‘सामाजिक सञ्जालमा विज्ञापन गर्दैमा मुद्दा लाग्दैन’

Nepal-Rastra-Bank
लोकपाटी न्यूज

काठमाडौं, २० माघ। सामाजिक सञ्जालमा विज्ञापन गर्न नरोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। केही दिनअघि सार्वजनिक गरिएको सूचनाका आधारमा अब सामाजिक सञ्जालमा विज्ञापन नै गर्न नपाइने भएको भनेर भ्रम परेको भन्दै नियमन गर्न मात्रै खोजिएको जनाएको छ।

अहिले विज्ञापन गर्ने गरिएको तर त्यसबापतको भुक्तानी दिँदा वैधानिक च्यानल प्रयोग नभएको गुनासाहरू आएकाले त्यसतर्फ सचेत रहन आग्रह गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक वमबहादुर मिश्रले बताए। विदेशी मुद्राको कारोबार गरी गैरकानूनी हिसाबले भुक्तानी भने दिन नपाइने मिश्रले बताए। भुक्तानी दिँदा वा लिँदा वैधानिक च्यानल प्रयोग गर्नुपर्ने भन्दै उनले विदेशी मुद्राको कारोबार भए अनिवार्य रूपमा राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्ने उनले बताए।

सामाजिक सञ्जालमा भइरहेको विज्ञापनलाई नियमन गर्न राष्ट्र बैंकले आवश्यक गृहकार्यसमेत गरिरहेको मिश्रले बताए। नियमनका लागि कार्यविधिको तयारीमा राष्ट्र बैंक जुटेको उनले बताए। यसका लागि सरोकारवालाहरुसँग छलफलसमेत सुरु गरिएको कार्यकारी निर्देशक मिश्रले जानकारी दिए।

उनका अनुसार सोमबारमात्रै नेपाल विज्ञापन संघका पदाधिकारीहरुसँग राष्ट्र बैंकले छलफल गर्नेछ। सामाजिक सञ्जालमा हुने विज्ञापनको अवैधानिक च्यानलबाट भुक्तानी हुने गरेको मात्रै राष्ट्र बैंकले कडाइ गर्ने आइतबार सूचना जारी गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्