एमसीएले जारी गर्‍यो विद्युत प्रसारण लाइनका लागि जग्गा अधिग्रहणको सूचना

लोकपाटी न्यूज

काठमाडौं, २२ माघ । एमसीए नेपालले विद्युत प्रसारण लाइनका लागि जग्गा अधिग्रहणको सूचना प्रकाशन गरेको छ। नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए नेपाल) ले निर्माणाधिन विद्युत प्रसारण लाइनका लागि जग्गा अधिग्रहणको सूचना प्रकाशन गरेको हो।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले साविकको रातमाटे गाविस वडा नम्बर ६ र ९ तथा हालको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा विभिन्न व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन गरेको हो। ४०० केभीको सबस्टेशन निर्माणको लागि जग्गा र यसमा रहेका संरचनाहरु स्थायी रुपमा प्राप्त गर्न पर्ने भएकोले जग्गा प्राप्ति ऐन, २०३४ को दफ ९ बमोजिम सूचना प्रकाशन गरिएको जनाइएको छ।

१ सय ९४ जनाको नाममा रहेको जग्गा अधिग्रहण हुन् लागेको सूचनामा जनाइएको छ। सम्बन्धित जग्गाधनीहरुले आफै वा अख्तियार प्राप्त वारेसमार्फत् मुआब्जा बुझ्नका लागि आ–आफ्नो हकदैया वा भोगचलन सम्बन्धी निस्सा तथा प्रमाणसहित उपस्थित हुन् सूचनामा आग्रह गरिएको छ।

अमेरिका र नेपालबीच भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुसार परियोजना सुरु हुनु अगावै सरकारले जग्गा अधिग्रहणको काम पूरा गरिसक्नुपर्ने उल्लेख रहेको छ। एमसीसीको पूर्ण कार्यान्वयनकालाई लागि सम्झौतालाई संसदबाट पास गर्नुपर्ने प्रावधान सम्झौतामा रहेको छ। संसदबाट पास भएपछि भने एमसीसी पूर्ण रुपमा कार्यान्वयनमा आउनेछ।

पाँच वर्षभित्र यो परियोजना सकिनेछ। तर, संसदबाट पास गर्ने विषयमा सत्तारुढ दल नेकपामा विवाद देखिएको छ। केही दिन अघि सकिएको नेकपाको केन्द्रीय कमिटी बैठकले एमसीसीमा देखिएको समस्या समाधानका लागि समिति नै गठन गरेको छ। तर, प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भने एमसीसी चाँडै संसदबाट पास हुने बताउदै आएका छन् भने चालू संसदको अधिवेशनबाट एमसीसी पास गर्नुपर्ने प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताउँदै आएको छ।

mca_nuwakot