नेपाल काेराेना भाइरस नियन्त्रण गर्न सक्षम छ : प्रचण्ड

Prachanda Photo
लोकपाटी न्यूज

काठमाडौं, २२ माघ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कोरोनाभाइरस संक्रमित प्रमाणित रूपमा अहिलेसम्म कोही पनि नरहेको बताएका छन्। बुधबार पोखरामा विश्व शान्ति समारोह उद्घाटन गर्दै प्रचण्डले चीनमा देखिएको कोरोनाभाइरसले नेपालमा थोरै ठेस लागेको बताए।

प्रचण्डले भने, ‘हामी नेपाल भ्रमण वर्षमा छौं। चीनमा देखिएको कोरोनाभाइरसले थोरै ठेस लागेको छ। तर यो छिट्टै नियन्त्रण हुन्छ।’ चीनबाट फैलिएको कोरोनाभाइरसले नेपाल भ्रमण वर्ष २०२० लाई थोरै असर पुर्‍याएको छ।

‘नेपालमा प्रमाणित रूपमा कोही पनि कोरोनाभाइरस संक्रमित छैनन्, त्रसित हुनुपर्ने स्थिति छैन।’ प्रचण्डले कोरोनाभाइरस संक्रमण फैलिएपछि चिनियाँ पर्यटक नेपाल नआएको बताए।

पोखरालगायत नेपालका पर्यटकीय ठाउँमा पर्यटक आवागमन घटेका विवरण आइरहेका छन् उनले भने, ‘ तर महामारी सबै मिलेर नियन्त्रण गर्नुपर्छ। ‘चीनले झण्डैझण्डै चमत्कारजस्तै गरेर अस्पताल बनाउने र भ्याक्सिन बनाउने काम गरिरहेको छ,’ उनले भने।