भोजपुर, २२ माघ। षडानन्द नगरपालिकाका मेयरले शिक्षकको तलब रोकेका छन्। निमावि तहको शिक्षक पदस्थापन प्रक्रियामा असन्तुष्टि जनाउँदै मृयरले तलब रोकेका हुन्।
नगरको निर्णय विपरीत शिक्षक पदस्थापन गरेको भन्दै नगरप्रमूख वीरबल राईले स्थानीय षडानन्द माविका प्रअ र शिक्षकको तलब रोकेका हुन्। योग्यताक्रम अनुसार कात्तिक ८ गते धर्मराज चौहानलाई नीतिपूर्वक पदस्थापन गरिए पनि नगर शिक्षक समितिको निर्णय विपरीत भएको भन्दै मेयर नगरप्रमूखले प्रअ गोपाल तिमल्सिना र शिक्षक गंगाबहादुर बुढाको तलब राकेका हुन्।
नगरप्रमूखले नै विद्यालयलाई शिक्षक छान्ने अधिकारबाट वञ्चित गराएको पीडित शिक्षकको आरोप छ। शिक्षक सेवा आयोगले लिएको परीक्षामा उत्तिर्ण ६२ जना शिक्षकमध्ये षडानन्द नगरपालिकामा १६ जना शिक्षक पदस्थापन गरिएको थियो। पदस्थापनको लिस्ट लिएर १६ जना शिक्षकले प्रमूख वीरबल राईलाई भेट्न गए पनि उनको अनुपस्थितिमा उपप्रुमख मेरिका राईलाई लिस्ट बुझाएका थिए।
उपप्रमूख राईको निर्देशनमा निमित्त प्रशासकिय अधिकृत तुलबहादुर राईले पदस्थापन पत्रमा हस्ताक्षर गरेपछि सबैले पदस्थापन पाएका थिए। छनोट भएर आएकामध्ये योग्यताक्रमअनुसार धर्मराज चौहान षडानन्द माविमा हाजिरी भए। केहि समयपछि षडानन्द माविमा पदस्थापन गरिएका धर्मराज चौहानलाई हाजिर नगराउन र यदि गराए जवाफदेही नहुने भन्दै प्रमुख राईले आफुखुसी विद्यालयलाई पत्राचार गरे। दसैंतिहार बिदा सकिएपछि शिक्षक चौहान षडानन्द माविमै हाजिर भए पनि निर्णय विपरीत भन्दै उनको तलबसमेत प्रमुख राईले रोकेको विद्यालयका प्रअ तिमल्सिनाले बताए।
त्यस्तै अर्का शिक्षक हरिप्रसाद पाण्डेले पनि मेरिटलिस्टअनुसार नै अरुण माविमा जान चाहे पनि नपाएको गुनासो गरे। पदस्थापन गरिएको करिव ३ सातासम्म नगरपालिका र विद्यालय धाउँदा विद्यालयको टुंगो नलागेको पाण्डे बताउँछन्। भने, ‘न नगरपालिकाले विद्यालयको टुंगो लगायो, न हाजिरी नै हुन दिइएको छ। आफ्नो कर्मको भाग पनि लिन नपाउने खै कस्तो नीति हो ? ’
नगरपालिकाले गत कार्तिक ८ गते पदस्थापन पत्रमा शिक्षा विकास तथा समन्वय एकाई भोजपुरको पत्रअनुसार षडानन्द माविमा कात्तिक ८ बाटै लागू हुनेगरि माध्यमिक तहको अंग्रेजी विषयको शिक्षक पदस्थापना गर्न परिपत्र गरेको थियो। कार्यकारीको आधिकारिक दस्तखतबाट चौहान षडानन्द माविमा हाजिर भए।
तर नगरप्रमूखले उनको हाजिरीलाई नगरको निर्णय विपरीत भन्दै प्रअ र अर्का शिक्षकको तलब नै रोकेका हुन्। यता नगरप्रमूख राई भने शिक्षक पदस्थापन विपरीतको मिति कायम नगरी माग फारम आएको र चौहानको हाजिरी गराइएको जानकारी पनि नगराएकाले तलब दिन नमिल्ने बताउँछन्। ‘नगरको निर्णय बमोजिम पदस्थापन गराइएको विद्यालयमा नखटेकोले तलब रोकिएको हो।’