काठमाडौं, २० माघ। कृषि सचिव डा. युवकध्वज जिसीले राजीनामा दिएका छन्। संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठन (एफएओ) मा जागिर खान कृषि सचिव डा. युवकध्वज जिसीले राजीनामा दिएका हुन्। मन्त्रिपरिषद्मा पेश भएको उनको राजीनामा स्वीकृत भने भएको छैन ।
सचिव जिसीले राजीनामा स्वीकृत भइनसकेको बताए। कृषि सचिवको रुपमा जिसीले मन्त्रालय सम्हालेको गत हप्ता तीन वर्ष पूरा भएको छ। ०७३ माघ ६ को मन्त्रिपरिषद निर्णयबाट उनी सचिवमा बढुवा भएका थिए । सचिवको रुपमा जिसीको सेवाअवधि सकिन अझै दुई वर्ष बाँकी छ ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य एवं कृषि संगठन (एफएओ) को क्षेत्रिय प्रमूखको रुपमा केही समयअघि जिसीले नाम निकालेका थिए। एफएओको क्षेत्रिय कार्यालय थाइल्याण्डको बैंककमा छ। फागुन पहिलो सातादेखि एफएओको जिम्मेवारी सम्हाल्ने तयारीमा जिसी रहेको स्रोतले जनाएको छ।
संयुक्त राष्ट्रसंघको आकर्षक जागिर सुरु हुने भएपछि उनले सरकारी सुविधा त्याग्ने गरी कृषि सचिव पदबाट राजीनामा बुझाएको मन्त्रालय स्रोतले जनाएको छ। सरकारी सेवामा १८ वर्ष बिताएका जिसीको राजीनामा स्वीकृत भए उनले पेन्सन सुविधा पाउने छैनन्।