काठमाडौं, २१ माघ । कोरोना भाइरसका बिरामी निको पार्ने औषधि थाइल्याण्डका चिकित्सकले पत्ता लगाएका छन्। थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार चीनबाट आएकी एक जना कोरोना संक्रमित महिलाको एन्टिभाइरल औषधिको संयोजनबाट सफल उपचार गरिएको हो।
राजाभिथी अस्पतालका डाक्टर क्रियांग्स एटिपार्नविचले चीनकी ७१ वर्षीया कोरोना संक्रमित महिलालाई एन्टिभाइरल औषधिको संयोजन गरेर निको पारेको बताएका छन्। उनलाई एचआइभी र फ्लूको उपचार गर्न प्रयोग गरिने औषधि दिइएको थियो। चिकित्सकका अनुसार ती महिलालाई सुरुमा एन्टि एचआइभी औषधि लगाइएको थियो। पछि दुवै औषधिको संयोजन गरेर ती महिलाको उपचार गरिएको हो।
‘उपचारका लागि आउँदा उनी गम्भीर अवस्थामा थिइन, तर नतिजा सन्तोषजनक रह्यो। बिरामीको अवस्था ४८ घण्टामै निकै सुधार आयो र परीक्षण गर्दा उनको शरीरमा कोरोनाको संक्रमण नराकात्मक देखियो, ’ डा. एटिपार्नविचलले भने।
अहिले बिरामीमा श्वासप्रश्वाससम्बन्धी कुनै समस्या नदेखिएको अस्पतालले जनाएको छ। अमेरिकी स्वास्थ्य संस्था नेसनल इन्स्टिच्युट एलर्जी एण्ड इन्फेक्सियस डिजिजका निर्देशक डा. एन्थोनी फोसीले कोरोना भाइरसको उपचारका लागि अहिलेसम्म प्रभावकारी औषधि नभएको केही समयअगाडि बताएका थिए।
सिएनएन डट कमले जनाएअनुसार बेइजिङका अस्पतालहरुले एचआइभी संक्रमितलाई दिने औषधिको प्रयोग गरेर कोरोना संक्रमितको उपचार सफल भएपनि यो अस्पष्ट रहेको बताएका छन्।