एजेन्सी। अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार छान्ने औपचारिक प्रक्रिया सोमबारदेखि सुरु हुँदैछ। डेमोर्क्याटिक तथा रिपब्लिकन पार्टीका समर्थकले आफ्नो तर्फबाट उम्मेदवार छान्नका लागि सोमबारदेखि क्रमिक रुपमा मतदान गर्दै छन्।
रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै आउँदो चुनावमा पनि उम्मेदवार बन्ने पक्का गरेकाले यो प्रक्रिया औपचारिकता मात्रै हुनेछ।
तर डेमोक्र्याटिक पार्टीमा भने ट्रम्पसँग प्रतिस्पर्धा गर्नका लागि उम्मेदवार बन्ने होडमा अझै पनि ११ जना आकांक्षी रहेका छन्। सोमबार आयोवा ककस अर्थात उम्मेदवार छान्नका लागि मतदान हुँदैछ। मतदाताले उम्मेदवारीको होडमा रहेका मध्येबाट आफूलाई उपयुक्त लागेकालाई मत दिँदै छन्।
आयोवामा हुने ककसमा जित निकाल्दैमा उम्मेदवारी प्राप्त गर्ने निश्चित हुँदैन। तर आयाेवाको जितले आकांक्षीको अभियानलाई सकारात्मक उर्जा भने प्रदान गर्छ। पछिल्ला केही हप्ता डेमोक्र्याटिक पार्टीका आकांक्षीले मध्यपश्चिमी राज्य आयोवालाई केन्द्रमा राखेर चुनावी अभियान सञ्चालन गरेका थिए।
उम्मेदवार चयनका लागि हुने प्राइमरी मतदान आउँदो जुनसम्म जारी रहन्छ। जहिले पनि यो मतदान आयोवाबाट सुरु हुने गरेको छ। आउँदो मंगलबार न्यू ह्याम्पसरमा मतदान हुनेछ। पछिल्ला सर्वेक्षणहरुमा आयोवामा डेमोक्र्याटिक पार्टीमा बर्नी सान्डर्स अघि रहेको देखिएको छ।
सन् २०१६ को चुनावमा हिलारी क्लिन्टनसँग पराजित भएर उम्मेदवारी नपाउका बर्नी यसपटक बलियो देखिएका छन् र उनले पूर्व उपराष्ट्रपति जो बाइडेनलाई कडा चुनौति दिइरहेका छन्। आयोवामा जो बाइडेनको पल्ला पनि भारी देखिएको छ। यस्तै एलिजाबेथ वारेन, एमी क्लोबुसर र पिट् बुटजज पनि बलियो प्रतिस्पर्धीका रुपमा देखिएका छन्।