अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई ?

prem kumar rai
लाेकपाटी न्यूज

काठमाडौं, २० माघ। गृह सचिव प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त बनाउने स्रोतले जनाएको छ। हालको प्रमुख आयुक्त नवीन घिमिरेको अवकासपछि उनको ठाउँमा राई लाने उच्च स्रोतको दाबी छ। अख्तियार प्रमुख घिमिरेको म्याद छिट्टै सकिँदै छ।

राईले भर्खरै मात्रै यही माघ २० गतेबाट लागू हुने गरी मुख्यसचिव लोकदर्शन रेग्मी समक्ष नेपाल सरकारको सचिव पदबाट राजीनामा दिइसकेका छन्। स्रोतअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै गृह सचिव राईलाई प्रमुख आयुक्त बनाउने सोचमा रहेका छन्।

राई प्रधानमन्त्री ओली र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङका विश्वास पात्र हुन्। प्रधानमन्त्री ओलीले राईलाई मुख्य सचिव बनाउने तयारी गरेका थिए। तर, यही माघ २२ गतेबाट नियमित अवकाशमा जाने भएपछि उनी मुख्य सचिव नहुने पक्का भएको हो।

यसअघि पनि अख्तियारको प्रमुख आयुक्तमा राईलाई लागे चर्चा चलेको थियो। तर कामु प्रमुख आयुक्त नवीन घिमिरेलाई प्रमुख आयुक्त बनाइएको थियो। लामो समय गृह मन्त्रालयमा रहेका सचिव राई कम विवादित सचिवका रुपमा परिचित छन्। २०४९ साल अगाडि निजामती सेवामा प्रवेश गरेका राई ‘राष्ट्र सेवक’ पगरीको मान जोगाउने अब्बल कर्मचारी हुन्।

राईबारे आजसम्म कुनै पनि राजनीतिक वा प्रशासनिक नेतृत्वले औंला उठाएको छैन। उनीहरूले जोसँग काम गरे, तिनले राईको प्रशंसा गरेको पाइन्छ । पूर्वी पहाडी जिल्ला संखुवासभाबाट आएका राई चुपचाप काम गर्ने, प्रचार नखोज्ने र मिडियाबाट भरसक टाढै बस्ने हुन्।

राईको पहलमा भएको छानबिनले नै बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कसरी भूमाफियाहरूले आफ्नो नाममा पारे भन्ने उजागर गरेका थियो। सरकारी जग्गा अपचलनको यो छानबिन प्रक्रिया गृहसचिव राईले सुरू गरेका थिए। बालुवाटारको सरकारी जग्गा मालपोत कर्मचारीहरूसँग मिलेर भूमाफियाले अपचलन गरेका उजुरी गृह मन्त्रालयमा केही वर्षदेखि नै थिए।