काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र विधेयकसँग सम्बन्धी प्रतिवेदनहरु पेस हुने कार्यसूचि छ।
संघीय संसद्का निमित्त महासचिव गोपालनाथ योगीका अनुसार महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचि छ।
यसैगरि शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची पनि छ। आजैको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले चार वटा विधेयक पेस गर्ने तयारी पनि छ।
संसद सचिवालयका अनुसार सार्वजनिक ऋण व्यवस्थापन विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक, नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयक अर्थमन्त्री खतिवडाले पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।