काठमाडौं, १९ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अबदेखि पार्टीका बैठक तथा कार्यक्रममा दुई अध्यक्षको फोटो नराख्ने भएको छ। केन्द्रीय कमिटी बैठक स्थल राष्ट्रिय सभा गृहमा राखिएको व्यानरको दायाँवायाँ दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर राखिएको भन्दै नेताहरुले प्रश्न उठाएका थिए।
यसअघि कम्युनिष्ट पार्टीका बैठकमा माक्र्स, लेनिनको तस्वीर राख्ने गरिएकोमा यस बैठकमा भने नराखिएको भन्दै आलोचना भएको थियो भने समूहगत छलफलमा समेत नेताहरुले यसबारे प्रश्न उठाएका थिए। जसको जवाफ आइतबार प्रचण्डले दिएका छन्। उनले अबदेखि पार्टीका बैठकमा दुई अध्यक्षको तस्वीर नराख्ने बताएका हुन्।
उनले पार्टी एकताका बाँकी काम १५ दिनभित्र टुंगो लगाइसक्ने समेत जवाफका क्रममा बताएका छन्। अब हुने मनोनयन र कमिटी गठनहरुमा महिलालाई प्राथमिकता दिने र सबै कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गराइने उनले जवाफि सम्बोधनमा बताए। प्रचण्डले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएको इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको भन्ने शब्द हटाइने बताएका थिए ।