कोरोना नियन्‍त्रणका लागि उच्च सतर्कता अपनाएका छौंः स्वास्थ्य मन्‍त्री

Bhanubhakta Dhakal
लोकपाटी न्यूज

काठमाडौं। सरकारले चीनको वुहानमा रहेका आफ्ना नागरिकहरुलाई नेपाल ल्याउने तयारी पूरा भएको बताएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मंगलबार संसदलाई यसबारे जानकारी गराएका हुन्।

उनले चीनबाट ल्याइने नेपालीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न मन्त्रिपरिषद बैठकले आवश्यक आदेश जारी गरेको जानकारी दिए। उनले भने, ‘संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अनुसार सरकारले आदेश जारी गरेर यो ढंगले राख्न सक्ने भन्ने कानूनी प्रावधान अन्तर्गत हिजो मन्त्रिपरिषद बैठकबाट आदेश जारी गरेका छौं।’

तर उनीहरुलाई कहिले नेपाल ल्याइन्छ भन्ने टुंगो छैन। चीनबाट उद्दार गरिनेहरुबाट अरुमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सचेतता अपनाएको भन्दै स्वाथ्यमन्त्री ढकालले भने, ‘जुन जुन देशले (चीनबाट) लानुभयो। त्यहाँ पनि छिटपुट प्रतिक्रिया आएका छन्। त्यसलाई समेत मध्यनजर गरी जोखिम नहुने सुनिश्चितता गरेर मात्र ल्याउनेछौं।’

नेपालमा एकजनामा कोरोना भाइरसको संक्रमण देखिए पनि अहिले निको भइसकेको उनले बताए। कोरोना भाइरसको संक्रमणको आशंकामा १३ जनामा परीक्षण भएको तर कसैमा पनि संक्रमण नभेटिएको उनले प्रष्ट पारे।

‘रोगबाट बच्न आन्तरिक रुपमा धेरै तयारी गरेका छौं। सावधानी अपनाउनु पर्ने देखिन्छ। अस्पताल नै जानुपर्ने अवस्था नरहन सक्छ। संक्रमण भएको दुईदेखि १४ दिनसम्म अर्कोमा सर्न सक्छ। प्रधानमन्त्रीसँग छलफल गरेका छौं। सरकारका तर्फबाट पूर्ण रुपमा योजना बनाएका छौं’, मन्त्री ढकालले भने।

उनले चीनबाट उद्दार गरेर ल्याइने नेपालीलाई राख्ने ठाउँको प्रबन्ध गरेको बताए। ‘संक्रमण देखिएको अवस्थामा उपचार गरिन्छ। तीनवटा अस्पतालमा ४३ वटा बेड तयारी अवस्थामा राखेका छौं। अरु अस्पतालमा पनि तयारी भएको छ। पोखरा चितवन र हेटौडामा परीक्षण हुने अवस्थामा राखेका छौं। रसुवा र तातोपानी नाकालाई संभावित जोखिमका रुपमा राखेका छौं। संक्रमणकालीन रोगको उपचार गर्न तीन सय क्षमताको बेड भएको अस्पताल बनाउने सरकारको तयारी छ’, उनले भने ।

नोवेल कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपालमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको काम सरकारले गरिरहेको समेत उनले बताए। विश्व नेपालले अपनाएको सावधानीमा विश्व स्वास्थ्य संगठनले पनि सन्तोष व्यक्त गरेको उनको दाबी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्