काठमाडौं, १९ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय सदस्यले जितेको र आफूहरूले हारेको बताएका छन्। केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरूले उठाएका एजेण्डामै रहेर निर्णयहरू भएको बताए।
मञ्चमा दुई अध्यक्षको फोटो राखिएको विषयमा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्न इंगित गर्दै प्रचण्डले सदस्यहरूले जितेको र आफूहरूले हारेको बताएका थिए। बैठक हलमा राखिएका दुई नेताका तस्वीरले राजसंस्थाको झल्को दिएको भन्दै केन्द्रीय सदस्य राजेन्द्र राई, जगन्नाथ खतिवडा, लेखनाथ न्यौपाने लगायतले विरोध गरेका थिए।
त्यस्तै केन्द्रीय समितिमा सदस्यहरूले उठाएका विषयमा छलफल हुँदैन, सदस्यले बोलेका कुरा गम्भीरतापूर्वक लिइँदैन भन्ने आशंका पनि निवारण भएको प्रचण्डले दाबी गरे। बैठकले सर्वसम्मतिले निर्णय गरेको छ। तपाईंहरूको कुरा सुनुवाइ भएको छ। त्यस अर्थमा तपाईंहरूले जित्नुभएको छ।’ अधिकांश केन्द्रीय सदस्यले दलाल (पुँजीपतिको घेरामा नेतृत्व परेको छ भनेको सुन्दा छाती चसक्क भएको समेत उनले बताए। कतिपय कुरा त तपाईंहरूले यति धेरै नभनेको भए हुन्थ्यो जस्तो पनि लाग्यो।
हामी दलाल-पुँजीपतिका घेरामा परेको आरोप सुन्दा यो सबै छोडेरै हिडौं जस्तो पनि लाग्यो, किनकि हिजो पनि छाडेकै हो,’ प्रचण्डका भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘फेरि हामीले छाडेर अलपत्र पारेर पनि भएन। हामीले बीचमा छाडेर हिँड्ने होइन भन्ने पनि लागेको छ।’ पछिल्ला दिनमा तीव्र आलोचना भएको यती होल्डिङ्सको विषयमा रक्षामन्त्री इश्वर पोखरेलसँग कुरा भएको भन्दै प्रचण्डले यसबारे रक्षामन्त्रीले श्वेतपत्र जारी गर्ने तयारी गरेको जानकारी दिए।
राजनीतिक प्रतिवेदनमा प्रचण्डले अमेरिकाले चीनलाई घेर्ने रणनीतिका साथ इण्डो प्यासिफिक रणनीति ल्याएको उल्लेख गरेका थिए। राजनीतिक प्रतिवेदनबाट यो वाक्यांश हटाएको समेत उनले जानकारी दिए। धेरै केन्द्रीय सदस्यले यो विषय हटाउन माग गरेका थिए।
राज्यका संयन्त्रका कारण काम गर्न चाहँदा पनि कतिपय काम गर्न सकिने अवस्था नरहेको प्रचण्डको भनाइ छ। मन्त्रीकै कुरा सुन्दा दया लागेर आउने भन्दै प्रचण्डले मन्त्रालय र त्यसका काम मन्त्रीको हातमा मात्रै नरहेको समेत बताए। पार्टी्भित्र विचारको गुटभन्दा पनि स्वार्थ केन्द्रित गुट रहेकाले यसलाई भत्काउन पर्ने प्रचण्डले बताएका थिए।
प्रचण्डले निर्वाचन प्रणालीका विषयमा पनि आफ्ना धारणा राखेका थिए। उनले पार्टी्भित्र र बाहिरको पनि निर्वाचन प्रणालीमा सुधार जरूरी रहेको बताएका थिए। प्रचण्डले सरकारले गरेका काममा सन्तुष्ट हुने अवस्था नरहेको पनि संकेत गरेका थिए।
श्रमजीवि वर्गको मन जित्ने गरफ काम गर्न नसकेमा पार्टी बडारिने चेतावनी दिँदै उनले घुमाउरो गरी सरकारको आलोचना गरेका थिए। पार्टीलाई ’लेभी’का रूपमा पूर्व एमाले सांसदहरूले मासिक १३ हजार र पूर्व माओवादी सांसदले १२ हजार रुपैयाँ बुझाउँदै आएकोमा अब सबैका लागि १२ हजार रुपैयाँ कायम गरिएको प्रचण्डले बताए।