काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सांसदको लेबीमा एकरुपता कायम गरेको छ। नेकपाको केन्द्रीय समिति बैठकमा केन्द्रका मन्त्री, सांसद एवं प्रदेशमा मन्त्री र सांसदहरुको लेबीबारे प्रश्न उठेको थियो। यस विषयमा आइतबार नेकपा सचिवालयमा छलफल भएको थियो।
सचिवालयको छलफलमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुको लेबी १२ हजार कायम गरेर एकरुप बनाउन प्रस्ताव गरेका थिए। सोही प्रस्ताव अनुसार सर्वसम्मतिमा लेबी मासिक १२ हजार रुपैयाँ कायम भएको जानकारी केन्द्रीय समितिलाई गराइएको छ।
नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘अब पूर्वएमालेका सांसदहरुको लेबी पनि मासिक रुपमा १२ हजार नै कायम भएको छ।’ यसअघि नेकपाका संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले पार्टीलाई दुईथरी लेबी तिर्दै आएका थिए। पूर्वएमाले तर्फका सांसदले मासिक १३ हजार रुपैयाँ र पूर्वमाओवादी तर्फका सांसदले मासिक १२ हजार रुपैयाँ पार्टीलाई लेबी तिर्दै आएका थिए।
नेकपा केन्द्रीय समिति बैठकपछि उक्त लेबीमा एकरुपता कायम गरिएको हो। त्यसैगरी नेकपाले लिँदै आएको पार्टी सदस्यहरुले तिर्दै आएको मासिक लेबी पनि घट्ने भएको छ। हाल नेकपाका सदस्यले मासिक ५० रुपैयाँ सदस्यता शुल्क तिर्दै आएका छन्।
केन्द्रीय कमिटीको बैठकमा सदस्यता शुल्क घटाउनुपर्ने र महिलालाई निशुल्क गराउनुपर्ने माग उठेपछि यसबारेमा पनि आइतबारको सचिलावय बैठकमा छलफल भएको स्रोतले बतायो। केही नेताहरुले सदस्यहरुको लेबी मासिक २५ रुपैयाँमात्रै राख्न प्रस्ताव गरे पनि यसबारे अर्को बैटकमा निर्णय लिइने तर सदस्यता शुल्क घट्ने जवाफ आएको केन्द्रीय सदस्यले बताए।
नेकपाका केन्द्रीय नेताहरुको सम्पत्ति छानविन हुनुपर्छ भन्ने केन्द्रीय सदस्यहरुको मागका सम्बन्धमा पनि सचिवलायका नेताहरुले हललाई जवाफ दिएका छन्। विधान अनुशार पार्टीको अनुशासन आयोगलाई नेतहरुको सम्पत्ति विवरण लिने र अनियमितता भएको आशंका हुनेमाथि छानविन गर्न अधिकार दिइएकोबारे नेकपा बैठकलाई जानकारी गराइएको छ।
त्यसैगरी नेकपाको बैठकमा यती होल्डिङका सम्बन्धमा श्वेतपत्र जारी गरिनुपर्ने माग उठेको सम्बन्धमा नेपाल ट्रष्टको जग्गासम्बन्धी विषय रक्षामन्त्री ईश्वर पोखरेलले हेरिरहेको हुनाले पोखरेलेल नै यसबारे श्वेतपत्र जारी गर्ने बताइएको छ। साथै, मन्त्री सांसद र कुनै राजनीतिक नियुक्तिहरुमा नरहेका होलटाइमर केन्द्रीय नेताहरुलाई मासिक पारिश्रमिकको व्यवस्था समेत नेकपा सचिवालयको आगामी बैठकले गर्ने निर्णय आश्वासन प्राप्त भएको केन्द्रीय नेताले सुनाए।