर कमरेड।