स्ववियूद्वारा पोखरा विश्वविद्यालयमा विद्यार्थी मेला 

pu pkr
लोकपाटी न्यूज

पोखरा, १९ माघ। पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथको स्वतन्त्र विद्यार्थी यूनियनले विद्यार्थी मेला २०२० आयोजना गर्ने भएको छ। माघको २३ गते औपचारिक उद्घाटनको तयारी भएको मेलाको समापन माघ २५ गते हुने मेलाका संयोजक तथा स्ववियू सहसचिव होमेन्द्र यादवले जानकारी दिए।

मेलाको उद्घाटनको मिति अगाडि नै केही कार्यक्रमहरु भने सुरु भइसकेको यादवले बताए। कुल ४१ वटा विभिन्न कार्यक्रमहरु मध्ये केही तालिमहरु र फोटो प्रतिस्पर्धा सुरु भइसकेको उनले बताए। मेलामा रोवर्ट प्रतियोगिता, प्यानल बहस, सफलताको कथा प्रस्तुती, म्याराथोन दौड, विभिन्न विषयगत प्रतियोगिताहरु, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी, स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन्।

त्यसै गरी मेलामा कविता प्रतियोगिता, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, वादविवाद प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायतका विभिन्न प्रतियोगितासमेत हुने आयोजकहरुले बताएका छन्। कार्यक्रममा अटोक्याड तालिम, शेयर तालिम, बैंकिङ्ग तथा विमा तालिम, कविता कार्यशाला लगायतका तालिमहरु समेत हुनेछन्।

कार्यक्रमका विभिन्न सत्रहरुलाई सम्बोधन गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन, रुपाकोट रिसोर्टका अध्यक्ष पुष्प अधिकारी, प्राज्ञ रमेश श्रेष्ठ, रेण्डम रिडर्स सोसाइटीका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, विण्ड पावर नेपालका सिइओ कुशल गुरुङ्ग, राष्ट्रिय युवा परिषदका दीलिप न्यौपाने, पोखरा विश्वविद्यालय साहित्य समाजका संस्थापक अध्यक्ष सुवास मल्ल लगायतको उपस्थिती रहने स्ववियू सभापति सुनिल तिमिल्सिनाले जानकारी दिए।

कार्यक्रममा विश्वविद्यालयका चार वटै आंगिक कलेजहरुका अलावा ति कलेजहरुमा कार्यरत विभिन्न २१ वटा संस्थाहरुले पनि साथ दिएको सभापति तिमिल्सिनाले जानकारी दिए। मेलामा ३५ लाखको खर्च हुने र विभिन्न विश्वविद्यालय अन्तर्गतका विभिन्न कलेजहरुका २० हजार भन्दा बढिले सहभागीता जनाउने कोषाध्यक्ष प्रकृति दवाडीले बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्